s

छोरी बिक्री गर्न खोज्ने बाबु जेल चलान

ठाकुरसिंह थारु

छोरीलाई भारत लगेर बलात्कार गरी बिक्री गर्न खोज्ने बाबु जितबहादुर सुनारलाई बाँके जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ । बर्दिया कालिका बस्ने सुनारमाथि १५ वर्षीया छोरीलाई भारतको लखनउस्थित छेदीलाल धर्मशालामा लगी बलात्कार गरेको अभियोग छ । बलात्कारपछि मुम्बईमा बिक्रीका लागि पैसा मोलमोलाइ गरिरहेका बेला उनी फक्राउ परेका थिए । अदालतले थुनछेकको सुनुवाइ गर्दै उक्त मुद्दाको फैसला नहुँदासम्म नेपालगन्ज कारागारमा राख्ने आदेश दिएको हो । न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले प्रारम्भिक अनुसन्धानबाट अभियोगसम्बन्धी पर्याप्त प्रमाण भेटिएपछि सुनारलाई गत सोमबार कारागार चलान गरेको अदालतले जनायो । सुनार भारतको कानपुरमा भान्सेको काम गर्दै आएका थिए । श्रीमती वैदेशिक रोजगारका लागि कुवेत गएकी छन् । गत वैशाखमा घरमा आएका उनले छोरीलाई आफूसँगै राख्न कानपुर लगेका थिए । तर लखनउको होटेलमा पुर्‍याएर बाबुले बलात्कार गरेको छोरीले प्रहरी कार्यालयमा लिखित जाहेरी दर्ता गराएकी छन् । मुम्बईबाट अपरिचत व्यक्तिहरूलाई लखनउ बोलाएर बिक्रीका लागि मोलमोलाइ गरेको सुनेपछि छोरीले कुवेतमा रहेकी आमालाई मोबाइलमार्फत सम्पर्क गरी घटनाबारे बताएकी थिइन् । आमाले नेपाल प्रहरी र मानव ओसारपसारविरुद्व काम गर्दै आएका संघसंस्थालाई जानकारी गराएपछि भारतीय सुरक्षा अधिकारीको सहयोगमा पीडितको उद्धार सम्भव भएको थियो । 'रात परिसकेकाले बुबाले होटेलमा लगेर राखे । राति मलाई बलात्कार गरे,' छोरीले अदालतको बयानमा भनेकी छन् । बाँके प्रहरीले सुनारमाथि जबरजस्ती करणी, हडनाता करणी र मानव ओसारपसार गरेको अभियोगमा मुद्दा चलाएको छ । हडनाता करणीको अभियोग ठहर भए जन्मकैद, नाबालिका बलात्कारमा थप ५ वर्ष कैद र मानव ओसारपसार गरेको अभियोगमा १० वर्ष कैद र पीडितलाई क्षतिपूर्तिको माग गरिएको छ ।

एउटै व्यक्तिमाथि जबरजस्ती करणी, हडनाता करणी र मानव ओसारपसारको अभियोगसहित अदालतमा मुद्दा दर्ता भएको बाँकेमा सम्भवत पहिलो भएको कानुन व्यवसायीले बताएका छन् । पीडितलाई कानुनी सेवा दिँदै आएका अधिवक्ता वासुदेव ज्ञवालीले बाबुले छोरीलाई बलात्कार गरी बिक्री गर्ने घटना बर्बरतापूर्ण रहेको प्रतिक्रिया दिए । 'पीडितले अदालतमा दिएको बयान सुन्दा आङ जिरिंग हुन्छ,' उनले भने, 'समाजका लागि यो निकृष्ट घटना हो ।' बाबुले पनि अदालतमा बयान दिँदा आरोप स्वीकार गरेका छन् । उनले मदिरा सेवन गरी होस गुमाएका बेला त्यस्तो घटना भएको दाबी गरेका छन् ।

Published on: 19 October 2012 | Kantipur

Back to list

;