s

व्यापार घाटाभन्दा साढे १६ अर्ब बढी भित्रियो रेमिट्यान्स

आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्समा उच्च वृद्धि भएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको वित्तीय स्थितिअनुसार रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले वृद्धि भई ९२ अर्ब ७१ करोड पुगेको छ।

साउन महिनामा भित्रिएको रेमिट्यान्स सोही अवधिमा मुलुककाे ब्यापार घाटाभन्दा १६ अर्ब ५२ करोड बढी हो। भित्रिएको रेमिट्यान्स कुल आयात बस्तुको मूल्यभन्दा ६ अर्ब ९० करोड बढी हो।

रेमिट्यान्समा साउनमा उल्लेख्य वृद्धि देखिनुमा ४/५ वटा कारण रहेको बताउँछन् राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट।पछिल्लो समय विश्वव्यापी रुपमै रेमिट्यान्सको अवस्था सुधार हुँदै गएको र त्यसको प्रभाव नेपालमा पनि परेको उनले बताए।

रेमिट्यान्स आउने मुख्य देशहरुमा निर्माण क्षेत्र चलायमान हुँदै जान थालेको र त्यसले रेमिट्यान्समा प्रभाव पार्नु अर्को कारण रहेको उनले औंल्याए।

‘त्यति मात्रै होइन, औपचारिक माध्यमबाट आउने रकमको प्रवाह बढ्दा पनि रेमिट्यान्समा सकारात्मक प्रभाव देखिएको हो, बैंकिङ प्रणालीबाट आउने रेमिट्यान्स बढेको छ’ भट्टले भने।

चैत, वैशाखतिर रोकिएको रेमिट्यान्स साउनमा थपिँदा पनि त्यसको असर अहिले देखिएको उनले बताए।

विदेशमा रोकिएकाहरु साउनमा फर्केर आउँदा पनि रेमिट्यान्स ल्याएकाले त्यसको पनि केही असर देखिएको उनले बताए।

चालु आर्थिक वर्षको पहिलो महिनामा व्यापार घाटा ७६ अर्ब १९ करोड रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा ब्यापार घाटा घाटा २२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १३.९ प्रतिशतले ह्रास आएको थियो। यस महिनामा कुल वस्तु आयात १९.६ प्रतिशतले घटेर ८५ अर्ब ८१ करोड कायम भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ११.५ प्रतिशतले घटेको थियो। वस्तुगत आधारमा चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, कोइला, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, एम.एस. बिलेट, हटरोल सीट लगायतका वस्तुको आयात घटेको छ।

कुल वस्तु निर्यात ८.९ प्रतिशतले वृद्धि भइ ९ अर्ब ६२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २७.७ प्रतिशतले वृद्धि भएको थियो।

वस्तुगत आधारमा पश्मिना, ऊनी गलैंचा, आयुर्वेदिक औषधि, जडिबुटी, जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जुस, अलैंची, पोलिस्टर यार्न तथा अन्य धागो, जस्तापाता लगायतका वस्तुको निर्यात घटेको छ।

कोरोना नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण आयात खुम्चिएको राष्ट्र बैंकले औंल्याएको छ।

शोधनान्तर स्थिति र चालु खाता बचत

रेमिट्यान्समा उच्च वृद्धि भई व्यापार घाटामा कमी आउँदा मुलुकको भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) ५१ अर्ब ४६ करोडले बचतमा रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६ अर्ब ५ करोडले बचतमा थियो। मुलुकबाट बाहिरिने र भित्रिने रकमको अन्तरलाई शोधनान्तर स्थितिले जनाउँछ।

समीक्षा अवधिमा चालु खाता २५ अर्ब ४१ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ९ अर्ब ३४ करोडले घाटामा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको पहिलो महिनामा ८ करोड ३८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २१ करोड २१ लाखले बचतमा रहेको छ।

Published on: 26 September 2020 | Setopati

Link

Back to list

;