s

चौतारी : बाकसको पुलिन्दा कहिलेसम्म ?

अनन्त वाग्ले

हिउँदको चिसो एक रात कार्यालय काम सकेर र्फकनै लाग्दा भतिज राजुको फोन आयो- 'अंकल, साउदीबाट लक्षु दाइको लास आएछ । तुरुन्त आर्यघाट आउनुहोला ।' गएँ । बाकसको पुलिन्दाभित्र मेरो बालसखा लक्षु लमतन्न थियो । ऊसँग गोठाला र घाँस-दाउरा गर्दादेखिका विविध क्षण मनमा नाच्न थाले । आर्यघाट आसपास पुग्दा यसै पनि मान्छे भावुक हुन्छ । जीवनको यो 'लास्ट स्टेसन' मा केही समयका लागि भए पनि मान्छे हठ, दम्भ र घमण्ड भुल्छ । मेरो त सामुन्नेमै बालसखा लक्षु निर्जिव लडिरहेको थियो । मन नदुख्ने कुरै भएन । 

उसको अवसान आकस्मिक थियो । गत वर्ष माघमा स्वस्थ, निरोगी र मिहिनेती लक्षु साउदी अरब पुगेको थियो र असोजमा उसको अवसानको खबर आएको थियो । मृत्युको खबर त आयो तर शव आउन तीन महिना लाग्यो । लक्षुसँगै ४० भन्दा बढीको शव आउन बाँकी रहेको समाचार थियो । उसँगै अर्को एउटा बाकस पनि आएको थियो । केही दिन पहिले आएका अरु तीन बाकस पनि वागमतीमा यत्रतत्र थिए । 

अर्को दिन अन्वेषक पूर्णप्रकाश नेपालको शवयात्रामा पुग्दा पनि यस्तै केही बाकस देखिए । 

'तिम्लेजस्तो पढ्न सकिएन दाइ, खेती किसानी गर्दै, गाई पालेर परिवार चलाइरहेछु', गाउँ गएका बेला भेटमा लक्षु भन्ने गथ्र्यो । ऊ परिश्रमी थियो । परिवार राम्रै चलाएको थियो । नयाँ घर बनाएको थियो । युवाविहीन बनिरहेको गाउँमा ऊ एउटा राम्रै भर बनेको थियो । ऊ साउदी गएपछि लागिरहेथ्यो-'यत्ति मिहिनेत गर्ने मान्छे त साउदी नगएको भए पनि हुन्थ्यो ।'

सन् २०१२ मा मात्र लक्षुजस्ता २ सय ८३ नेपाली युवाले साउदीमा ज्यान गुमाएको समाचार छ । यसरी नै मलेसियामा २ सय ६०, कतारमा १ सय ७४, युएईमा ५५, कुबेतमा ३२, बहराइनमा १५, ओमनमा ८ र लेबनानमा ७ नेपाली तरुणको अवसान भयो । खाडी तथा मलेसियास्थित नेपाली दूतावासहरूका अनुसार यसरी एक वर्षमा मात्र व्यवसायजन्य सुरक्षा अभावले ८ सय ३४ नेपाली जनशक्तिको जीवन समाप्त भयो । अझ वैदेशिक रोजगारका लागि नेपाली पुगेका सबै १ सय ८ देशकै तथ्याङ्क लिने हो भने उर्वर र उत्पादनशील उमेरमा मृत्यु बरण गर्ने युवाको यो तस्बिर झनै कहालिलाग्दो र पीडादायी देखा पर्छ । 

यसले देशको सुदूर भविष्यसम्म पनि गम्भीर नकारात्मक असर पार्ने निश्चित छ । भविष्यका कर्णधार मानिने हजारौँ लालाबाला 'टुहुरा' छन् । तिनको पालनपोषण, शिक्षा, स्वास्थ्य र संरक्षणमा ध्यान दिने कसले ? तिनमा पनि कतिपय बालबालिका त आमाको विक्षिप्त अवस्था वा दोस्रो विवाह गर्ने कारणले सहाराविहीन बनेको स्थिति छ । 

यो भयावह अवस्था सम्हाल्ने र सुधार्ने मुख्य दायित्व भनेको राज्यको हो । यसका लागि देशमै उद्योगधन्दाको विकास, रोजगारमूलक शिक्षा, रोजगार सिर्जनालगायतमा विशेष कार्यक्रम ल्याउनु जरुरि छ । तर हाम्रो राज्यको ध्यान यसमा केन्दि्रत हुन सकेको छैन । जिम्मेवार र जवाफदेही  हुनुपर्ने राजनीतिक दलहरू सत्ताप्राप्तिको खेलमै लिप्त छन् । बरु सबैले 'रेमिट्यान्स, रेमिट्यान्स' भन्दै गर्व गरिरहेका छन् । केही  नभएको स्थितिमा रेमिट्यान्सले भर नदिएको होइन । यसले लाखौं चुला बालेको छ । अनगिन्ती पेट पालेको छ र धेरै कलिला हृदयमा शिक्षाको दीप पनि जलाएको छ । दिगो विकास, सामाजिक रूपान्तरण र उज्यालो भविष्यको सुनिश्चितताका लागि भने वैदेशिक रोजगार नै मुख्य होइन । यसका लागि हाम्रो श्रम, सीप हाम्रै माटोमा लगाउन सक्नुपर्छ ।

प्रत्येक वर्ष ५ लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारमा जाने गरेका छन् । विश्व बैंकको तथ्यांकअनुसार बर्सेनि ५ लाख ५४ हजार युवा विदेस जान्छन् । अनि हरेक वर्ष ४ लाख नयाँ युवा श्रम बजारका लागि तयार हुन्छन् । देशको अवस्था अझै नसुध्रने र रोजगारमूलक कार्यक्रममा ध्यान नदिने हो भने विदेश जानेहरू अझै बढ्ने र अबको केही वर्षमा नेपाल 'बूढाबूढीको देश' हुनेसमेत बैंंकको अनुमान छ । त्यसैले रोजगारमुखी शिक्षा प्रणाली, उद्योग- व्यवसायमा लगानी बढाउन र श्रम परिचालनको वातावरण बनाउन ढिलो गर्नु हुँदैन । कहिलेसम्म देशले श्रमशील र ऊर्जाशील युवाका ज्यान मोरिएका बाकसको पुलिन्दा बुझिरहने ? 

Published on: 1 February 2013 | Kantipur

Back to list

;