s

चार दिनदेखि सम्पर्कको पर्खाइमा छन् इजरायल आक्रमणका बेपत्ता विपिनको परिवार

इजरायलमा आक्रमणमा परि कञ्चनपुर भीम दत्त नगरपालिका ३ का विपिन जोशी चार दिन देखि सम्पर्क विहीन छन्। समय जति जति घर्किँदै गइरहेको छ सम्पर्क विहीन भएका विपिनका आमा, बुबा लगायत परिवार जनमा उत्ति बढी चिन्ताको राप बढ्दै गइरहेको छ।

छोरा आक्रमणमा परि सम्पर्क विहीन भएपछि बझाङमा अध्यापन गराउँदै आएका विपिनका बुबा महानन्द जोशी सोमवार महेन्द्रनगर आइपुगेका छन्। ‘४ दिनदेखि भाइ सम्पर्क विहीन हुँदा परिवारमा धेरै तनाव भएको छ, कतैबाट पनि कुनै जानकारी आएको छैन’ विपिनका(काकाका छोरा) दाजु किशोर जोशीले मलिन स्वरमा भने।

इजरायलमा प्यालेस्टाइन विद्रोही समूह हमासले आक्रमण गर्नु अघि शनिवार दिउँसो किशोरले टेलिफोनमा भाइ विपिन सँग कुरा गरेका थिए। ‘ठिक छुँ, सबै राम्रो चलिरहेको छ भनेको थियो’ उनले भने, म खाना खान्छु भनी पछि कुरा गरुला भनेर फोन राखेको थियो, त्यसपछि भाइसँग सम्पर्क नै हुन सकेन।’

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कृषि विज्ञान सङ्कायमा अन्तिम सेमेस्टरमा अध्ययनरत उनी लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत गत भदौ २६ गते इजरायल गएका थिए। इजरायलको पेलेष्टाईनको कब्जामा रहेको गाँजा क्षेत्र नजिकै इजरायलको एलोमिन भन्ने स्थानमा रहेको कृषि फार्ममा १७ जना विद्यार्थी कार्यरत थिए। हमास लडाकु समूहले आक्रमण गरेपछि बङ्करमा लुकेर बसेका विद्यार्थीमाथि लडाकुहरू बङ्करभित्रै पसेर गोली प्रहार गरेका थिए। १७ जना विद्यार्थी मध्ये १० जना विद्यार्थीको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। ती मध्ये विपिन सम्पर्क विहीन छन्। ‘१७ जना विद्यार्थीकै समूहमा मेरो भाइ पनि थियो, १० जनाको मृत्यु भयो, ६ जना घाइते छन्, मेरा भाइको अहिलेसम्म कुनै पत्तो छैन’ किशोरले भने।

भाइको खोजी गरिदिन उनले आग्रह गरे। ‘घरमा सबै रोइरहेका छन्, तनावको माहोल छ, भाइको खोजी गरिदिन सबैलाई अनुरोध छ’ उनले भने।

सरकारका निकायबाट कसैले पनि भाइको बारेमा कुनै जानकारी नदिएको उनी बताउँछन्। एक छोरा ४ दिनदेखि सम्पर्क विहीन भएपछि विपिनका आमा र बुबा चिन्तामा परी खाना पनि खाएका छैनन्। उनीहरुका एक छोरा र एक छोरी छन्। विपिन जेठो छोरा हुन्।

कृषि विज्ञान तर्फ स्नातक तहको अन्तिम सेमेस्टरका उनीहरु १० महिनाका लागि इजरायल गएका थिए। विद्यार्थीले लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत साताको १ दिन अध्ययन, ५ दिन काम र १ दिन छुट्टीमा बस्ने उल्लेख थियो। कृषि विज्ञान सङ्कायले कार्यक्रम अन्तर्गत पहिलो पटक विद्यार्थी पठाएको थियो। आर्थिक विपन्न परिवार र मध्यम परिवारमा दुःख जिलो गरी हुर्के पढेका विद्यार्थी सुनौलो भविष्यको सपना साँचेर इजरायल गएको ४ साता हुन नपाउँदै हमास लडाकुको कहालीलाग्दो आक्रमणको सिकार हुन पुगे। आक्रमण परि ७ जनाको मृत्यु र एक जना सम्पर्क विहीन भएको सुदूरपश्चिम प्रदेश पुरै शोकमा डुबेको छ।

Published on: 11 October 2023 | Nagarik

Link

Back to list

;