s

व्यक्तिगत श्रम स्वीकृति बनाएर इराकमा मानव तस्करी

व्यक्तिगत श्रम स्वीकृतिमा महिलाहरूलाई संयुक्त अरब इमिरेट्स (युएई) पुर्‍याई त्यहाँबाट इराकमा मानव तस्करी हुन थालेको छ । इराक पुर्‍याएर अनैतिक कामका लागि बिक्री हुने गरेको प्रहरीको एक अनुसन्धानले देखाएको छ ।

यसरी युएई हुँदै इराक पुर्‍याउने मानव तस्करी गिरोहका सदस्य मिक्मा छिरी तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनीलगायतका व्यक्तिले सिन्धुपाल्चोकका दुई महिलालाई गत असारमा इराक लगेर बिक्री गरेका थिए । मानव तस्करी गिरोहले नै उनीहरूको युएईको व्यक्तिगत श्रम स्वीकृति मिलाएर त्यहाँ पुर्‍याएका थिए ।

भिजिट भिसामा लैजान गाह्रो हुने भएपछि यसरी व्यक्तिगत श्रम स्वीकृति निकालेर युएईसम्म लगेको हुन सक्ने मानव बेचबिखन अनुसन्धान ब्युरोका निर्देशक एसएसपी जीवनकुमार श्रेष्ठले बताए । ‘मानव तस्करीमा यो नयाँ शैली देखियो,’ उनले भने, ‘गिरोहका एक सदस्यलाई पक्राउ गरेका छौँ, अन्य तीनजना फरार छन् ।’ दुई पीडितको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान पूरा गरी सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

आफन्तबाटै बिक्री, फिरौती बुझाएपछि रिहा

गत वैशाखमा गाउँमै भएको एक कुलपूजामा पीडितहरूको इराकमा बस्ने दिदी नाता पर्ने महिलासँग चिनजान भएको थियो । ती महिलाले विदेश जाने हो भने आफूले काम गर्ने सहर कुर्तिस्तानमा लैजान सक्ने र खर्च नलाग्ने बताइन् । कमजोर आर्थिक भएका उनीहरू विश्वासमा परे । चप्पल कारखानामा जागिर लगाइदिने र मासिक करिब ६० हजार आम्दानी हुने आश्वासन दिइएको थियो । ती महिलाको नम्बर लिएर उनीहरू पासपोर्ट बनाउनतर्फ लागे ।

महिलाले नेपालमा मिक्मालगायतको नम्बर दिएकी थिइन् । उनै मिक्मालाई लगेर पासपोर्ट बुझाएका थिए । उनले युएईको वर्किङ भिसा मिलाइदिए । एकको क्लिनिङ कम्पनी तथा अर्काे सुपरमार्केट कम्पनीको नाममा श्रम स्वीकृति पाएका थिए । कम्पनीले पठाएको व्यक्तिगत श्रम स्वीकृतिको कागजपत्रमाथि छानबिन भएको छैन । तर, त्यही आधारमा श्रम कार्यालयले व्यक्तिगत श्रम स्वीकृति बनाइदिएको थियो ।

गत ५ असारमा उनीहरू दुबई पुगे । त्यहाँ एक साता राखेपछि उनीहरूलाई भिजिट भिसामा इराकको सुलेमानिह क्षेत्रमा पुर्‍याइएको थियो, जहाँ गाउँकी चिनेकी दिदीले उनीहरूलाई लिन आइन् । ती महिलाले दुवैलाई एक घरमा लगेर राखिन् । केही दिनपछि उनीहरूलाई लिन केही व्यक्ति आए । गलत कामका लागि पठाउन लागिएको भन्दै त्यहाँ रहेका अन्य महिलाले उनीहरूलाई नजान भने । जसकारण उनीहरू गएनन् । बरु नेपाल फर्काइदिन भने । त्यसपछि उनीहरूमाथि यातना सुरु भएको थियो । त्यहाँका एजेन्टले ९१ सय डलरमा किनेकाले त्यो पैसा दिएपछि मात्र नेपाल फिर्ता पठाइदिने बताए । उनीहरूले आफूहरूलाई उद्धार गरिदिन परिवार र सरकारसँग हारगुहार गरे । परिवारले पैसा पठाएपछि उनीहरूलाई मुक्त गरिएको छ ।

प्रहरीले नेपाली दूतावास र गैरआवासीय नेपाली संघ, इरानको सहयोगमा उनीहरूको उद्धार गरेको थियो । २९ असारमा नेपाल आएपछि उनीहरूले आफूलाई त्यसरी झुक्याएर इराक पुर्‍याई बिक्री गर्नेविरुद्ध उजुरी दिएका हुन् । यसरी अरू धेरै महिला इराक पुगेको सूचना प्रहरीले पाएको छ । गिरोहका एजेन्ट युएई तथा इराकमा समेत रहेको उनीहरूको खोजी भइरहेको ब्युरोका एसएसपी श्रेष्ठले बताए । नेपाल फिर्ता भएका महिलाले अब आफूहरू कहिल्यै विदेश नजाने बताएका छन् ।

विमानस्थलको प्रहरी टोली हटाइयो

भिजिट भिसामा हुने मावन तस्करी रोक्न मानव बेचबिखन अनुसन्धान ब्युरोबाट एक वर्षदेखि खटिँदै आएको प्रहरी टोली फिर्ता भएको छ । प्रहरी प्रधान कार्यालयले गत शुक्रबारदेखि ब्युरोको टोलीलाई हटाउने निर्णय गरेको हो ।

ब्युरोबाट केही समयका लागि प्रहरी टोली खटिएको र स्थायी रूपमा खटाउने निर्णय नहुँदा हाललाई हटाइएको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए । ‘ब्युरोको टोलीलाई खटाउनेसम्बन्धी आधिकारिक निर्णय पनि भएको थिएन, केही समयलाई भनेर खटाइएको थियो, जनशक्ति पनि कम थियो,’ उनले भने, ‘अब विमानस्थल प्रहरीकै एक टोली भिजिट भिसामा हुन सक्ने मानव तस्करी रोक्न खटिनेछ ।’ ब्युरोको टोलीले पछिल्लो एक वर्षमा विमानस्थलबाट करिब सात हजारलाई फिर्ता पठाएको थियो । भिजिट भिसामा खाडीलगायत देश गएका सयौँ नेपालीहरू समस्यामा परेपछि ब्युरोबाट विशेष टोली खटिँदै आएको थियो । जसमा अध्यागमनका अधिकारीले भने असन्तुष्टि जनाउँदै आएका थिए ।

Published on: 10 October 2023 | Naya Patrika

Link

Back to list

;