s

कल सेन्टरमा उजुरीपछि ‘स्टिङ अप्रेसन’

गोरखापत्र समाचारदाता 

काठमाडौँ, माघ १९ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालनमा ल्याएको ‘कल सेन्टर’मा परेको ठगीको उजुरीका आधारमा मार्सल टोलीले ‘स्टिङ अप्रेसन’ सुरु गरेको छ । वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका सेवाग्राहीको गुनासो र उजुरीका आधारमा श्रम मन्त्रालयका उपसचिव विष्णु लामिछाने नेतृत्वको मार्सल टोलीले सोमबार साँझदेखि ठगी गर्ने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमा स्टिङ अप्रेसन सुरु गरेको हो । 

उपसचिव लामिछानेले सोमबार साँझ काठमाडौँको सिनामङ्गलमा रहेको मिनवा म्यानपावरले श्रमिकसँग सरकारले तोकेभन्दा बढी पैसा लिएको उजुरीका आधारमा उक्त म्यानपावरका कागजातलगायत सञ्चालक हेमराज राइसहितका तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाइएको जानकारी दिनुभयो । वैदेशिक रोजगारीका क्रममा ठगी गर्नेलाई कारबाही गर्ने कानुनी अधिकार विभागलाई मात्रै भएकाले उक्त म्यानपावरका सबै गतिविधि अध्ययन अनुसन्धान गरेर विभागले कारबाही गर्ने उहाँको भनाइ छ । 

वैदेशिक रोजगारीमा कतार जाने तयारीमा रहेका अलि मुस्तफासँग एक लाख २० हजार रुपियाँ लिँदै गरेको अवस्थामा म्यानपावर सञ्चालक राई, म्यानपावरका कर्मचारी साहरा थापा तथा एजेन्ट महोम्मद इसाक मियाँलाई रकमसहित पक्राउ गरी विभागमा पठाइएको मार्सल टोलीका संयोजक लामिछानेले जानकारी दिनुभयो । मन्त्रालयमा आइतबारदेखि सञ्चालनमा आएको कलसेन्टरमा सरकारले तोकेभन्दा धेरै रकम लिने म्यानपावरका प्रमाणसहितका उजुरी आएमा म्यानपावरमा तत्कालै स्टिङ अप्रेसन गरिने पनि उहाँले जानकारी दिनुभयो । संयोजक लामिछानेले भन्नुभयो, मौखिक उजुरी मात्रै आएर हुँदैन, प्रमाण पु¥याएर उजुरी आएमा मार्सल टोली तुरुन्तै स्टिङ अप्रेसनमा जान्छ । ’

कलसेन्टरमा तीन सय उजुरी

उपसचिव विष्णु लामिछाने आइतबारदेखि सञ्चालनमा भएको कलसेन्टरमा दैनिक करिब तीन सयको उजुरी आएको बताउनुभयो । उहाँका अनुसार धेरैजसो उजुरी भ्रमण भिसामा विदेश गएर अलपत्र परेकाहरूका छन् । त्यसपछि वैदेशिक रोजगारीका क्रममा बढी पैसा लिने, विदेश पठाउने भनेर पैसा खाएर भागेका लगायतका उजुरी आएका छन् ।

कलसेन्टरमा आएका उजुरीमध्ये आधा जति मुद्दा प्रक्रियामा जाने खालका छन् भने आधा वैदेशिक रोजगार विभागबाट टुङ्ग्याउन सकिने खालका भएको कलसेन्टरका समेत संयोजक लामिछानेले बताउनुभयो ।

मार्सल टोलीमा नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रतिनिधि, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको समेत संग्लनता भएकाले कलसेन्टरमा आएका उजुरीको सकेसम्म छिटो र छरितो माध्यमबाट समाधान खोज्ने काम भइरहेको उहाँको भनाइ छ ।

Published on: 2 February 2022 | gorkhapatra

Link

Back to list

;