s

क्यानडामा नेपाली विद्यार्थीको अवसर र चुनौती

पछिल्लो समय नेपाली विद्यार्थीको अध्ययनको प्रमुख गन्तव्य क्यानडा भएको छ । उच्च शिक्षा अध्ययन गर्न नेपाली विद्यार्थी क्यानडा जाने संख्या बढ्दो छ । क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीको अध्ययनका लागि सजिलो भिसा नीति अंगीकार गरेको छ । त्यस्तै, अध्ययनपश्चात् निश्चित अवधिका लागि काम गर्न अनुमति दिने र उनीहरूको स्थायी बसोवासका लागि पनि अन्य विकसित देशका तुलनामा सजिलो प्रावधान निर्धारण गरेको छ ।

क्यानडाको संघीय सरकारले सन् २०२५ सम्म क्यानडाको श्रमबजारमा रहेको दक्ष कामदारको अभावलाई पूर्ति गर्न तथा क्यानडाको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने हेतुले वैधानिक रूपमा प्रत्येक वर्ष करिब पाँच लाख आप्रवासी भित्र्याउने नीति अंगीकार गरेको छ । साथै क्यानडालाई विद्यार्थीको आगमनबाट वैदेशिक आय प्राप्त हुने तथा तत्कालमा आफ्नो श्रमबजारमा रहेको कामदारको अभावलाई पनि परिपूर्ति गर्न सहयोग पुग्ने हुँदा क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीको आगमनलाई विशेष प्राथमिकता दिइरहेको छ ।

क्यानडाको सरकारी संघीय निकाय आप्रवासन, शरणार्थी र नागरिकता क्यानडाको तथ्यांकअनुसार एक सय ८४ देशबाट सन् २०१९ मा चार लाख ६ सय, सन् २०२० मा कोभिड महामारीका कारण अन्तर्राष्ट्रिय विद्यार्थीको आगमनलाई रोकिएकोबाहेक सन् २०२१ मा चार लाख ४४ हजार दुई सय ६० र सन् २०२२ मा आठ लाख सात हजार सात सय ५० अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनका लागि क्यानडामा अनुमति दिइएको छ । सन् २०२२ मा क्यानडामा अन्तर्राष्ट्रिय विद्यार्थी आगमन क्यानडाको इतिहासमा आफैँमा एउटा रेकर्ड भएको छ । सन् २०२३ अन्त्यसम्ममा योे संख्या अझै उल्लेख्य रूपमा बढ्नेमा कुनै शंका छैन ।

सन् २०२२ मा क्यानडाको अर्थतन्त्र विश्वको आठाैँ ठूलो अर्थतन्त्र भएको छ । यसको कुल गार्हस्थ्य उत्पादन २.२२१ ट्रिलियन अमेरिकी डलर रहेको छ । यो विश्वको सबैभन्दा ठूलो व्यापारिक राष्ट्रमध्ये एक हो, जसको अत्यधिक भूमण्डलीकृत अर्थव्यवस्था छ । रियल इस्टेट, विनिर्माण र खनिज उत्खनन क्यानडाको अर्थ–व्यवस्थाका प्रमुख चालक हुन् । यहाँको अर्थतन्त्र तीव्र रूपमा फस्टाउँदै पर्याप्त अवसर सिर्जना भएकाले पछिल्लो समय स्थायी बसोवास र सुखद भविष्यका लागि आप्रवासन खोज्नेका लागि क्यानडा प्रमुख रोजाइ भएको छ । यसरी हेर्दा क्यानडा अन्तर्राष्ट्रिय विद्यार्थीको उज्ज्वल भविष्यका लागि पनि सुवर्ण अवसर भएको देश हो ।

समग्रमा, अन्तर्राष्ट्रिय विद्यार्थीका लागि क्यानडामा अध्ययन एक सुवर्ण अवसर भए पनि वर्तमानमा उनीहरूका सामु चुनौती पनि उत्तिकै छन् । भाषा अवरोध, संस्कृतिको भिन्नता, आर्थिक बोझ, आवास र स्वास्थ्य सेवामा सहज पहुँचको कमी अन्तर्राष्ट्रिय विद्यार्थीले क्यानडा आउँदा सामना गर्नुपर्ने केही महत्वपूर्ण चुनौती हुन् ।

आधिकारिक रूपले पुष्टि नगरिए पनि पछिल्लो केही समयदेखि क्यानडाको अर्थतन्त्रमा मन्दी देखिएको छ । कुल गार्हस्थ्य उत्पादन घट्दो अवस्थामा छ । मुद्रास्फीतिको दर पनि करिब आठ प्रतिशतमा पुगेको छ । श्रमबजारमा रोजगारी उल्लेख्य रूपमा कटौती भइरहेको छ । बैंकको ब्याजदर क्यानडाको इतिहासमै उच्च दरमा पुगेको छ । ब्याजदर उच्च हुँदा घरजग्गाको किस्तामा अत्यधिक वृद्धि भएको छ । यसले क्यानडामा बसोवास गरिरहेका नागरिकको जीवनमा प्रतिकूल असर गरिरहेको छ । मानिसको खर्च गर्ने क्षमतामा ह्रास आउँदा व्यापारमा गिरावट भई रोजगारीको अवसरमा संकुचन आएको छ ।

हाल क्यानडाको सबैभन्दा बढी जनसंख्या भएको ओन्टारियो प्रदेशमा मन्दीको प्रभाव बढी देखिएको छ । तुलनात्मक रूपमा अन्य कम जनसंख्या भएका प्रदेशमा मन्दीको प्रभाव अलि कम छ । मन्दीले रोजगारीको अवसर कटौती हुँदा यसको प्रभाव क्यानडामा अवस्थित अन्तर्राष्ट्रिय विद्यार्थीमा पनि परेको छ । अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनका लागि आउने प्रदेशमा प्रायः ओन्टारियो, क्युबेक, ब्रिटिस कोलम्बिया, अलबर्टा र मानिटोवाहरू पर्छन् । क्यानडाको सबैभन्दा बढी जनसंख्या (करिब ४० प्रतिशत) भएको ओन्टारियो प्रदेशमा धेरै अन्तर्राष्ट्रिय विद्यार्थी (तथ्यांकअनुसार) अध्ययनका लागि आउने हुँदा यहाँका अन्तर्राष्ट्रिय विद्यार्थीमा मन्दीको प्रभाव अलि बढी देखिएको छ ।

अन्तर्राष्ट्रिय विद्यार्थीले भोग्नुपर्ने समस्या पहिलेदेखि नै थुप्रै थिए, त्यसमा पनि अहिले आएर उनीहरूले काम नपाउने समस्या प्रमुख बनेको छ । क्यानेडियन सरकारले विद्यार्थीलाई हप्तामा २० घन्टा काम गर्ने अनुमति दिएको छ । यसले उनीहरूलाई ग्रोसरी, कोठाभाडा तथा यातायातको शुल्क तिर्नका लागि मद्दत पुग्ने गर्छ । तर, कामको अवसर नपाउँदा हाल विद्यार्थीलाई यी न्यूनतम आधारभूत खर्च व्यवस्थापन गर्न अत्यन्तै धौधौ परेको अवस्था छ । नेपालबाट सधैँ पैसा मगाएर यी खर्च धान्न विद्यार्थीलाई गाह्रो छ, किनकि अपवादबाहेक प्रायः सबै अभिभावकले ऋणधन गरेर नै आफ्ना सन्ततिलाई वैदेशिक अध्ययनमा पठाएको स्थिति छ ।

पछिल्लो समय काम नपाएर बस्दा विद्यार्थीले ग्रोसरी, कोठाभाडालगायत न्यूनतम खर्च तिर्न नसक्दा उनीहरूको दैनिक जीवनयापनमा समस्या त आएकै छ, सँगसँगै आगामी दिनमा अध्ययनलाई कसरी निरन्तरता दिने भन्ने ठूलो चुनौती खडा भएको छ । फलस्वरूप अन्तर्राष्ट्रिय विद्यार्थीले हाल क्यानडामा मानसिक स्वास्थ्य समस्या सामना गरिरहेका छन् । सबैभन्दा बढ्दो चिन्ता कमजोर मानसिक स्वास्थ्यका कारणले उनीहरूको शैक्षिक सफलतामा पनि नकारात्मक असर गरिरहेको छ ।

हाल मानसिक स्वास्थ्यका कारण क्यानडामा कतिपय अन्तर्राष्ट्रिय विद्यार्थीले आत्महत्या गरेका घटना बहिर आएका छन् । अन्तर्राष्ट्रिय विद्यार्थीका समस्याबाट नेपाली विद्यार्थी पनि क्यानडामा अछुतो छैनन् । क्यानडामा अहिले भइरहेको विद्यार्थीको यस्तो अवस्थालाई उनीहरूका अभिभावकले नजिकबाट बुझ्नु जरुरी छ । अभिभावकले आफ्ना छोराछोरीलाई अध्ययनका लागि क्यानडामा पठाइसकेपछि उनीहरू कुन–कुन समस्यासँग जुधिरहेका छन् भन्नेबारे पर्याप्त जानकारी लिन जरुरी छ । साथै अहिलेको अप्ठ्यारो अवस्थामा आफ्ना छोराछोरीलाई कसरी मनोवैज्ञानिक तथा आर्थिक रूपले सहयोग गर्ने भन्नेमा निरन्तर चासो राख्ने आवश्यक छ । उनीहरूको मनोबल उच्च राख्ने वातावरण बनाउन जरुरी हुन्छ । आफ्ना छोराछोरीलाई क्यानडा पठाइसकेपछि मेरो दायित्व कम भयो, उनीहरूले आफैँ गरिहाल्छन् भनेर सोच्नुहुँदैन ।

अहिले श्रमबजारमा पर्याप्त कामको अभाव भएको हुँदा सबै विद्यार्थीले काम पाउन सक्ने अवस्था न्यून छ । त्यसैले अभिभावकले कम्तीमा पनि उनीहरूलाई ६ महिनासम्म ढुक्कसँग खान बस्ने व्यवस्था मिलाई उनीहरूको अध्ययनलाई अगाडि बढाउन सक्ने वातावरण बनाइदिनुपर्छ । अहिले क्यानडामा मुद्रास्फीति र बैंक ब्याजदर उच्चदरमा भएको हुँदा घरभाडा, खाद्यवस्तुलगायत अन्य आधारभूत सामग्री अत्यधिक महँगो भएको छ । बैंक ब्याजदर अत्यधिक बढेकाले घरधनीलाई पनि घरको बैंककिस्ता तिर्न अप्ठ्यारो परेको हुँदा घरभाडा पनि अत्यधिक वृद्धि भएको छ ।

प्रायः नेपाली विद्यार्थीले नेपालीकै घरमा भाडामा बस्न मनपराउने हुन्छन् । उनीहरूलाई घरधनीले केही हदसम्म सहुलियत दरमा कोठामा भाडामा दिएर सहयोग गर्दा ठूलो राहत हुने थियो । अहिले क्यानडामा घरधनीले विद्यार्थीसँग चर्को भाडा रकम असुलिरहेको भन्ने गुनासो आइरहेको छ । यस सम्बन्धमा कम्तीमा नेपाली घरधनीले विचार गरी सहयोगी भावना देखाउँदा क्यानडामा नेपाली समाजको विकासमा ठूलो योगदान पुग्ने थियो ।

क्यानडामा रहेको नेपाली उद्यमी तथा व्यवसायीले नेपाली विद्यार्थीलाई रोजगारीमा प्राथमिकता दिने वातावरण बनाउँदा यसले विद्यार्थीमा सकारात्मक सन्देश प्रवाह हुन्छ । क्यानडामा रहेका एनआरएनएलगायत नेपाली संघसंस्थाले आफ्नो संस्थामा हेल्प डेस्क तथा सूचना केन्द्रको स्थापना गरी नेपाली विद्यार्थीलाई परेका यावत् समस्यामा सहयोग गर्ने वातावरण बनाउन जरुरी छ । सकेसम्म यस्ता हेल्पडेस्क तथा सूचना केन्द्रमार्फत विद्यार्थीलाई रोजगारी प्रदान गर्ने एजेन्सीहरूसँग समन्वय गरिदिने, त्यसको सूचना प्रवाह गरिदिने, रोजगारमा संलग्न नेपालीले विद्यार्थीलाई आफूले काम गर्ने कार्यस्थलमा सिफारिस गरिदिने गर्दा यसले नवआगन्तुक विद्यार्थीलाई काम पाउन केही हदसम्म सहयोग पुग्ने थियो ।

स्वयं विद्यार्थीले पनि क्यानडामा अत्यधिक माग भएका कामजस्तो पेन्टिङ, हेयर कटिङ, ब्युटिपार्लर, नेलआर्ट, वेटर, पिज्जा बनाउने, फ्लोरिङ, पार्केटिङ, रुफिङ, कार्पेन्टर, प्लास्टरिङ, कुक हेल्पर, सामान्य इलेक्ट्रिसियन र प्लम्बिङको काम, टायर पञ्चरको काम, कारमा कालो सिसा वा स्टिकर लगाउने, डाटा इन्ट्री, सफ्टवेयर डेभलेपमेन्ट, वेल्डिङ, हेल्थ केयर टेकर, प्याकेजिङ, लेबलिङ, फुड डेलिभरी, सेक्युरिटी गार्डजस्ता कामको अनुभव लिएर आउँदा यहाँ काम पाउन सजिलो हुन्छ । कतिपय प्राविधिक काम सिकेर सीप विकास केन्द्रबाट त्यसलाई प्रमाणित गरी प्रमाण पत्र ल्याउँदा अझ राम्रो हुन सक्छ । नेपाली विद्यार्थीले अंग्रेजी भाषामा दख्खल हासिल गरी इन्टरपर्सनल तथा कम्युनिकेसन सीप बढाउँदा उनीहरूको आत्मविश्वास उच्च भई क्यानेडियन श्रमबजारमा काम पाउन निकै फलदायी हुन्छ ।

हालको समयमा क्यानडामा अध्ययनका लागि आउने नेपाली विद्यार्थीले क्यानडा सोचेजति सजिलो छैन, तर विद्यार्थीका लागि यो देश अवसरै अवसरले भरिएको छ भनेर सकारात्मक सोच लिएर आउँदा अहिलेको विषम परिस्थितिमा विद्यार्थीलाई काम र अवसरको खोजीमा मिहिनेत र संघर्ष गर्न थप टेवा पुग्नेछ । यसका लागि विद्यार्थी क्यानडामा स्थापित भएका आफूभन्दा अग्रजहरूसँग बढीभन्दा बढी सम्पर्कमा रहनुपर्छ ।

विद्यार्थीहरू पनि हरेस नखाई लगातार हरेक माध्यमबाट कामको खोजीमा निरन्तर लाग्नुपर्छ, जसले उनीहरूलाई अवश्य पनि कामको अवसर सिर्जना गर्नेछ ।

अहिले सेप्टेम्बर इनटेकमा करिब पाँच हजार नेपाली विद्यार्थी क्यानडा अध्ययनका लागि आउन लागेको जानकारी प्राप्त भएको छ । नवआगन्तुक नेपाली विद्यार्थीलाई क्यानडामा स्थापित संघसंस्था तथा व्यक्तिले आ–आफ्नो तवरबाट कुनै न कुनै रूपमा सहयोग गर्ने वातावरण बनाउन जरुरी छ । नवआगन्तुक विद्यार्थीको व्यवस्थापनमा सानो मात्र पनि योगदान पुर्‍याउन सक्दा क्यानेडियन नेपाली समाजको विकास र आगामी दिनमा नेपालको सामाजिक तथा आर्थिक समृद्धिमा पनि टेवा पुर्‍याउन सकिन्छ ।

Published on: 17 August 2023 | Naya Patrika

Link

Back to list

;