s

व्यापार घाटाभन्दा रेमिट्यान्स धेरै

काठमाडौँ- मुलुकले बेहोर्दै आएको व्यापार घाटालाई रेमिट्यान्सले पूर्ति गर्न थालेको राष्ट्र बैंकद्वारा जारी पछिल्लो विवरणले देखाएको छ ।
 
चालू आर्थिक वर्षको ९ महिने मुलुकको आर्थिक विवरणअनुसार यस अवधिमा ४ खर्ब ८१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यस अवधिमा वस्तु व्यापार घाटा भने ४ खर्ब ७० अर्ब रुपैयाँ छ । यी दुई तथ्यांक हेर्दा रहेक दिन वस्तु आयातमा १ अर्ब ७४ करोड घाटा भइरहेकामा रेमिट्यान्स आप्रवाह १ अर्ब ७८ करोड रुपैयाँ छ ।
 
भारतीय नाकाबन्दी पछि रेमिट्यान्स व्यापार घाटाभन्दा बढी हुन थालेको छ । ९ महिनाको अवधिमा रेमिट्यान्स आप्रवाह गत वर्षको यसै अवधिभन्दा करिब ७ प्रतिशतले बढेको छ ।
 
यस अवधिमा व्यापार घाटा ८ दशमलव २ प्रतिशतले घटेकाले रेमिट्यान्सले व्यापार घाटा उछिनेको छ । यसले मुलुकको अन्तर्राष्ट्रिय व्यापारमा सामान्य सुधार भएको देखाएको छ ।
 
गत चैतसम्म ५ खर्ब १९ अर्ब रुपैयाँ बराबारको आयात भएको छ । अघिल्लो वर्षको उक्त अवधिको तुलनामा यो ९ दशमलव ९ प्रतिशतले कम हो ।
 
उक्त अवधिमा ४९ अर्ब २४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । यो गत वर्षको भन्दा २३ प्रतिशत कम हो । यस अवधिमा भारत तर्फको निर्यात ३३ दशमलव ४, चीनतर्फको ४१ दशमलव ३ र अन्य मुलुकतर्फको १ दशलमव ५ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
 
व्यापार घाटामा आएको कमी र चालू खाता सकारात्मक भएकाले शोधनान्तर अवस्था पनि सन्तोषजनक देखिएको छ ।
नौ महिनामा शोधनान्तर बचत १ खर्ब ३३ अर्ब रुपैयाँले बचतमा छ । शोधनान्तर भनेको देश भित्रिने र बाहिरिने रकम बीचको फरक हो ।
अघिल्लो वर्षको उक्त अवधिमा यो २१ अर्ब ६८ करोडले बचतमा थियो । यसले विदेशी विनिमयको सञ्चितिलाई पनि बढाइदिएको छ । गत असारको तुलनामा चैतसम्म विदेशी विनिमय सञ्चिति २२ दशमलव ३ प्रतिशतले बढेर ८ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ ।
 
चालू आर्थिक वर्षको नौ महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप करिब १२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ९ दशलमव ६ प्रतिशतले बढेको थियो ।
 
उक्त अवधिमा वाणिज्य बैंकको निक्षेप ११ दशमलव ८ प्रतिशत, विकास बैंकको ७ दशमलव ६ प्रतिशतले र वित्त कम्पनीको २ दशमलव ८ प्रतिशतले बढेको छ । यस्तै बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४ दशलमव ४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १४ दशमलव ६ प्रतिशतले बढेको थियो ।
 
०७२ चैतमा वाणिज्य बैंकहरूको कर्जा र निक्षेप बीचको औसत ब्याजदर अन्तर (स्प्रेड) ४ दशलमव ७९ प्रतिशत छ ।
 
अघिल्लो वर्षको सोही अवधिमा यस्तो ब्याजदर अन्तर ४ दशमलव ३९ प्रतिशत थियो । केन्द्रीय बैंकको निर्देशनअनुसार यो दर ५ प्रतिशतभन्दा बढी हुनु हुँदैन । यस्तै वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर (बेस रेट) ६ दशमलव ३२ प्रतिशत छ ।
अघिल्लो वर्ष यस्तो दर ७ दशमलव ६८ प्रतिशत थियो । आर्थिक वर्ष ०७२/७३ को नौ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्र सँगको विदेशी विनिमय सञ्चितिले १७ महिना ८ दिन वस्तु आयात र १५ महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकले बताएको छ ।
मूल्य वृद्धिदर ९.३ प्रतिशत
 
राष्ट्र बैंकका अनुसार गत चैतमा बजार भाउ गत वर्षको भन्दा ९ दशमलव ७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो ६ दशमलव ९ प्रतिशत थियो । भारतको अघोषित नाकाबन्दीपछि यस वर्ष बजार भाउ अकासिएको हो । नाकाबन्दीको समयमा १२ प्रतिशत नाघेको मुद्रास्फीतिदर चैतमा केही तल झरेको छ ।
 
गत पुसमा १२ दशमलव २ प्रतिशत भएको मूल्य वृद्धिदर माघमा ११ दशमलव ९ प्रतिशत, फागुनमा १० दशमलव २ प्रतिशत हुँदै चैतमा एकल अंकमा झरेको छ ।
 
दक्षिणी सीमाका भन्सार नाकाहरूको अवरोध सहज हुँदै गएपछि इन्धनलगायत उपभोग्य वस्तुहरूको आपूर्ति सामान्यीकरण भएकाले मूल्य वृद्धिदर घट्दै गएको राष्ट्र बैंकले दाबी गरेको छ । क्षेत्रगत आधारमा काठमाडौं उपत्यकामा मूल्य वृद्धिदर सबैभन्दा धेरै ११ दशमलव ७ प्रतिशत छ ।
 
यस्तै पहाडमा १० प्रतिशत, तराईमा ८ दशमलव ३ प्रतिशत र हिमालमा ८ प्रतिशत भएको राष्ट्र बैंकको प्रतिवेदनमा छ ।
 
Published on: 18 May 2016 | Kantipur

Back to list

;