s

चराले छाडेको गुँडजस्तो शरणार्थी शिविरको कथा

झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका भक्तशेर कार्की दुई बर्षदेखि एक्लो जीवन बिताइरहेका छन् । ७९ वर्षीय कार्कीका आफन्त तेस्रो देशतिर लागिसके, श्रीमतीले संसारै छाडेर गइसकिन् । भुटानबाट खेदिएर तीन दशकदेखि नेपालमा शरणार्थी जीवन बिताइरहेका कार्की भन्छन्, ‘छोराबुहारी अमेरिका पुगे, श्रीमतीले संसार छाडिन् । सके पकाएर खान्छु, नसके भोकै रात कटाउँछु, सासको त्यान्द्रोमा अल्झिएर बाँचिरहेको छु । मोरङको पथरी-शनिश्चरे शिविरमा रहेकी ७१ वर्षीया अभिमाया राईको दैनिकी झनै पीडादायी छ । उनका साथमा एक अशक्त छोरा छन् । आफैंलाई स्याहार चाहिने उमेरकी अभिमायाले छोराको स्याहार गर्नु परेको छ । छोरा र आफ्नो हातमुख जोर्न बूढीआमाले शिविरभित्र सानो तरकारी पसल चलाएकी छिन् ।

भक्तशेर र अभिमायाको जस्तै पूर्वी नेपालका शिविरमा रहल पहल रुपमा शरणार्थी जीवन बिताइरहेका धेरै वृद्धवृद्धाको समस्या उस्तै छ । परिवार र आफन्तबाट एक्लिएर शिविरमा बस्दै आएका उनीहरु अभाव, बुढ्यौली र एक्लोपनको शिकार बनिरहेका छन् । बिरामी पर्दा औषधी खुवाउने आफन्त छैनन् । पथरी शनिश्चरे भुटानी शरणार्थी शिविर महिला मञ्चकी कार्यक्रम संयोजक सनमति सुब्बाका अनुसार उनीहरु विभिन्न कारणले पुनर्बासमा जानबाट छुटेका शरणार्थीहरु हुन् । पूर्वी नेपालका विभिन्न सातवटा शिविरमा बस्दै आएका शरणार्थीमध्ये अहिले एक लाख १३ हजारभन्दा बढी शरणार्थीहरु पुनःस्थापन कार्यक्रमअन्तर्गत अमेरिका, अस्ट्रेलिया लगायत विभिन्न मुलुक पुगिसकेका छन् ।

नेपालमा बाँकी रहेका ६ हजार ६३४ शरणार्थीमध्ये ७३५ जना अपांगता भएका, आफन्त नभएका, अशक्त एवं वृद्धवृद्धाहरु झापा र मोरङका शिविरमै छन् । उनीहरूका कोही आफन्त भुटानमै छन् भने कतिपय अमेरिका र युरोपतिर छरिएका छन् । सातवटा शरणार्थी शिविरहरुमध्ये ५ वटा खाली भइसकेका छन् । अहिले झापास्थित बेलडाँगी र मोरङको पथरी शनिश्चरे शिविर गरी दुई वटामा मात्र शरणर्थीहरुलाई राखिएको छ । पथरी शनिश्चरे शिविरमा १५ सयको संख्यामा शरणार्थी बस्दै आएका छन् भने बाँकी बेलडाँगी शिविरमा छन् ।

नेपालमै बस्ने इच्छा

पूर्वी नेपालको झापा र मोरङका दुई शिविरमा बस्दै आएका भुटानी शरणार्थीहरुले नेपालमै बस्ने पाउनुपर्ने माग गरेका छन् । तेस्रो मुलुक पुनःस्थापनाको विकल्पमा जान नचाहनेहरु वा छुटेकाहरुले नेपालमै बस्न पाउनुपर्ने माग अघि सारेका हुन् । मोरङको पथरी शनिश्चरे शिविरका सचिव चम्पासिंह राईले भने, ‘धेरै लामो भयो शरणार्थीहरुले भुटान फर्कन चाहेको । तर, अहिलेसम्म सम्भव भएन । त्यसैले धेरैको ईच्छा अब नेपालमै बस्न पाउनुपर्छ भन्ने छ ।’क्याम्प सचिव राईका अनुसार अहिले पनि कतिपय बुढापाकाहरु भने भुटान फर्कन पाइने आशमा छन् ।

एक हजार बढी दर्तामै समेटिएनन्

झापा र मोरङ विभिन्न शिविरमा शरणार्थी जीवन बिताइरहेका एक हजार ७४१ जना दर्तामै छुटेका छन् । विभिन्न कारणले दर्ता हुन नसकेका उनीहरूले मानसिक तनाब झेलिरहेका छन् । पथरी शनिश्चरे शिविरका सचिव चम्पासिंह राईले दर्तामा छुटेका उनीहरू तेस्रो देश जानसमेत नपाउने र शरणार्थीका रुपमा पाइने सुविधाबाट समेत बञ्चित भएका छन् । ‘दर्तामा छुटेका शरणार्थीहरु विभिन्न समस्याले पिरेालिएका छन, क्याम्प सचिव राई भन्छन्, ‘न यिनले शरणार्थी भएर पुनर्बास कार्यक्रममा भाग लिन पाएका छन्, न त शरणार्थीले पाउने अन्य सुविधा नै उपभोग गर्न पाएका छन् ।’ राई थप्छन्, ‘न उनीहरुलाई नेपाली भनेर परिचय गराउने अवस्था छ, न अर्को कुनै देश चिनाउने अवस्था छ ।’

पथरी शनिश्चरे शिविरका हर्क कार्कीका अनुसार ‘दर्ता गर्ने बेलामा बाँच्नका लागि कामको खोजीमा बाहिर गएकाहरु यसरी दर्ता हुनबाट छुटेका हुन् । उनीहरु कामबाट फर्केर आउँदा परिवारका अरू सदस्यको दर्ता भैसकेको र उनीहरु चाहिँ छुटेको बताउँदै कार्की भन्छन्, ‘वर्षौं बित्यो, जति प्रयास गर्दा पनि दर्ता गर्न सकिएन ।’

दाताले रोक्यो सहयोग

यसैवीच पूर्वी नेपालका विभिन्न शिविरमा रहेका भुटानी शरणार्थीलाई विश्व खाद्य कार्यक्रमले दिँदै आएको खाद्य सहयोग रोकेको छ ।तेस्रो मुलुक पुनर्बासमा गएपछि नेपालमा बचेखुचेका शरणार्थी शिविरमा दिइँदै आएको खाद्य सहयोग गत पुसदेखि रोकिएको हो । विगत तीन दशकदेखि विश्व खाद्य कार्यक्रमले भुटानी शरणार्थीहरुलाई खाद्य सहयोग प्रदान गर्दै आएको थियो ।

सुरूमा विभिन्न खाद्यान्न उपलब्ध गराउँदै आएको विश्व खाद्य कार्यक्रमले पछिल्लो समय नगद सहयोग उपलब्ध गराउन थालेको थियो । तर, दाताहरुको सहयोग रोकिएपछि शिविरमा रहेका शरणार्थीको जीवन थप संकटमा परेको छ ।

Published on: 6 September 2019 | Onlinekhabar

Back to list

;