s

चाडपर्व खर्च जुटाउन भारत पस्दै

ठाकुरसिंह थारू

मध्यपश्चिम पहाडी जिल्लाका सर्वसाधारण चाडपर्वको खर्च जुटाउनका लागि कामको खोजीमा भारत पस्न थालेका छन्। रोपाइँ सकेपछि नेपालीहरू दसैंका लागि खर्चको जोहो गर्न भारत जाने परम्परा नै बनेको छ। 

उनीहरू भारतको कालापहाड, चण्डीगढ, सिमला, गुजरात, पञ्जाबलगायतका स्थानमा जाने गर्छन्। त्यहाँबाट केही पैसा कमाएर दसैंमा घर फर्किने गरेको उनीहरू बताउँछन्। कामको खोजीमा जानेमध्येमा केही बालबालिका पनि छन्।

 उनीहरू अभिभावकसँगै कामका लागि भारत पसेका हुन्। नेपाल–भारत सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार दैनिक डेढ सयदेखि ५ सय नेपालीहरू भारत पसिरहेका छन्। हरेक वर्ष यसैगरी नेपालीहरू काम खोज्न सीमापारि पुग्ने गरेका छन्। 

बढीजसो मध्यपश्चिमका सर्वसाधारण कालापहाड, चण्डीगढ, सिमला जाने गर्छन्। नेपालीले त्यहाँ सडक निर्माण र फलफूल खेतीका लागि मजदुरी गर्छन्। भारत जानेहरूमध्ये आर्थिक अवस्था कमजोर भएका मध्यपश्चिम क्षेत्र सुर्खेत, जाजरकोट, रुकुम, प्यूठान, दैलेख, सल्यानका बासिन्दा बढी हुने गरेका छन्। बाँके र बर्दियाका सर्वसाधारण पनि खेती सकेपछि काम गर्न भारत पस्छन्। 

खेतीपातीपछि फुर्सद हुने भएकाले कमाउन भारत जाने चलन चलेको हो। ‘रोपाइँ सकियो। घरमा काम छैन। चाडपर्व पनि बिस्तारै नजिकिँदै छ। त्यसैले केही कमाउन भारत जान थालेको हो,’ भारतको कालापहाड जान थालेका दैलेखका भीमबहादुर रावतले भने, ‘२/३ महिना काम गर्छु। दसैं मनाउन घर फर्किन्छु। कमाएको पैसाले परिवारलाई पनि सहज हुन्छ।’

कामका लागि भारत पसेका अधिकांश नेपालीहरू दसैं र तिहारमा घर फर्किने गर्छन्। खेतीको समयमा भने घरमै बस्छन्। आर्थिक अवस्था कमजोर भएका सर्वसाधारणले वर्षमा २/३ पल्ट भारत काममा जाने र फर्किने गर्छन्। गाउँमा काम नपाइने भएकाले कामको खोजीमा भारत जानु उनीहरूको बाध्यता हो। खेतीको काम सकिएपछि फुर्सदमै बस्नुभन्दा भारतमा मजदुरीको विकल्प रोज्छन्। सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) सुधीर खडकाले हाल भारत जाने नेपालीको चाप बढेको बताए। 

उनले हरेक वर्ष यसैगरी नेपालीहरू कामको खोजीमा भारतका विभिन्न सहरमा पुग्ने गरेको जानकारी दिए। ‘खेतीको कामपछि नेपालीहरू चाडपर्वको खर्च जुटाउन भारत जानेक्रम सुरु भएको छ,’ उनले भने, ‘चाडपर्वका बेला फर्किनेको भीड हुन्छ।’ गरिबीका कारण बेरोजगार युवाहरू काम गर्न विदेश गएपछि गाउँ युवाविहीन हुने गरेको छ। 

Published on: 1 August 2017 | Kantipur

Back to list

;