s

चेली फकाउन दलाल गाउँमै

ध्रुव दंगाल

दुई वर्षअघि माया तामाङ नागरिकता बनाउन सदरमुकाम चौतारा पुगिन्। उनको पिछा गर्दै सदरमुकाम पुगेका दलालले आफ्नै खर्चमा राहदानी पनि बनाइदिए। नागरिकता र राहदानी हात पारेर सदरमुकामबाट सोझै काठमाडौं छिरेका दलाल पछि ‘भिसा' देखाउँदै मायाको गाउँ आइपुगे। 

‘भिसा आइपुग्यो भन्दै विदेश जान दबाव दिइरहेको छ,' विदेश जान अस्वीकार गर्दा नागरिकता र राहदानी फिर्ता नपाएको उल्लेख गर्दै उनले भनिन्, ‘२१ हजार खर्च भएको देखाएर नगए पैसा फर्काउन चेतावनी दिइरहेको छ।'

‘भिसा' र हवाइजहाजको टिकट देखाउँदै दलाल गाउँमै चेलीबेटी फकाउन सवि्र्कय छन्। गाउँका झन्डै डेढ सय महिला अहिले विदेशमा छन्। कति दलालको उक्साहटमा लागेर त कति जबर्जस्ती विदेश पुर्या इएका छन्।

‘दलाल भिसा र टिकट देखाउँदै चेली फकाउन आउँछन् र जबर्जस्ती विदेश पठाउँछन्,' स्थानीय शिक्षक निमा लामाले भने, ‘धेरै दिदीबहिनी उक्साहटमै विदेश पुगेका छन्।' गाउँबाट करिब तीन सय विदेशिएको र त्यसमा आधा महिला रहेको उनले बताए।

१५-१६ वर्षका किशोरीदेखि ४० कटेका महिला पनि विदेश पुगेका छन्। ‘फर्केकाहरू केही बताउन मान्दैनन्, राम्रै भयो मात्र भन्छन्,' निमाले भने। विदेश पुगेका अधिकांश महिला दलालमार्फत गएका छन्। त्यसमध्ये १२ जना उतै बेपत्ता भएको उनी बताउँछन्।

दलालकै उक्साहटमा लाग्दा ३५ वर्षीया छेवी तामाङलाई झन्डै बित्यास आइलागेन। हेलम्बुका सोम्बर नाम गरेका व्यक्तिमार्फत् नेपालबाट सिधै ओमान जाने सर्तमा उनले घर छोडिन्। ‘दलालले बसबाट नयाँ दिल्ली पुर्यानएर थुप्रै नेपाली युवती भएको कोठामा छिरायो,' सात वर्षअघि गाडी र रेल चढेर भारत पुगेको घटना सम्झँदै उनले भनिन्, ‘भिसा नआउन्जेल बाहिरै बस्छौं भनेर दलाललाई विश्वास दिलायौं र तीन दिन एउटा होटलमा बसेर भाग्यौं।'

श्रीमान् र दाजु लिएरै दिल्ली गएकी उनी शंका लागेर अरु युवतीहरूसँग नबस्दा बेचिनबाट जोगिएको बताउँछिन्। त्यसपछि उनको दलालसँग भेट भएको छैन। त्यतिबेला दिएको राहदानी र १५ हजार रुपैयाँ पनि उनले फिर्ता पाएकी छैनन्। गाउँका धेरै चेलीलाई त्यसैगरी विदेश लगिएको उनी बताउँछिन्।

‘आफ्नै घटना बताएर दिदीबहिनीलाई नजान अनुरोध गर्छु, तर उनीहरू मान्दैनन्,' छेवीले भनिन्।

तातोपानी नाकासित जोडिएको यो हिमाली गाविसमा तामाङ, शेर्पालगायत जनजाति समुदायको बाहुल्यता छ। वर्षको एकबाली लाग्ने कोदो, मकै र आलु खेतीले तीन महिना खान नपुग्ने भएपछि यसको फाइदा दलालले उठाएका छन्। ‘केही दिदीबहिनी विदेशबाट साह्रै दुब्लाएर फर्केका छन्,' छेवीले भनिन्।

युवायुवती रोजगारीमा निस्केपछि गाउँमा वृद्धवृद्धा र बालबच्चा मात्र छन्। ‘१५-१६ उमेर पुगेपछि छोरा खासाको ड्राइभर बन्छन्, छोरी विदेश लाग्छन्,' स्थानीय सामाजिक कार्यकर्ता राजु विकले भने।

परराष्ट्रबाट एमआरपी वितरण थाल्दा दलालको चलखेल उल्लेख्य घटेको थियो। अहिले जिल्लामै निवेदन संकलन गरेर त्यहींबाटै राहदानी वितरण गर्न थालिएपछि बीचमा चलखेल गर्नेहरू पुनः सल्बलाउन थालेका छन्। स्थानीय प्रशासनबाट यतिबेला दैनिक ४०-५० एमआरपी फारम संकलन हुने गरेकोमा महिला संख्या झन्डै आधा हुने गरेको राहदानी फाँटका कर्मचारी प्रकाश थापाले बताए। उनका अनुसार यसमा अधिकांश किशोरी र लालाबालाका आमासमेत छन्।

Published on: July 2012 | Nagarik

Back to list

;