s

चौतारी : श्रम स्वीकृतिको हदबन्दी

सिर्जना तिवारी

वैदेशिक रोजगार व्यवसायलाई प्रबर्द्घन गर्दै उक्त व्यवसायलाई सुरक्षित, व्यवस्थित एवं मर्यादित बनाउन तथा रोजगारमा जाने कामदार र व्यवसायीको हकहित संरक्षण गर्न नेपाल सरकारले वैदेशिक रोजगार ऐन र नियमावली- २०६४ जारी गरेको छ । रोजगारीमा विशेष गरी दुई प्रक्रियामार्फत जाने प्रचलन बढिरहेको छ । पहिलो, सरकारबाट इजाजत प्राप्त संस्थामार्फत र अर्को व्यक्तिगत प्रयासमा जाने । ऐनको दफा २१ मा कुनै पनि व्यक्ति व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जान सक्ने व्यवस्था छ । विगतमा इजाजत प्राप्त संस्थाले नै ठूलो रकम असुली व्यक्तिगत श्रम स्वीकृति लिई कामदार पठाउने प्रचलन थियो । यसले गर्दा उनीहरू कुनै समस्यामा परे भने एजेन्सी सजिलै उम्किने र व्यक्तिको उद्घारमा कठिनाइ हुने अवस्था थियो । 

व्यक्तिगत स्वीकृतिमा वैदेशिक रोजगारमा जाँदा गन्तव्य मुलुकमा कामदारहरू विभिन्न कठिनाइमा पर्ने गरेका छन् । उनीहरूको उद्घारमा समस्या परेको छ । त्यही भएर व्यक्तिगत तवरमा वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित गर्न निर्देशिका—२०६९ जारी भएको छ । यस निर्देशिकाले सम्बन्धित व्यक्तिको आमा, बाबु, छोरा, छोरी, दाजु, भाइ, दिदी, बहिनी, पति, पत्नीलाई मात्र नाताका रूपमा स्वीकारेको छ । व्यवहारमा यो परिभाषा अलि बढी संकुचित देखिएको छ । खासगरी वैदशिक रोजगारमा २१ वर्षदेखि ४० वर्षकाहरू आएको देखिन्छ । यो उमेर समूहकाहरूको आमा-बाबुलाई ऐनले वैदेशिक रोजगारमा जान अनुमति दिएको छ, तर व्यवहारमा वैदेशिक रोजगारमा गएको व्यक्तिले बाबु, आमालाई रोजगारकै लागि भनेर लगेको पाइँदैन । 

कुवेतको सन्दर्भमा, २१-३५ वर्षसम्मका बढी आएको देखिन्छ । उनीहरूको सन्तान पक्कै पनि काम गर्न योग्य भइसकेका हुँदैनन् । तर पनि यदि धेरै समय परदेशमा बिताएका प्रौढका लागि हो भने उसले आफ्नो परिवारलाई पारिवारिक भिसामा ल्याई छोराछोरीलाई सोहीबमोजिमको शिक्षादीक्षा दिलाई त्यहींको बजारमा बिक्न सक्ने बनाइसकेका हुन्छन् । उच्च दक्ष वा दक्ष कामदारका हकमा भने नाता प्रमाणितबिना पनि वैदेशिक रोजगारमा जान सक्ने स्पष्ट व्यवस्था छ । वास्तवमा वैदेशिक रोजगारमा जाँदा दक्ष वा अर्धदक्ष व्यक्तिको तुलनामा अदक्ष व्यक्तिहरूले सबैभन्दा बढी पैसा तिरेका हुन्छन् । आर्थिक अवस्था ज्यादै नाजुक भएका र स्वदेशमा रोजगार पाउन नसकेकाहरू वैदेशिक रोजगारका लागि कम तलबमा खाडी मुलुक गइरहेका छन् । यस्ता व्यक्तिले आफू काम गर्ने कम्पनीमा धेरै अनुनय-विनय गरी आफन्तको पिभिसा निकालेर दूतावासमा प्रमाणीकरणका लागि पेस गर्दा स्वीकृति पाउन नसक्ने कुरा सुनेपछि रुने-कराउने गर्छन् । एजेन्सीमार्फत वैदेशिक रोजगारमा आउँदा ठूलै रकम बुझाउनुपर्ने हुन्छ, जुन उनीहरूको पहुँचभन्दा बाहिरको कुरा हुन्छ । ऋण नकाढी विदेश जाने कल्पना पनि गर्न सक्दैनन् । तर कम्पनीबाट निकालेको व्यक्तिगत भिसाबाट भने थोरै खर्चमा विदेश जान सक्ने हुन्छन् । कुवेतको हकमा केही राम्रा एवं ठूला कम्पनीले सोही कम्पनीमा काम गर्ने आफ्ना विश्वासिला एवं इमानदार कामदारका आफन्तका नाममा पि्रभिसाको सुविधा दिएका छन् । यसबाट भारतीय, श्रीलंकन, फिलिपिनोहरू लाभान्वित भइरहेका छन् भने नेपालीले यो अवसर गुमाइरहेका छन् । विगतमा कम्पनीका यस्ता सुविधा केही एजेन्स्ाीद्वारा प्रयोग भइरहेका थिए । केही सोही कम्पनीमा काम गर्ने टाठाबाठा कामदारले गाउँघरका युवाहरूसँग पैसा लिएर उनीहरूलाई कुवेत ल्याउने गरेका थिए । कुवेतमा यो व्यवस्ााय निकै मौलाएको थियो । तर यसरी ल्याउने प्रचलन हाल पूर्ण रूपमा बन्द हुन पुगेको छ । व्यवहारमा हेर्ने हो भने कम्पनीले दिने यस्ता सुविधालाई सोही कम्पनीमा काम गर्ने व्यक्तिहरूले पैसा खर्च नगरी आफ्ना इष्टमित्र ल्याउने अवसरका रूपमा लिन सक्ने वातावरण बनाउन उपयुक्त देखिन्छ । नाताका विभ्ािन्न स्वरूप- मामा, माइजू, भान्जा, भान्जी, काका, काकी, भतिजा, भतिजी, फुपू, भदा, भदै, साला, साली, ज्वाइँ, जेठानजस्ता सदस्यलाई समेत समेटी उक्त दफालाई अलि विस्तृत बनाउनतर्फ सोच्न जरुरी छ । यसो गर्न सकेमा एउटा गरिब आफन्तले कम पैसा खर्च गरीे आफ्ना परिवारका सदस्यलाई रोजगारमा ल्याउन सक्ने थिए । 

Published on: 28 March 2013 | Kantipur

Back to list

;