s

चौतारी : एनआरएनका चुनौती

फिफिलिपिन्सको मनिलामा गैरआवासीय नेपाली संघ -एनआरएन) एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन शनिबार सुरु भएको छ । उक्त सम्मेलनमा मातृभूमिको सामाजिक, आर्थिक रूपान्तरणका लागि आफ्नो भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भइरहेको छ । यसै सन्दर्भमा गम्भीर छलफल गरी एउटा ठोस रणनीतिक कार्ययोजना बनाउनु आवश्यक देखिन्छ । एनआरएनप्रति बढ्दो अपेक्षाका कारण संघले सांगठनिक सुधार, सुस्पष्ट दृष्टिकोण र कार्ययोजनाका साथ सशक्त भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता पनि छ । आपनो संस्थागत विकास गरी नेपाल र नेपालीको सेवामा समर्पित हुने उद्देश्यमा सफल हुन अहिले एनआरएनसामु विभिन्न चुनौती छन् । एनआरएन अझै पनि कानुनी रूपमा संस्था दर्ता हुन सकेको छैन । अल्झिएर रहेको दर्ता प्रक्रियालाई जतिसक्दो छिटो पूरा गरी पूर्ण वैधानिक हुनु अत्यावश्यक छ । त्यसैगरी संघको संस्थागत एवं योजनामूलक कार्यक्रम सञ्चालनका लागि एउटा भरपर्दो आर्थिक स्रोतको व्यवस्था हुनु जरुरी छ ।

अहिलेसम्म हँुदै आएको आर्थिक स्रोतको व्यवस्था जस्तै एनआरएनए राष्ट्रिय एवं अन्तर्राटि्रय समन्वय परिषद्का सदस्यबाट प्राप्त हुने रकम, चुनावका उम्मेदवार एवं साधारण सदस्यता र सोको नवीकरणबापत प्राप्त हुने रकमको सही संकलन, व्यस्थापन र सदुपयोग हुनु जरुरी देखिन्छ । यसप्रकारको सीमित आर्थिक स्रोतबाट संघको बृहत् योजना, कार्यक्रम तथा संस्थागत विकास र स्थायित्वमा टेवा पुग्न सक्दैन । यसका लागि एउटा बृहत् आर्थिक कोष वा दिगो आर्थिक स्रोतको व्यस्था गरिनु जरुरी छ । दिगो आर्थिक स्रोतको व्यवस्थाका लागि संघद्वारा सञ्चालित कुनै आर्थिक परियोजनाबाट प्राप्त हुने मुनाफाको केही न्यूनतम प्रतिशत रकम संघको कोषमा जम्मा गर्ने व्यवस्था गर्न सकिन्छ । यसका अतिरिक्त एनआरएनजस्तो विशुद्ध गैरराजनीतिक संस्थामा राजनीतिका रंगहरू मिसिन थालेको गुनासाहरू उठ्न थालेका छन् । सम्पूर्ण प्रवासी नेपालीहरूको साझा मञ्चका रूपमा विकसित हुन एनआरएनलाई पूर्णतया राजनीतिक प्रभावविहीन बनाउन सचेत रहनुपर्छ । प्रवासी नेपालीहरूको समस्या समाधान गर्न यथोचित पहल नगरेको भनेर संघको आलोचना पनि पर्याप्त मात्रामा हुने गरेको छ । प्रवासी नेपालीहरूले भोग्नुपरेको समस्या  पहिचान गरी के कस्तो सहयोग गर्न सकिन्छ त्यसका लागि संघ सदैव तयार रहनुपर्छ ।  विशेषगरी मध्यपूर्व, मलेसियालगायतका देशहरूमा नेपालीले बेहोर्नुपरेको समस्यालाई न्यूनीकरण गरी उनीहरूको रोजगारीको सुरक्षा, हक, अधिकार सुनिश्चित गर्नका लागि एउटा प्रभावकारी कार्ययोजनासाथ बढ्नुपर्छ ।

यस सन्दर्भमा संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोद्वारा वैदेशिक रोजगारीका सिलसिलामा अपांग भएका व्यक्तिका परिवारको सीप वृद्धि गर्न सहयोग गर्ने उद्देश्यसाथ रु ५ करोडको अक्षयकोष स्थापना गरेको कुरा अत्यन्त सराहनीय छ । अहिले विश्वभरि रहेका प्रवासी नेपालीहरूको छरिएर रहेको ससानो पुँजीलाई एकीकृत गरी साझा अभियानमार्फत बृहत् परियोजना निर्माण गर्न संयुक्त लगानीको अवधारणा संघले अघि सारेको छ । यस अभियानमार्फत विशेष गरी जलविद्युत्लगायतका क्षेत्रमा लगानी गरी राष्ट्रको ऊर्जा संकटलाई सम्बोधन गर्ने लक्ष्य लिएको छ । यसबाट एकातिर रोजगारी सिर्जना गरी मुलुकको आर्थिक विकासमा सहयोग पुग्नेछ भने अर्कातिर संसारभरिका प्रवासी नेपालीलाई जन्मभूमिप्रतिको आकर्षण बढाएर संगठित रूपमा देश प्रेमको भावना जागृत गर्नेछ  । यसरी गैरआवासीय नेपालीहरूको संगठित लगानी भित्र्याउन आवश्यक पर्ने लगानीमैत्री वातावरण निर्माण गरी राष्ट्र विकासमा गैरआवासीय नेपाली सम्मिलित नीति र सोहीअनुसारको योजना तर्जुमा गर्नका लागि सरकारलाई संघले प्रेरित गर्नुपर्छ  ।

देशको कूल गार्हस्थ उत्पादनको लगभग २३ प्रतिशत हिस्सा विप्रेषणले ओगटेको वर्तमान अवस्थामा भित्रिएको यति ठूलो रकमलाई रचनात्मक वा उत्पादनमूलक कार्यमा लगानीका लागि आकषिर्त गर्ने वातावारण बनाउन आवश्यक नीति, नियमको तर्जुमा गर्न सरकारको ध्यानाकर्षण गर्नुपर्छ । कमजोर आर्थिक आवस्थाका कारण औषधि उपचार गराउन नसकी मृत्युसँग संघर्ष गरिरहेकाहरूलाई सर्वसुलभ स्वास्थ्य उपचार प्रदान गर्नका लागि 'असहायका लागि गैरआवासीय नेपाली' जस्ता अभियान मार्फत आर्थिक कोष खडा गरी सहयोग गर्ने व्यवस्था गरिनुपर्छ । बेरोजगार युवावर्गलाई लक्षित गरी विभिन्न सीपमूलक, आयआर्जनमूलक तालिमजस्ता कार्यक्रम मार्फत उनीहरूलाई स्वावलम्बनको मार्गमा लाग्न उत्प्रेरणा जगाउने कार्यक्रम सञ्चालन गरिनुपर्छ । यसका साथै कृषिलाई व्यावसायिक र रोजगारीमूलक बनाउन  कृषकहरूलाई उन्नत कृषि प्रविधिको प्रयोग, आवश्यक तालिम, जानकारी एवं चेतनामूलक कृषि कार्यक्रमहरू गर्न एनआरएन सक्रिय हुनुपर्छ ।

Published on: 19 May 2013 | Kantipur

Back to list

;