s

चार हजार ३४१ नेपाली भित्रिए, ७०६ भारतीय बाहिरिए

चाँदनी आचार्य

लम्की, जेठ २६ गते । कामका लागि भारतका विभिन्न शहर गएका र लामो समय भारतमा बन्दाबन्दीमा परेका नेपालीलाई खान बस्नको समस्या भएपछि जेठ २ यता दैनिक नेपाल भित्रिने क्रममा सोमबार पनि हजारौँको सङ्ख्यामा नेपाल भित्रिएका छन् । सोमबार सुदूपश्चिमका दुई मुख्य नाकाबाट चार हजार बढी नेपाली नागरिक नेपाल भित्रिएका हुन् । कञ्चनपुरको गड्डा चौकी र कैलालीको गौरीफन्टा नाकाबाट चार हजार २४१ जना नेपाली नागरिक नेपाल भित्रिएका छन् भने उक्त नाकाबाट ७०६ भारतीय नागरिकसमेत भारत बाहिरिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब निरीक्षक अमर थापाका अनुसार सोमबार गड्डाचौकी नाकाबाट ५७३ नेपाली नागरिक भित्रिएका छन् भने १२७ जना भारतीय नागरिक बाहिरिएका छन् । उक्त नाकाबाट प्रवेश गर्नेको सङ्ख्या घट्दैगएको छ । त्यसैगरी, कैलालीको गौरीफन्टा नाकाबाट भित्रिनेको सङ्ख्या शनिबारको तुलनामा थोरै मात्र घटेको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार उक्त नाकाबाट सोमबार तीन हजार ७६८ नेपाली नागरिक भित्रिएका छन् भने ५७९ भारतीय नागरिक बाहिरिएका छन् ।

योसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ गतेयता करिब एक लाखको हाराहारीमा नेपाली नेपाल भित्रिएका छन् भने बाहिरिनेको सङ्ख्या करिब १३ हजार पुगेको छ ।

नेपाल भित्रिएकाहरू विभिन्न जिल्लाका स्थानीय तहका क्वारेन्टाइनमा बसेका छन् भने केही परीक्षण पछि घर गएका छन् । सुदूरपश्चिम स्वास्थ्य निर्देशानलयका अनुसार आइतबार साँझसम्म भारतबाट आई सुदूरपश्चिमका नौ जिल्लाका विभिन्न स्थानीय तहको क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ६४ हजार १०५ पुगेको छ । जसमा महिला नौ हजार ६५२ जना छन् भने पुरुष ५४ हजार ४५३ जना रहेका छन् ।

Published on: 8 June 2020 | Gorkhapatra

Link

Back to list

;