s

चाउचाउ र चिउराको भरमा राजमार्गमा अघि बढ्दै

श्रवण थापा

 

सुरजकुमार चौधरीको घर सुनसरीको रामधुनी नगरपालिका–५ हो । सात महिनादेखि काठमाडौंमा मजदुरी गर्दै आएका उनी सरकारले कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखेर गरेको लकडाउनसँगै बेरोजगार बने । 

काम नभएपछि हातमुख जोड्न पनि समस्या भयो । त्यसपछि चौधरीले आफूसँगै काम गर्ने सप्तरीको कञ्चनपुर नगरपालिका– ४ का रामकुमार सदा, रवीन्द्र सदा र सहदेव सदासँगै गत मंगलबार राति काठमाडौं छाडे । बिहीबार सर्लाहीको हरिवन आइपुग्दा उनीहरूले एक सय ९२ किलोमिटर यात्रा गरिसकेका छन् । 

हरिवन नगरपालिका– १० स्थित पूर्व–पश्चिम राजमार्गसँगै रहेको नवजीवन अस्पतालमा खाना खाँदै गरेको अवस्थामा भेटिएका उनले काठमाडौं छाडेपछि बल्ल पेटमा भात परेको बताए । काठमाडौं छाडेपछि चिउरा र चाउचाउको भर रहेको उनले बताए । अस्पताल सञ्चालक अनिता उप्रेतीले टाढाबाट आएको र थकित अनुहार देखेर खाना खुवाएको बताइन् । उनले लकडाउन सुरु भएदेखि नै यसरी खाना खुवाउँदै आएकी छिन् । 

चौधरीले घर पुग्न अझै एक सय ८७ किलोमिटर यात्रा गर्नुपर्नेछ । उनीसँगै रहेका अन्य तीनजनाले पनि एक सय १६ किलोमिटरभन्दा बढी यात्रा गर्नुपर्नेछ । घर निर्माण मजदुर रहेका उनीहरूले लकडाउन लम्बिँदै जाँदा काठमाडौंमै भोकै मर्नुपर्ने अवस्था आउने देखेर पैदलै घर पुग्ने आँट गरेको बताए । ‘भोकभोकै मर्नुभन्दा त हिँडेरै भए पनि घर पुगिएला भनेर हिँडेका हौँ,’ उनले भने, ‘अब दुई–तीन दिनमा घर पुग्छौँ होला ।’ 

सर्लाहीबाट महोत्तरी पुग्न उनीहरूले ३५ किलोमिटर जंगल छिचोल्नुपर्छ । त्यसैले उनीहरू खाना खानेबित्तिकै गन्तव्यतर्फ लम्किए । चौधरीको समूह मात्र होइन, काठमाडौंबाटै आएका सप्तरीको तिरहुतका ११ जनाको टोली पनि त्यहीँ भेटिए । पानी, चिउरा र चाउचाउको भरमा हिँडिरहेको भन्दै उनीहरूले कहिले घर पुग्ने भन्दा पनि आफूहरूसँग भएको खानेकुरा सकिँदै गएकाले चिन्ता बढेको बताए ।

Published on: 9 April 2020 | Nayapatrika

Link

Back to list

;