s

क्यासिनो सांग्रिला सधैंका लागि बन्द

सरकारको पछिल्लो नियम र मजदुर ज्यादतीका कारण विदेशी लगानीको क्यासिनो सांग्रिला सधैंका लागि बन्द भएको छ । क्यासिनो बन्द भएपछि त्यहाँ काम गरिरहेका करिब ५ सय मजदुर बेरोजगार भएका छन्।

लामो समयदेखि क्यासिनोमा रहेका विभिन्न राजनीतिक दलका मजदुर संगठनबीचको आपसी द्वन्द्वबाट आजित बनेको व्यवस्थापनलाई सरकारले जारी गरेको 'क्यासिनो नियमावली २०७०' ले बन्दै गर्न थप वल मिलेको थियो ।

व्यवस्थापनले शनिबार बिहान २ बजेबाट क्यासिनो बन्द गरिएको औपचारिक सूचना टाँसेर तालाबन्द गरेको हो । 'मजदुरको ज्यादती त छँदै थियो, त्यसमाथि सरकारको नयाँ नियमावलीले थप धक्का दियो,' क्यासिनो व्यवस्थापन स्रोतले शनिबार नागरिकसँग भन्यो, 'वाध्य भएर बन्द गरेका हौं ।'

राजधानीको लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिला परिसरमा रहेको क्यासिनो सांग्रिलामा मलेसियाली कम्पनी गोल्ड सोर क्यापिटलको सतप्रतिशत (करिब ७० करोड रुपैयाँ) लगानी रहेको थियो । यो क्यासिनो सात वर्षदेखि सञ्चालनमा थियो । हाल ४ सय ३८ जना काम गरिरहेका थिए ।

मजदुर संगठनहरूको 'अनुशासनहीन व्यवहार तथा विकृति र विसंगति' बाट आजित मलेसियाली लगानीकर्ता डेनियल कङ क्यासिनो नै बन्द गर्ने निर्णयमा पुगेको स्रोतले जानकारी दियो । मलेसियाली कम्पनीले क्यासिनो औपचारिक रूपमा बन्द गरेको सूचना श्रम मन्त्रालय, विभाग र कार्यालयलाई दिने प्रक्रिया सुरु गरिसकेको छ ।

यसअघि साउन दोस्रो साता एमाले मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अन्तर्गत क्यासिनो सांग्रिलास्थित नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन इकाईले मुख्य लगानीकर्ता कङलाई इमेल गरी 'जे पनि हुन सक्ने' धम्की दिएको थियो ।

त्यसबेला ट्रान्सपोर्ट विभागका कर्मचारी नवराज कार्कीले क्यासिनो गाडीको पेट्रोल चोरी गरेको प्रमाणित भएपछि व्यवस्थापनले उनको वार्षिक पारिश्रमिक वृद्धि (ग्रेड) रोक्न आदेश दिएको थियो । त्यसैको विरुद्ध उत्रिएका कर्मचारी युनियनका अध्यक्ष दिनेश घिमिरेले कार्कीमािथ लागेको आरोप प्रमाणित गर्न चुनौती दिँदै लगानीकर्तालाई धम्की दिएका थिए ।

नेपालको राजनीतिक पार्टीहरूलाई दबाउन खोजे कुनै पनि समयमा जे पनि हुन सक्ने भन्दै युनियनका अध्यक्ष घिमिरेले क्यासिनोका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका मुख्य लगानीकर्ता कङलाई उनको नेपालभरिको लगानी प्रभावित हुने चेतावनी दिएका थिए ।

'त्यो धम्कीपछि लगानीकर्ता झन् बिच्किएका थिए,' स्रोतले भन्यो, 'जसले रोजगारी दियो, उसैलाई धम्की दिएपछि बिच्किनु स्वाभावविक हो ।' क्यासिनो बन्द गरेपछि व्यवस्थापनले सबै कर्मचारीलाई एक महिनाबराबरको पारिश्रमिकसहित कानुनअनुसार पाउनुपर्ने सबै रकम दिने जनाएको छ ।

'क्यासिनो सम्हालेदेखि नै कर्मचारीको दक्षता, भलाइ र असल व्यावसायिक अभ्यास गर्ने व्यवस्थापनको प्रयास त्यहाँको राजनीतिक दलका मजदुर संगठनका कारण सधैं अवरुद्ध हुँदै आयो,' क्यासिनोका मुख्य लगानीकर्ता तथा प्रमुख कार्यकारी अधिकृत कङले मलेसियाबाट व्यवस्थापनलाई पठाएको पत्र उल्लेख गर्दै स्रोतले भन्यो, 'नेपालमा व्यवस्थापन गर्न निकै समस्या भइरहेका बेला जारी भएको नयाँ क्यासिनो नियमावलीले रोयल्टी दोब्बर, लाइसेन्स शुल्क, खेलाडीलाई करजस्ता कारण व्यापार गर्न असम्भवै हुन पुग्यो र बन्दै गर्ने निर्णय ग¥यौं ।'

पत्रका अनुसार क्यासिनो बन्द गर्नेबाहेक कुनै पनि विकल्प नरहेको भए पनि सबै कर्मचारीलाई उचित व्यवस्था गरिने छ । अकस्मात बन्द गर्दा कर्मचारी र तिनका परिवारमा पर्ने समस्या सल्टाउन फाइदाजनक 'स्किम' प्रस्ताव गरिने छ । सबै कर्मचारीले कम्पनीको प्रस्ताव मान्ने विश्वास छ ।

व्यवस्थापनले क्यासिनो बन्द गरेपछि एमाओवादी, कांग्रेस, एमाले र वैद्य माओवादीका मजदुर संगठनले ताला फोरेर जबर्जस्ती क्यासिनो सञ्चालन गर्न खोजेका थिए । त्यसपछि व्यवस्थापनले 'डाइरेक्टरदेखि डोरम्यानसम्मको जागिर गएको' भनेपछि उनीहरू चुप लागे पनि प्रयास जारी राखेका छन् । 'मजदुरले ताला फोरेर जबर्जस्ती क्यासिनो चलाए भने उनीहरूले पाउनुपर्नेमध्ये एक पैसा पनि पाउँदैनन्,' स्रोतले भन्यो ।

व्यवस्थापनले श्रमे ऐनको दफा १२ को उपदफा ३ बमोजिम क्यासिनो बन्द गरेको हो । मलेसियाली लगानीकर्ताले सोमबारभित्र कर्मचारीको हरहिसाब चुक्ता गर्ने जानकारी गराए पनि यताको व्यवस्थापनले भने आइतबारै सबै व्यवस्था गर्न आग्रह गरेको छ ।

सरकारले जारी गरेको क्यासिनो नियमावलीअनुसार असोज ६ गतेभित्र मुलुकभरका सबै १० क्यासिनो प्रत्येकले रोयल्टी ४ करोड, बैंक ग्यारेन्टी २५ करोड, धरौटी ४ करोड, इजाजत दस्तुर २ करोड र निवदेन दस्तुर ५ लाख गरी एकमुष्ट ३५ करोड व्यवस्था गर्नुपथ्र्यो ।

'यति रकम जोहो गर्न सकेको भए क्यासिनो चलाउन सकिन्थ्यो र कात्तिक ७ गतेभित्र सरकारले इजाजत दिन्थ्यो, तर यत्रो हैसियत कुनै पनि क्यासिनोको छैन,' स्रोतले भन्यो, 'त्यही भएर सबै क्यासिनो गैरकानुनी रूपमा चलिरहेका छन् ।'

अन्य क्यासिनोको सरकारी बक्यौता करोडौं भए पनि सांग्रिलाको भने बाँकी थिएन । एकै पटक ठूलो परिमाणबराबरको रकम जोहो गर्नुपर्ने भएपछि क्यासिनोका लगानीकर्ताले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई गुहारेका थिए । क्यासिनो लगानीकर्ताहरूको संगठन क्यासिनो एसोसिएसन अफ नेपाल (क्यान) का अध्यक्ष किशोर सिल्वालसहितको टोलीले गत महिना रेग्मीलाई भेटेर ज्ञापनपत्र बुझाएको थियो ।

रकम व्यवस्था गर्न नसकेपछि पोखरास्थित पाँचतारे होटल पोखरा ग्रान्डमा रहेको क्यासिनो पोखरा ग्रान्ड बन्द भइसकेको छ । यो क्यासिनो नियमावली जारी भएकै दिनबाट बन्द भएको थियो । यसको पनि सरकारी बक्यौता थिएन ।

बाँकी आठ क्यासिनो क्यासिनो माजोङ (तत्कालीन क्यासिनो नेपाल), ¥याड, एभरेस्ट, तारा, भेनस, रोयल, फूलबारी र अन्नाले रोयल्टी, करलगायत गरी झन्डै ८० करोड रुपैयाँ सरकारलाई तिर्न बाँकी छ । पाँचतारे होटल सोल्टीस्थित क्यासिनो नेपाल (हाल नाम परिवर्तन भएर क्यासिनो माजोङ) ले मात्र १७ करोड रुपैयाँभन्दा बढी सरकारलाई चुक्ता गर्न बाँकी छ ।

Published on: 1 October 2013 | Nagarik

Back to list

;