s

क्यानडा पठाउने भन्दै कन्सल्टेन्सी खोलेर १८ करोडभन्दा बढी ठगी

क्यानडाको हाईमिशन नयाँदिल्ली नामबाट नक्कली भीषा बनाइ एक गिरोहले नेपाली युवाहरुको १८ करोड रुपैयाँ बराबर ठगी गरेको छ । राजधानीको मित्रपार्कस्थित स्टनिड एजुकेसन इन्फरमेसन सेन्टर प्रा.लि.ले वैदेशिक रोजगारीका लागि क्यानडा पठाउने नाममा ठगी गरेको भन्दै पीडित युवाहरु अहिले वैदेशिक रोजगार विभाग बुद्धनगर र महानगरीय प्रहरी वृत्त गौशालामा न्यायको खोजी गर्दै उजुरी लिएर भौतारिइरहेका छन् ।
 
क्यानडा पठाउने नाममा उक्त कन्सटेन्सीका सञ्चालक विजयकुमार गुप्ता, चन्दन गुप्ता, प्रमोदकुमार साह, जुलीकुमारी साह लगायतको गिरोहले भारत नयाँ दिल्लीस्थित क्यानेडियन हाइमिशनको नक्कली लेटर प्याड र भीषा प्रयोग गरी ठगी गरेको पीडितहरुको भनाइ छ ।
 
क्यानडा पठाउने भन्दै भारत लगेर  ६ महिना २४ दिन बन्धक जस्तै बनाइ राखिएको अवस्थामा उम्केर  नेपाल आएका  केदार चौलागाई पीडित मध्येका एक हुन् । उनका अनुसार सबै क्यानडा जाने नाममा ठगिएकाहरुको रकम जोड्दा १८ देखि २० करोड रुपैयाँ पुग्छ । घटना डेढ वर्ष अघिदेखिको हो । त्यसमध्ये एकजना ठगी मुद्दाको पुर्पक्षका लागि कारागारमा रहेका छन् भने अन्य फरार रहेका छन् । कन्सल्टेन्सीको साइनवार्ड अहिले पनि मित्रपार्कमा देख्न सकिन्छ ।
 
अहिले पनि दैनिक रुपमा कम्तिमा एक जना पीडित उजुरी लिएर गौशाला प्रहरीमा आउने गरेको छ । बुधबार विभागमा भेटिएका चौलागाईले आफू नेपाल आएपछि मोहन बस्नेत भन्ने अर्का युवालाई नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको बताए । पीडितमध्ये ३ जना थाईल्याण्डको बैंककबाट फर्किएका छन् । फरार व्यक्तिहरुले नेपाली टेलिफोन नै प्रयोग गरेको भन्दै पीडितहरुले प्रहरीले चाहेमा उनीहरु पक्राउ गर्न सक्ने तर प्रहरीले सक्रियता नदेखाएको गुनासो गरे ।
 
रोजगारी वा विद्यार्थी भीषामा क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने यो पहिलो घटना भने होइन । विगतमा पनि भूकम्प पीडित भए पठाउन सजिलो हुने र त्यसको सम्पूर्ण कागजात आफै तयार गरीदिने भन्दै ठगी हुने गरेको थियो । यस घटनामा समयमा भीषा र अफर लेटर नआएपछि रकम फिर्ता गरिदिने भन्दै युवाहरुबाट रकम उठाएको गिरोहले हाल युवाहरुको रकम फिर्ता त परको कुरा उनीहरुको सक्कली राहदानी र शैक्षिक प्रमाणपत्र समेत गायब बनाइ पीडामाथि पीडा  थपेको पीडितहरु बताउँछन् ।
 
नेपालमा अमेरिका, क्यानडा वा यूरोपको आकर्षक रोजगारीको सपना देखाई युवाहरुलाई ठगेका घटना पटक–पटक सार्वजनिक भएका छन् । शिक्षा मन्त्रालयले यस्ता कन्सलटेन्सीका सञ्चालकलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि प्रहरीमा पत्राचार गर्ने गरेको पनि छ । तर ठगीका घटनामा कमी आउन सकेको छैन । त्यसका पछाडि आफ्नै देशमा पसिना बगाउन लाज मान्ने तर जसरी पनि विदेशिने युवाहरुको एकोहोरो हुटहुटी पनि यस्तो ठगीमा कारक बनेको कतिपयको भनाइ छ ।
 
Published on: 19 January 2018 | Madhyanha

Back to list

;