s

क्यानडा र बेलायत पठाइदिने प्रलोभनमा ठगी गर्ने दुई पक्राउ

वैदेशिक रोजगारमा क्यानडा र बेलायत पठाइदिने प्रलोभनमा ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका– २ का ३८ वर्षीय वकिलबहादुर आले र तनहुँको ऋषिङ गाउँपालिका– ८ का ३४ वर्षीय धर्मेन्द्र श्रेष्ठ छन् । उनीहरूलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये आले राजन सुनारसहित ६ जनाबाट ३६ लाख रुपैयाँ असुल गरी फरार भएका थिए । क्यानडामा प्रतिमहिना तलब एक लाख ८० हजार हुने प्रलोभनमा उनले पीडितसँग रकम असुलेका थिए । उनले पीडितसँग प्रतिव्यक्ति १७ लाख रुपैयाँ असुल्ने योजना बनाएको प्रहरीले जनाएको छ ।

त्यस्तै, श्रेष्ठले सुविना केसीसहित दुईजनासँग नौ लाख ५० हजार रुपैयाँ असुलेका थिए । बेलायतमा आकर्षक कमाइ हुने प्रलोभनमा उनी रकम असुलेर फरार भएका थिए । प्रहरीका अनुसार उनीहरूले अन्य व्यक्तिलाई पनि ठगी गरेको र उनीहरूविरुद्ध जाहेरी संकलन हुने क्रम अघि बढेको छ ।

Published on: 9 May 2024 | Naya Patrika

Link

Back to list

;