s

चार महिना बित्यो, जयबहादुरको शव आएन

भवानी अधिकारी
आमा र श्रीमती घरमा रुँदै, पर्खंदै
'भाइको बिहे गर्न मंसिरमा आउँछु' भनेर फोन गरेका ३२ वर्षीय जयबहादुर रोकाहाको जिउँदो शरीर अब कहिल्यै घर फर्कनेछैन। 
 
चार महिनाअघि साउदी अरबमा ग्यास पाइप सफा गर्ने क्रममा मृत्यु भएपछि उनको मृत शरीरसमेत घर आइपुगेको छैन। मृत्यु भएको चार महिनासम्म पनि शव हेर्न र मृतकको अन्त्येष्टि गर्न नपाउँदा परिवार झनै दुःखी छ।
 
स्याङ्जाको दरौं गाविस १ कुन्चेबारीका जयबहादुर रोजगारका लागि २ वर्षअघि साउदी अरब पुगेका हुन्। केही महिनाअघि आमासँग फोनमा अन्तिम कुराकानी हुँदा जयबहादुरले भाइको विवाहको मिति तय भएपछि घर आउने बताएका थिए।
 
आमाले पनि मंसिरमा भाइको बिहे गर्ने र त्यही समयमा आउन छोरालाई भनेकी थिइन्। फोनमा कुराकानी भएको २-४ दिनमै उनको मृत्यु भएको खबर आयो।साउदी अरबस्थित ग्यास कम्पनीमा कार्यरत जयबहादुरको ग्यास पाइप लाइन सफा गर्ने क्रममा मृत्यु भएको थियो। 
 
भदौ ३ गते ग्यास पाइप सफा गर्न गएका साथीलाई बचाउन खोज्दा उनको पनि मृत्यु भएको छिमेकी रामबहादुर थापाले बताए। निम्न आर्थिक अवस्थाको उनको परिवारमा अहिले आमा, पत्नी र नाबालक छोरा छन्।
 
३१ वर्षको उमेरमै पतिको साथ छुटेको थियो कृष्णकुमारीको। पतिको मृत्युपछि कृष्णकुमारीले दुःखसाथ मेलापात गरेर दुई नाबालक छोरा हुर्काइन्। एकजना नेपाली सेनामा भर्ती भए, अर्का साउदीतिर लागे। अबका दिन सुखमा बिताउने कल्पनामा बाँच्न थालेकी कृष्णकुमारीको जीवनमा छोराको मृत्युको खबरले बज्रपात भएको छ।
 
४६ वर्षीया आमा कृष्णकुमारीमात्र होइन, २३ वर्षीया पत्नी सुशीलाका आँखा पनि ओभाएका छैनन्। आमा रुँदै भन्छिन्, 'मृत्युको खबर छ। न लास आएको छ, न त धार्मिक संस्कारअनुसार अन्त्येष्टि गर्न पायौं। मुर्दा शरीर भए पनि एकपटक हेर्ने धोको छ। 
 
धार्मिक विधिअनुसार अन्त्येष्टि गर्ने इच्छा छ।' दुईबर्से नाबालक छोराले घरिघरि 'बाबा' भन्दा सुशीला र कृष्णकुमारीको मन झनै भक्कानिन्छ।मृत्युको खबर आएको ५-७ दिनदेखि नै जयबहादुरका मामा चित्रबहादुर बिष्टले गाविसदेखि काठमाडौं र दूतावाससम्म पुगेर शव ल्याउने व्यवस्था मिलाउन गुहारेका गुहार्‍यै छन्। 'अब हुन्छ, अब हुन्छ भन्दाभन्दै ४ महिना कटिसक्यो, शव ल्याउन सकिएन', दुःखी हुँदै चित्रबहादुर भन्छन्।
 
रोजगारका लागि खाडी मुलुक पुगेर आफ्नो ज्यान नै गुमाउँदा पनि सरकारले शव ल्याउन चासो नदेखाएकामा बिष्ट अचम्मित छन्। छिटोभन्दा छिटो शव नेपाल ल्याउन पहल गरिदिन सरकारलाई आग्रह गर्दै बिष्ट भन्छन्, 'हाम्रो बलबुताले भएन। सरकारले हामी जनताको पीडा बुझोस्। ठूला कुरा गरेर मात्र हुँदैन, हामीजस्ता दुःखीको आँसु पुछ्नुपर्छ।'
 
 
Published on: 26 December 2015 | Annapurna Post

Back to list

;