s

चेली रोक्न राजमार्गमा छड्के जाँच

राजेन्द्र नाथ

दलालहरूको प्रलोभनमा परेर भारततर्फ बेचिने नेपाली चेलीलाई रोक्न नेपाल-भारत सीमा नाकाहरूमा जाँच गरेजस्तै कम्लरी बालबालिकालाई निकृष्ट बालश्रमबाट जोगाउन स्वदेशकै पूर्वपश्चिम राजमार्ग तथा एअरपोर्टहरूमा पनि अहिले छड्के जाँच तथा निगरानी राख्न थालिएको छ ।

दलालले विभिन्न प्रलोभन तथा ललाइफकाइ नेपाली चेलीबेटीलाई सीमा कटाएजस्तै जमिन्दार, मालिक तथा कर्मचारीले माघीका बेला त्यस्तै तरिकाले फकाएर निकृष्ट श्रममा लगाउने गरेकाले आवतजावत हुने क्षेत्रमा छड्के गरेको हो । कानुनी रूपमा खारेज भए पनि थारू समुदायका नाबालिकालाई अहिले पनि न्यून पारिश्रमिकमा घरमा लगेर कम्लरी -घरेलु कामदार) का रूपमा काम गराउने प्रचलन कायमै छ ।
 
त्यसैले व्यवहारमा त्यो प्रथा छिटपुट कायमै रहेका पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलालीलगायत राजमार्ग, एअरपोर्ट र बजार क्षेत्रमा स्थानीय समुदाय तथा पूर्वकम्लरीका क्षेत्रमा कार्यरत संघसंस्था र अधिकारकर्मीले यस्तो अभियान छेडेका हुन् । पूर्वकम्लरीको टोलीले अघिल्लो साता पूर्वपश्चिम राजमार्गको चिसापानीमा गुडिरहेको बसमा अचानक छड्के जाँच गर्दा माघी भ्याएर मालिकको घर गइरहेकी युवतीलाई फेला पार्न सफल भएको थियो । ठाकुरद्वारा ९ बर्दियाकी ती १४ वषर्ीया किशोरी विगत ७ महिनादेखि धनगढीका भिनाजु नाता पर्नेका घरमा घरेलु कामदार -कम्लरी) का रूपमा काम गरिरहेको रहस्य खुल्यो । 'भिनाजु पनि चौधरी नै भएकाले सुरुमा अलमलमा पर्यौंा,' टोलीको नेतृत्व गरिरहेका मुक्त कम्लरी विकास मञ्च कैलालीका प्रबन्धक फकला थारूले भने, 'कुरा गर्दै जाँदा बालिकाका बुबाआमाले भने थोरै रकम लिएर छोरीलाई काममा पठाएको थाहा पायांै ।' युवतीलाई भने बुबाआमा र भिनाजुका बीचमा भएको लेनदेनबारे पत्तो थिएन । 
 
पश्चिम तराईमा किनबेचकै शैलीमा माघीका बेला कम्लरीको मोलमोलाइ हुने गरेको छ । थारू समुदायमा माघीलाई नयाँ वर्षका रूपमा मनाइन्छ । परम्पराकै रूपमा उनीहरू छोराछोरीलाई नयाँ मालिकको घरमा पठाउने वा पुरानैलाई कायम राख्ने भन्ने स्वतन्त्रता पाउँछन् । त्यसैले माघीमा लुकाइछिपाइ हुने कम्लरी ओसारपसारलाई नियन्त्रण गर्न यस्तो अभियान चालिएको प्रबन्धक चौधरीले बताए । 
 
सरकारले ११ वर्षअघि कमैया मुक्तिको घोषणा गरेपछि खुला रूपमा कमैयाको मोलमोलाइ नभए पनि कम्लरी प्रथा भने अझै पनि नरोकिएको त्यस क्षेत्रमा कार्यरतहरूको भनाइ छ । त्यसैले पुस २५ गतेबाट स्थानीय क्लबहरूको संयोजनमा मुक्त कम्लरी विकास मञ्च र असहाय नानीहरूको संस्था -एफएनसी) ले नाकाहरूमा निगरानी बढाएको जनाएको छ । 
 
एफएनसीका क्षेत्रीय संयोजक मानबहादुर क्षेत्रीले माघीका बेला कम्लरीहरूको मोलमोलाइ हुने र माघी सकिएपछि उनीहरू नयाँ मालिकका घरमा जाने भएकाले राजमार्गलगायत सम्भावित क्षेत्रहरूमा निगरानी बढाएको बताए । 'राजमार्गबाट लग्दा जोखिम बढ्ने भएकाले हवाई मार्गबाट समेत लगिएको थाहा पाएपछि नेपालगन्ज र धनगढीको एअरपोर्टमा समेत टोली खटिएको छ,' उनले भने ।
 
यस्तो अभियान सुरु भएको ९ दिनभित्रै शंकास्पद रूपमा लग्न लागिएका १८ थारू बालिकालाई टोलीले नियन्त्रणमा लिएको उनले बताए । कैलालीको चिसापानी, बाँकेको कोहलपुर, दाङको लमही, इमिलिया, भालुवाङ तथा बर्दियाको गुलरिया बसपार्क क्षेत्रलाई विशेष निगरानीमा राखिएको छ । अघिल्ला वर्षहरूमा पनि तिनै क्षेत्रबाट बालबालिका लगिएका थिए ।
 
Published on: 25 January 2012 | Kantipur

Back to list

;