s

चैतमा ४ प्रतिशत रेमिट्यान्स घट्यो

यज्ञ बञ्जाडे

काठमाडौँ — नेपाल भित्रिने रेमिट्यान्स चैतमा ४ प्रतिशत घटेको छ । चैत पहिलो सातासम्म धेरै राष्ट्रमा कोरोना फैलिसकेकाले ती राष्ट्रमा पनि लकडाउन थियो । यही कारण नेपाल भित्रिने रेमिट्यान्स आप्रवाह ऋणात्मक भएको हो ।

चालू आवको ९ महिनासम्म नेपालमा करिब ६ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्समार्फत मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिमा यो ४ प्रतिशत घटेको हो । गत फागुनमा रेमिट्यान्स १.८ प्रतिशत बढेर करिब ६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । ०७५ फागुनमा रेमिट्यान्स आप्रवाह साढे २३ प्रतिशत बढेको थियो ।

पूर्वानुमान गरिएअनुसार नै चैतमा रेमिट्यान्स घटेको नेपाल रेमिटर्स एसोसिएसनका अध्यक्ष सुमन पोखरेलले बताए । ‘चैतको तुलनामा वैशाखमा रेमिट्यान्स आप्रवाहमा सुधार भएको छ,’ उनले भने, ‘हालसम्मको विवरण हेर्दा वैशाखमा रेमिट्यान्स आप्रवाह केही थोरै घट्न सक्छ ।’ कोरिया, मलेसिया, कतार, साउदीलगायत राष्ट्रले डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउन मिल्ने प्रणाली विकास गरेको पनि उनको भनाइ छ । यद्यपि वार्षिक रूपमा १० देखि १५ प्रतिशतका दरले रेमिट्यान्स आप्रवाह घट्ने उनको अनुमान छ ।

चालू आवमा रेमिट्यान्स करिब १० प्रतिशत घट्ने राष्ट्र बैंकका उच्च अधिकारीहरुले बताउँदै आएका छन् । गत आवको तुलनामा यो वर्ष रेमिट्यान्स करिब १ खर्ब घट्ने उनीहरुको अनुमान छ । लकडाउनका कारण चैतमा आर्थिक गतिविधि हुन नपाए पनि औपचारिक प्रणालीबाट भित्रिने रेमिट्यान्स बढेको जानकाहरु बताउँछन् ।

नेपाल भित्रिने रेमिट्यान्स आप्रवाहमा गत साउनदेखि नै उतारचढाव देखिँदै आएको छ । सोही क्रममा गत माघमा रेमिट्यान्स वृद्धिदर ०.५ प्रतिशतले ऋणात्मक छ । चालू आवका ८ महिनामध्ये ४ वटामा रेमिट्यान्स घटेको छ भने बाँकी ४ महिनामा सामान्य अंकले बढेको छ । गत वर्ष रेमिट्यान्स आप्रवाह वृद्धिदर उच्च हुनु (बेस इफेक्ट), रोजगारीमा जाने नेपालीको संख्यामा कमी आउनु, विदेशी मुद्रा सटहीमा भएको कडाइलगायत कारण यो वर्ष रेमिट्यान्स घट्न थालेको अर्थविद्हरू बताउँछन् ।

वृद्धिदर घट्दो क्रममा रहे पनि यसअघि रेमिट्यान्स लगातार ऋणात्मक नै भएको थिएन । यसअघि आव ०७४/७५ कात्तिकमा रेमिट्यान्स वृद्धिदर १.४ प्रतिशत ऋणात्मक थियो । गत वर्ष भने सुरुका महिनामा रेमिट्यान्स वृद्धिदर ३७ प्रतिशतसम्म पुगेको थियो । चौथो/पाँचौं महिनादेखि रेमिट्यान्स वृद्धिदर ओरालो लाग्न थाल्यो । आवको अन्त्य (असार) सम्म आइपुग्दा रेमिट्यान्स वृद्धिदर साढे १६ प्रतिशत थियो । चालू आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स वृद्धिदर एक्कासि घटेर २ प्रतिशतमा सीमित भयो । त्यसपछि ऋणात्मक हुन थाल्यो । भदौ, असोज, कात्तिक र माघमा रेमिट्यान्स ऋणात्मक रह्यो । मंसिर, पुस र फागुनमा क्रमश: ०.१, ०.९ र १.८ प्रतिशत सकारात्मक रह्यो ।

विदेशी विनिमय सञ्चिती ११ खर्ब ५५ अर्ब

गत चैतसम्म नेपालको विदेशी विनिमय सञ्चिती ११ खर्ब ५५ अर्ब रुपैयाँ छ । गत असारको तुलनामा यो करिब ११.३ प्रतिशत बढी हो । ०७६ असारमा यो १० खर्ब ३८ अर्ब ९२ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा यस्तो सञ्चिती केही घटेको छ । ०७६ असारमा ९ अर्ब ५० करोड रहेको सञ्चिती गत चैतमा ९ अर्ब ४९ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । यो अवधिमा अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको मूल्य घटेकाले डलरमा विदेशी विनिमय सञ्चिती घटेको राष्ट्र बैंकले बताएको छ ।

शोधनान्तर बचत ३६ अर्ब ६१ करोड

चालू आवको ९ महिनासम्म भुक्तानी सन्तुलन ३६ अर्ब ६१ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६४ अर्ब ६८ करोड रुपैयाँले घाटामा थियो । गत फागुनसम्म शोधनान्तर ३७ अर्ब ८४ करोड बचतमा थियो । चालू आवको सुरुदेखि नै शोधनान्तर बचतमा रहँदै आएको छ । यस अवधिमा आयात घटेको, निर्यात बढेको, पर्यटन आय बढेको (कोभिड–१९ का कारण अहिले घट्दो छ), पर्यटन खर्च घटेको, बिजुलीको आयात घटेको, रेमिट्यान्स आप्रवाह बढेकोलगायत कारण शोधनान्तर बचतमा रहेको राष्ट्र बैंकको भनाइ छ । ‘८ महिनासम्मको तथ्यांक हेर्दा समष्टिगत आर्थिक स्थायित्व कायम छ । बाह्य क्षेत्र सन्तुलित छ । शोधनान्तर बचतमा छ भने विदेशी विनिमय सञ्चिती पर्याप्त छ,’ राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने । रेमिट्यान्स तत्काल बढ्ने सम्भावना नभएकाले अर्को वर्ष शोधनान्तरमा केही दबाब पर्न सक्ने उनको अनुमान छ ।

मूल्य वृद्धिदर ६.७४ प्रतिशत

चालू आवको ८ महिनामा बजार भाउ (मूल्य वृद्धिदर) ६.७४ प्रतिशत बढेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो २.३ प्रतिशत बिन्दुले बढी हो । अघिल्लो आवको सोही महिनामा मूल्य वृद्धिदर ४.४४ प्रतिशत थियो । राष्ट्र बैंकले चालू आवमा मूल्य वृद्धिदर ६ प्रतिशतको सीमाभित्रै राख्ने लक्ष्य तय गरेको छ । तर गत साउनदेखि नै मूल्य वृद्धिदर ६ प्रतिशतभन्दा बढी छ । खासगरी भारतमा भएको मूल्यवृद्धिको असर नेपालमा पनि परेको राष्ट्र बैंकको भनाइ छ ।

चैतमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ९.६८ र गैर–खाद्य तथा सेवा समूहको ४.४८ प्रतिशत छ । ‘सो अवधिमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि उच्च छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘गैरखाद्य तथा सेवा समूहअन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ ।’

१६ अर्ब ४८ करोड विदेशी लगानी

चालू आवको ९ महिनामा १६ अर्ब ४८ करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) नेपाल भित्रियो । अघिल्लो वर्षको सोही अवधिमा ७ अर्ब १० करोड रुपैयाँ विदेशी लगानी आएको थियो । कोरोनाका कारण चालू आवको बाँकी महिना एफडीआई पनि घट्ने आँकलन गरिएको छ । गत आवमा भने सबै महिनाजस्तो एफडीआई घटेको थियो ।

१ खर्ब ६८ अर्ब क्षति

कोभिड–१९ को संक्रमण रोकथामका लागि गरिएको लकडाउनले उद्योगधन्दा न्यून क्षमतामा सञ्चालित छन् भने आपूर्ति शृंखला प्रभावित भएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । ‘ठूला आयोजना निर्माण सुस्त भएको छ । सार्वजनिक यातायात बन्द छ । अर्थतन्त्रका सबै क्षेत्रमा कोभिड–१९ को प्रभाव देखिन थालेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘गत आवको तुलनामा आर्थिक वृद्धिमा उल्लेख्य गिरावट आएको अनुमान छ ।’

कोभिड–१९ को प्रभाव सुरु हुनुअघि ७ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुन सक्ने प्रक्षेपण गरिएकोमा अर्थतन्त्रमा देखिएको असहज अवस्थाका कारण आर्थिक वृद्धि न्यून रहने प्रतिवेदनले औंल्याएको छ । ‘यस प्रक्षेपणलाई केन्द्रीय तथ्यांक विभागको पछिल्लो सार्वजनिक अनुमानसँग तुलना गर्दा अर्थतन्त्रमा प्रचलित मूल्यमा मापन गरिएको कूल गार्हस्थ्य उत्पादनमा करिब १ खर्ब ६८ अर्बबराबरको क्षति भएको प्रारम्भिक अनुमान छ,’ प्रतिवेदनमा उल्लेख छ ।

गत फागुनको तुलनामा ०७६ चैतमा निर्यात, आयात र विप्रेषण आप्रवाहमा संकुचन आएको छ । सरकारको राजस्व संकलन र खर्च पनि प्रभावित भएको प्रतिवेनले देखाएको छ । चैतमा निक्षेप संकलन र कर्जा प्रवाह भने सामान्य रहेको राष्ट्र बैंकले देखाएको छ ।

Published on: 18 May 2020 | Kantipur

Link

Back to list

;