s

कल सेन्टर अब श्रम सहायता केन्द्र

काठमाडौँ, माघ १८ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले मन्त्रालयमा रहेको कल सेन्टरलाई चौबीस घण्टे श्रम सहायता केन्द्रका रूपमा रूपान्तरण गर्ने अभियान मङ्गलबारबाटै सुरु भएको जानकारी दिनुभएको छ । मन्त्रालयमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले कल सेन्टरलाई देशभित्र र देशबाहिर रहेका श्रमिकसँग सम्बन्धित सम्पूर्ण समस्या एकद्वार प्रणालीबाट रूपान्तरण गर्ने अभियान सुरु गरेको जानकारी दिनुभएको हो ।

आगामी छ महिनाभित्र श्रम मन्त्रालय र मातहतका विभाग कार्यालयमा श्रमसँग सम्बन्धित सम्पूर्ण समस्या समाधानका लागि मोबाइल एप सञ्चालनमा ल्याइने र टाइमकार्ड लागू गरी हरेक समस्याको समाधान खोजिने पनि उहाँले जानकारी दिनुभयो ।

मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जाने प्रक्रियामा सेवाग्राहीले महसुस गर्ने गरी श्रमस्वीकृतिदेखि अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षसम्म सकेसम्म सहज गरिने जानकारी दिनुभयो । वैदेशिक रोजगारीमा जाने नेपालीलाई छुट्टै डेक्स रहेकामा श्रम मन्त्रालयको अनुरोधपछि हटाइएको पनि उहाँले जानकारी दिनुभयो । “यो हटाएसँगै श्रमस्वीकृति लिएर विदेश जाने युवा छुट्टै लाइनमा बस्नुपर्दैन । उहाँहरू पनि अन्यसरह एउटै लाइनमा बसेर जान पाउनुहुन्छ । उहाँहरूले आत्मसम्मान भएको महसुस गर्नुहुनेछ,” उहाँले भन्नुभयो ।

बाध्यात्मक रूपमा वैदेशिक रोजगारीमा जानुपर्ने अहिलेको बाध्यतालाई अन्त्य गर्ने अभियान सुरु गर्ने मन्त्री अर्यालले बताउनुभयो । “यो कार्य भनेजस्तो सजिलो छैन तर असम्भव पनि होइन,” उहाँले भन्नुभयो, “स्वदेशकै रोजगारीमा आकर्षण गर्न कार्यक्रम सञ्चालन गरी केही वर्षभित्र बाध्यात्मक रूपमा विदेश श्रम बेच्न जाने

अवस्थाको अन्त्य गर्छौं ।” अन्य मन्त्रालसँग पनि समन्वय गरेर यो कार्यक्रमअघि बढाइने उहाँले जानकारी दिनुभयो ।

Published on: 1 February 2023 | Gorkhapatra

Link

Back to list

;