s

व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जानेक्रम घट्यो

व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्दै जान थालेको छ । श्रम तथा रोजगार मन्त्रालयले भर्खरै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार म्यानपावर कम्पनीबाट वैदेशिक रोजगारीमा जाने कामदारहरूको संख्यामा वृद्धि आएको छ । वैदेशिक रोजगारका लागि श्रम आप्रवासनसम्बन्धी ‘नेपालको स्थिति प्रतिवेदन ०७२/७३–०७३/७४’ले यस्तो तथ्य सार्वजनिक गरेको हो ।
 
वैदेशिक रोजगारीमा जानुअघि कामदारले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिनुपर्ने हुन्छ । विभागले व्यक्तिगत र संस्थागत (म्यानपावरमार्फत) गरी दुई किसिमबाट श्रम स्वीकृति जारी गर्दै आएको छ ।
 
सो स्वीकृति प्राप्त गर्नेहरूमा आर्थिक वर्ष ०६८/६९ सम्म म्यानपावरमार्फत जानेभन्दा व्यक्तिगत रूपमा वैदेशिक रोजागारीमा जानेको कामदारको संख्या बढी थियो । सो वर्ष कुल ३ लाख ८४ हजार ६ सय ६५ विदेश गएका कामदारमध्ये ३२ दशमलव ४० प्रतिशत व्यक्तिगत श्रम स्वीकृतिमा गएका थिए । सोही वर्षपछि भने व्यक्तिगत रूपमा वैदेशिक रोजगारमा जाने कामदारको संख्या लगातार घट्दो क्रममा देखिएको हो ।
 
गत आर्थिक वर्ष कुल ३ लाख ८२ हजार ८ सय ७१ जना कामदार वैदेशिक रोजगारमा गएका थिए । त्यसमध्ये व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर जानेको हिस्सा ७ दशमलव ५६ प्रतिशत मात्र रहेको छ । पछिल्ला ९ वर्षमा ३५ लाख ५४ हजार ६ सय ८३ जना कामदार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका छन् । त्यसमध्ये ८२ दशमलव ५२ प्रतिशत कामदार म्यानपावर कम्पनीमार्फत नै बिदेसिएको प्रतिवेदनमा उल्लेख छ ।
 
व्यक्तिगत रूपमा बिदेसिने कामदार किन घटे ?
 
सरकारले सन् २०१२ मा व्यक्तिगत रूपमा वैदेशिक रोजगारमा जान छुट्टै निर्देशिका नै जारी गरेको थियो । वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले निर्देशिका जारी भएपश्चात् नै व्यक्तिगत श्रम स्वीकृतिमा जानेको संख्या घटेको देखिन्छ । त्यस्तै महिला कामदारलाई वैदेशिक रोजगारमा जान प्रतिबन्ध लगाएका कारणसमेत व्यक्तिगत श्रम स्वीकृति घटेको प्रतिवेदनमा दाबी गरिएको छ ।
 
Published on: 1 May 2018 | Naya Patrika

Back to list

;