s

चन्द्रनिगाहपुरमा बालश्रम बढ्दो

काठमाडौँ, वैजोखिम मोलेर राजमार्गमा पानी र मकै बेच्दै बालबालिका छ ।

अशोक पहाडी

पूर्व–पश्चिम राजमार्गको व्यस्त बजार चन्द्रनिगाहपुरमा यात्रुबाहक सवारीसाधन रोकिनासाथ बालबालिकाको एक हुल त्यतातिर दौडिन्छ । राजमार्गमा सवारीसाधनको आवागमन निरन्तर भइरहने भए पनि उनीहरूमा त्यसको पर्वाह देखिँदैन । किनभने हातमा बोकेका पानीका बोतल र थालमा रहेका मकै वा काँक्रो बेच्न उनीहरूलाई हतारो हुन्छ । अन्धाधुन्ध दौडँदा ज्यान नै जोखिममा पर्ने भए पनि यस्ता दृश्य यहाँ दिनहुँ देखिन्छन् । 

राजमार्ग किनारमै पसल थापेर व्यवसाय गर्नेले त्यसरी बालबालिकालाई पानी, मकै, चिजबल, चाउचाउ, पोट्याटो क्र्याकरजस्ता ड्राइफुड बेच्न प्रयोग गर्ने गरेका छन् । कतिपय स्थानीय अभिभावकले समेत आफ्ना साना केटाकेटीलाई त्यसरी गाडी–गाडीमा पठाउने गरेको स्थानीय बताउँछन् । बालश्रम उन्मूलनसम्बन्धी कानुन बनेको २६ वर्ष पुगिसकेको छ । तर, रौतहटका सडकमा त्यो लागू भएको छैन । 
 
ललाइफकाइ, झुक्याएर, प्रलोभन दिएर वा डर, त्रास देखाएर बालबालिकालाई श्रमिकका रूपमा काममा लगाउन पाइँदैन । तर, त्यसरी बालश्रम बढिरहेको छ । अधिवक्ता विपिन गौतम नियमित अनुगमन नहुँदा समस्या बढ्ने गरेको बताउँछन् । चन्द्रपुर नगरपालिकाले ०७८ भित्र बालश्रममुक्त नगर र ०७९ भित्र बालमैत्री नगर घोषणा अभियान अघि सारे पनि सडकमा बालश्रमिकको संख्या घटेको छैन । 
 
इँटाभट्टा र होटेलमा पनि प्रयोग
 
राजमार्गमा मात्र होइन, बालबालिकाको प्रयोग रौतहटका इँटाभट्टा, होटेल, मोटर ग्यारेजमा पनि प्रशस्त देखिन्छ । रौतहटका विभिन्न क्षेत्रमा रहेका इँटाभट्टाले बालबालिकालाई काममा लगाउने गरेको स्थानीय बताउँछन् । ‘अधिकांश होटेलमा काम गर्ने प्रायः बालबालिका नै हुन्छन् । मोटर ग्यारेजमा समेत बालश्रम प्रयोग भइरहेको पाइन्छ,’ स्थानीय युवा भरत आचार्यले नयाँ पत्रिकासँग भने । यसरी श्रममा प्रयोग भइरहेकामध्ये सडकका बालबालिका सबैभन्दा बढी जोखिममा देखिन्छन् । किनभने दैनिक सयौँ गाडी गुड्ने सडकमा उनीहरूलाई प्रयोग गरिएको छ । स्थानीयका अनुसार बिहान ७ नबज्दै मुख्य सडकमा बालकको हुल एकत्रित हुन्छ । उनीहरू नजिकको पसल पुग्छन्, अनि बस रोक्नासाथ मिनिरल वाटर बोकेर त्यतातिर कुद्छन् । 
 
सरोकारवालाले दिएन ध्यान
 
सडकमा जोखिमपूर्ण अवस्थामा बालश्रम प्रयोग भइरहेको देख्दादेख्दै पनि यहाँका सरोकारवाला निकायले नियन्त्रणमा ध्यान दिएका छैनन् । ‘जोखिम मोलेर दौडादौड गरी बालबालिकाले पानी बेच्ने गरेको सबैले देखेका छन् । नगरपालिकाका प्रमुख, उपप्रमुख, सरकारी अड्डाका हाकिम र प्रहरीका प्रमुखले समेत देखेका हुन्छन्,’ एक स्थानीयले भने, ‘तर, बालश्रम रोक्न कसैले ध्यान दिएका छैनन् ।’ अझ चन्द्रनिगाहपुरका ठूला होटेलमा सरकारी र गैरसरकारी संघसंस्थाको आयोजनामा बालश्रम उन्मूलनसम्बन्धी गोष्ठी हुने गरेका छन् । त्यही क्षेत्रका सडकमा, होटेलमा, मोटर ग्यारेजमा बालश्रम प्रयोग भइरहे पनि नियन्त्रणमा ध्यान नपुगेको उनले बताए । 
भारतबाट ल्याएर श्रममा लगाइन्छ
 
यस क्षेत्रका केही होटेल सञ्चालकले भारतको बिहारस्थित विभिन्न क्षेत्रका निम्न आय भएका परिवारका बालबालिका ल्याएरसमेत काममा लगाउने गरेको देखिन्छ । स्थानीय युवा भरत आचार्यले भने, ‘भारतबाट ल्याएरसमेत सडकमा बालबालिकालाई पानी बेच्न लगाउने गरेको देखिन्छ । कसैलाई कारबाही भएको छैन ।’ सीमापारका न्यून आय भएका कतिपय परिवारका अभिभावकसमेत रोजगारीको खोजीमा रौतहट आइपुग्ने भएकाले पनि उनीहरूका बालबालिकाको प्रयोग हुने गरेको हो । 
 
पढ्ने उमेरमा पानी बेच्दै
 
चन्द्रपुर–४ का १० वर्षीय शेख नौसाद पढ्न जाने उमेरमा राजमार्गमा दिनहुँ पानी (मिनिरल वाटर) बेच्दै आएका छन् । एक वर्षदेखि सडकमा उनको दैनिकी सडकमै बित्ने गरेको छ । राजमार्गमा बस रोक्नासाथ उनी र उनीजस्तै अन्य बालबालिका पानी बेच्न दौडन्छन् । पढ्ने रहर भएर पनि विद्यालय जान नपाएको नौसादको भनाइ छ ।
 
Published on: 17 April 2019 | Gorkhapatra

Back to list

;