s

क्यानाडा पठाउने भन्दै २४ लाख ठगी

देवनारायण साह

वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिने भन्दै यहाँका एक व्यक्तिले २४ लाख रुपैयाँ ठगी गरेका छन् । धनपालथान ३, मायागन्जका राजन राजवंशीले ६ युवासँग ४/४ लाखको दरले २४ लाख ठगेका हुन् । ठगीमा परेका युवाले श्रम तथा रोजगार कार्यालय विराटनगरमा बिहीबार उजुरी दिएका छन् । 

सुनवर्षी नगरपालिका ३ का राजुश राजवंशी, पुष्पकुमार राजवंशी, श्रवण राजवंशी, वडा ९ का लक्ष्मण सहनी, दयानन्द सहनी र कटहरी गाउँपालिका २ का अशोककुमार राजवंशी ठगीमा परेका हुन् । उनीहरूमध्ये अधिकांशले स्थानीय साहुलाई जग्गा रजिस्ट्रेसन गरेर सयकडा ४ रुपैयाँको दरमा ऋण लिई रकम बुझाएको बताए ।
 
पीडित पुष्पकुमारले फ्रुट प्याकिङको काममा मासिक २ लाख तलबमा क्यानाडा पठाइदिने भन्दै राजनले सुरुमा डेढ लाख रुपैयाँ लिएको बताए । 'सुरुमा सहारा नेपालबाट १ लाख र फर्वार्ड लघु वित्तबाट ५० हजार गरी डेढ लाख लिएर दिएँ,' उनले भने, 'फर्जी भिसा देखाएर बाँकी अढाई लाख मागेपछि गाउँकै साहुलाई जग्गा रजिस्ट्रेसन गरी सयकडा ४ रुपैयाँको दरमा ऋण लिएर बुझाएँ ।'
 
आफूहरू ६ जनालाई नक्कली भिसा र टिकट दिएर भारतको दिल्ली लगी २ हप्तापछि फर्काइदिएको पुष्पले बताए । 'दिल्लीमा टिकट ओके नभएको भन्दै फर्काइदियो,' उनले भने, 'त्यसपछि आजभोलि भन्दै केही दिनदेखि सम्पर्कविहीन भएकाले श्रम कार्यालयमा उजुरी गरेको छु ।'
 
अर्का पीडित अशोकले आफू सुकुम्बासी भएकाले जेठी सासूआमाको जग्गा रजिस्ट्रेसन गराएर साहुसँग सयकडा ४ रुपैयाँ ब्याजमा ऋण लिई राजनलाई बुझाएको सुनाए । 'दिनभरि ज्याला मजदुरी गरेर छाक टार्ने गरेको अवस्थामा ऋण कसरी तिर्ने ?' उनले भने, 'क्यानाडामा धेरै पैसा कमाएर परिवारलाई सुखसँग पाल्ने सपना देखाएर राजनले मर्नु न बाँच्नुको बनाइदिएको छ ।'
 
श्रम तथा रोजगार कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले वैदेशिक रोजगारीमा क्यानाडा पठाइदिने नाममा ठगी भएको ४ वटा उजुरी आएको बताए । राजन राजवंशी, विनोद ठाकुरलगायत ५ जनाले सुनसरीको झुम्काका योगनारायण चौधरीलगायत ६ जनाबाट ३७ लाख रुपैयाँ ठगी गरेकोमध्ये विनोदबाट ७ लाख ६७ हजार रुपैयाँ भुक्तानी गराएको उनले जानकारी दिए ।
 
सञ्जेलका अनुसार क्यानाडा पठाइदिने भन्दै ठगी घटनाको मुख्य योजनाकार झापाको गौरादह ४ का दीपेन्द्र झा, गणेशप्रसाद गिरी र नेपालगन्ज घर भई हाल दिल्लीमा बस्दै आएका निरञ्जन पुरी रहेको अहिलेसम्मको घटनाहरूले देखाएको छ । उनीहरूलाई पक्राउ गर्न प्रहरीमा पत्राचार गरिसकिएको सञ्जेलले बताए ।
 
Published on: 19 April 2019 | Kantipur

Back to list

;