s

‘केयरगिभर’ मा इजरायल जानेको परीक्षा भदौ अन्तिम साता

‘केयरगिभर’का लागि इजरायल जानेहरूको भाषा परीक्षा भदौ अन्तिम साता हुने भएको छ।

रोजगारीका लागि आवेदन दिई वैदेशिक रोजगार विभागबाट स्वीकृत भएकाहरूको  भदौ २८ गते अंग्रेजी भाषाको लिखित परीक्षा हुने वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बताए।

‘परीक्षा काठमाडौंका विभिन्न केन्द्रमा दिउँसो  १ बजेदेखि भौतिक उपस्थितिमा हुनेछ,’ उनले भने।

केन्द्रका सम्बन्धमा परीक्षार्थीहरूको प्रवेश-पत्र तथा विभागको वेवसाइट https://dofe.gov.np मार्फत जानकारी गराइने विभागले जानकारी दिएको छ। प्रवेश-पत्र अनलाइनमार्फत् उपलब्ध हुनेछ।

भाषा परीक्षा तोकिएका विज्ञ व्यक्तिको सहयोगमा गरिनेछ। भाषा परीक्षापछि परीक्षार्थीले प्राप्त गरेको अंक सम्बन्धित व्यक्तिको अनलाइन प्रोफाइलमा विज्ञले प्रविष्ट गरिदिने व्यवस्था छ।

सोही प्राप्तांकका आधारमा छनोट समितिले योग्यताक्रम कायम गरी इजरायलबाट प्राप्त मागअनुसारभन्दा २५ प्रतिशत बढी उम्मेद्वारको नामवाली तयार गर्ने विभागले जनाएको छ।

सो नामावली विभागले इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)

लाई पठाई सोको विवरण विभागको वेवसाइटमा प्रकाशन गर्नेछ। विभागले पठाएको सूचीबाट इजरायलको पिआइबीएले छनोट गर्नेछ।

पिआईबीएले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ। रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउने छन्। विभागले एक हजार चार सयको रोस्टर तयार गर्ने र त्यसबाट एक हजार कामदार इजरायलले छनोट गर्ने विभागले जनाएको छ।

इजरायलले नेपालीहरूलाई विश्वास गरेर छनोटको अधिकार दिएकाले चुस्त र पारदर्शी तरिकाबाट छनोट प्रक्रिया अगाडि बढाउनु आवश्यक रहेकाले त्यसमा विशेष ध्यान पुर्‍याइने विभागको भनाइ छ।

इजरायल जाँदा लाग्ने शुल्क रोजगारदाताले नव्यहोरेको खण्डमा कामदार स्वयंले व्यहोर्नु पर्ने उल्लेख गरिएको छ। भिसा, टिकटलगायत खर्च करिब एक लाख ६५ हजार लाग्ने अनुमान विभागको छ।

अहिले सरकारले पठाउन लागेका केयरगिभर घरका लागि नभएर संस्थाका लागि भएको विभागले बताएको छ। विभागकाअनुसार नर्सिङ होम तथा केयर होमलगायत संस्थामा उनीहरूले रोजगारी पाउने छन्। भिसा अवधि पाँच वर्षको रहेको छ। कमाई मासिक १६ सय अमेरिकी डलर हुने उल्लेख छ।

Published on: 31 August 2021 | Setopati

Link

Back to list

;