s

'केयरगिभर'मा थप ५०० नेपाली लैजान इजरायलको प्रस्ताव

इजरायलले नेपालबाट थप पाँच सय दीर्घकालीन सहायक श्रमिक 'केयरगिभर' लैजान प्रस्ताव गरेको छ।

यस विषयमा छलफलका लागि काठमाडौंस्थित इजरायली दूतावासले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई बोलाएको मन्त्रालयले जनाएको छ। औपचारिक छलफल भने भइसकेको छैन।

इजरायलले नेपालबाट केयरगिभर लैजान २०७७ असोज १४ गते श्रम सम्झौता गरेको थियो। त्यसपछि यहाँबाट पहिलो चरणमा इजरायल पठाउनका लागि एक हजार १४७ जना श्रमिक छनोट गरिएको थियो। उनीहरू विभिन्न चरणमा इजरायल गइरहेका छन्।

इजरायलले म्यानपावर कम्पनी र बिचौलियारहित भर्ना प्रक्रियामार्फत नेपाली कामदार लैजान थालेको छ। सरकार सरकार (जिटुजी) प्रकृयामार्फत कामदार लैजान थालेको हो।

नेपालीहरू एकल ट्रान्जिट उडानमार्फत इजरायल पुग्छन्। त्यहाँ जाँदा लाग्ने शुल्क रोजगारदाताले नब्यहोरेको खण्डमा कामदार आफैंले ब्यहोर्नुपर्ने सम्झौतामा उल्लेख छ।

इजरायल जाने नेपालीले टिकट शुल्कबापत करिब ७० हजार रूपैयाँ तिर्नुपर्छ। भिसा शुल्क तीन हजार लाग्छ। भिसा अवधि पाँच वर्षको हुन्छ। कमाइ मासिक दुई लाख रूपैयाँ हाराहारी हुने उल्लेख छ।

केयरगिभरसँगै इजरायलले कृषि तथा निर्माण क्षेत्रमा पनि नेपाली कामदार लैजान चाहेको छ। यसका लागि छुट्टै सम्झौता गर्न इजरायल सरकार सकारात्मक रहेको मन्त्रालयले बताएको छ।

पहिलो चरणमा कृषि कामका लागि इजरायलले एक हजार नेपाली लैजाने अनौपचारिक कुराकानी भएको मन्त्रालयले बताएको छ।

विगतमा पनि नेपालीहरूलाई इजरायल रोजगारीमा पठाउन पटक–पटक प्रयास भएको थियो। चार वर्षअघि नै केयरगिभरमा पठाउन थालिएकोमा निरन्तरता पाउन सकेको थिएन।

त्यति बेला नमूना प्रोजेक्टका रूपमा तीन सय नेपाली पठाउने गरी इजरायलसँग सम्झौता गरिएको थियो। विभागको तथ्यांक हेर्दा करिब एक सय नेपाली मात्रै उक्त सम्झौताअन्तर्गत इजरायल पुगेको देखिन्छ।

Published on: 10 July 2023 | Setopati

Link

Back to list

;