s

व्यवस्थित बन्दै वैदेशिक रोजगारी

होम कार्की

बैदेशिक रोजगार विभागले हरेक ३ मिनटमा विदेश पठाउन कम्पनीले पेस गरेको निवेदन सदर गर्नुपर्छ । दैनिक १५ सय कामदारको पासपोर्टमा श्रम स्टिकर टाँस्नु जोखिमपूर्ण पनि छ । श्रम स्वीकृति दिनुअघि उनले थोरै मात्र ध्यान दिन भ्याएनन् भने गन्तव्य पुगेपछि कामदार ठगिने र जोखिममा पर्ने सम्भावना रहन्छ । टेबलमा थुपि्रएको चाङबाट एक/एक फाइल केलाउन खोज्दा झ्यालमा लाम बढिसकेको हुन्छ । 'दैनिकजसो १५ सयजति कामदारले श्रम स्टिकर पाए,' विभागका निर्देशक सूर्यप्रसाद भण्डारी भने, 'श्रम प्रतिनिधि जुन फाइलका लागि हतारिन्छन्, त्यसमै ध्यान पुर्‍याउने हो भने त्रुटि फेला परिहाल्छ ।'

सरकारले वैदेशिक रोजगार क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेको छ । 'संस्थागत भ्रष्टाचार' हटेपछि विभाग सुधार अभियानमा प्रतिबद्ध देखिन्छ । 'जुनजुन क्षेत्रमा हात हाल्दै गयो, त्यही क्षेत्रको नक्कली कागजात भेटिन थालेको छ,' भण्डारी भन्छन् ।

सबै क्षेत्रमा विभागले हात हाल्न थालेपछि कामदारसँग सम्बन्धित म्यानपावर कम्पनी, मेडिकल सेन्टर र अभिमुखीकरण तालिम केन्द्रको छटपटी बढेको छ ।

स्टिकरमा पूरै सूचना

विभागले जेठबाट नयाँ श्रम स्टिकर लागू गरेको छ । पासपोर्टमा टाँसिने उक्त स्टिकरमा राहदानी नम्बर, म्यानपावरको इजाजत नम्बर, कम्पनी/ स्पोन्सरको नाम, पेसा, जाने देश, श्रम अनुमति सकिने म्याद सबै स्पष्ट उल्लेख छ । 'अब यो स्टिकर भएपछि कामदारलाई झुक्याउन सकिँदैन,' विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई भन्छन्, 'कम्पनी, पेसा र सेवा-सुविधा  फरक परेको खण्डमा पठाउने म्यानपावरलाई सजिलै समात्न सकिन्छ ।' नयाँ स्टिकर सुरु भएको दुई महिनासम्म बजारमा नक्कली भेटिएको छैन । यसअघि स्टिकर नक्कली बन्ने र सानो आकारको थियो ।

पूर्ण विवरण सहितको स्टिकर लागू भएपछि म्यानपावर व्यवसायीका लागि टाउको दुखाइ बनेको छ । सुरुदेखि नै यसको विपक्षमा रहेका उनीहरूले यसलाई हटाउन संस्थागत दबाब पनि दिइरहेका छन् । उनीहरूले 'राहदानीमा स्टिकर टाँसेर कामदारको बिल्ला भिराइदिएको' भन्दै विरोध जारी राखेका छन् । 'राहदानीमा लेबर स्टिकार राख्नुपर्ने जरुरी छैन । त्यो हामीलाई समस्या होइन । कामदारका निम्ति जरुरी छैन । अनलाइन सबै विवरण राखेर राहदानीमा बारकोड मात्रै राखौं भन्ने हो,' वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले भने । विभागको बुझाइमा श्रम स्टिकरको विरोध गर्नुको पछाडि व्यवसायीको स्वार्थ लुकेको छ । कामदारको पक्षमा बोल्ने टे्रड युनियनलाई यस विषयमा आपत्ति छैन । 

कतारमा सुधार, अब साउदीतिर

विभागले कतारबाट कामदारको सेवा सुविधा र सुरक्षाका सवालमा सुधार अभियान सुरु गरेको छ । 'कतारको सुधार मझौलामा पुगेको छ । पूरै नियन्त्रण भइसकेको छैन,' भट्टराईले भने, 'दूतावाससँग समन्वय गरी पूर्ण नियन्त्रण गर्ने प्रयासमा छौं ।' विभागले कतार जाने कामदारको पूर्ण विवरण दूतावासले हेर्न सक्ने व्यवस्था मिलाएको छ । 'कतारको कुन कम्पनीमा नेपाली कामदारलाई श्रमस्वीकृति दिएको हो । त्यो विवरण अब दूतावाससँग हुन्छ,' उनले भने ।

कतारका लागि सबैभन्दा डरलाग्दो पक्ष भनेको व्यक्तिगत श्रम स्वीकृतिमा जाने कामदारको थियो । जहाँ दलाल र म्यानपावरकै संलग्नतामा गत वर्ष मात्रै झन्डै ८० हजारभन्दा बढी कामदारलाई व्यक्तिगत श्रमस्वीकृति निकालिएको थियो । 'व्यक्तिगत श्रम स्वीकृति निकै घटाउन सकिएको छ,' व्यक्तिगत शाखाका निर्देशक अनिल गुरुङले भने, 'पहिला दैनिक ३ सय हुन्थ्यो । अहिले सयको हारहारीमा झरेको छ ।'

कतारपछि मलेसिया जाने कामदारको श्रम स्वीकृतिमा कडाइ गरिएको छ । मलेसिया सरकारले जारी गरेको 'कलिङ भिसा' अनुसार कागजात पेस गरेपछि मात्रै विभागले श्रम स्वीकृति दिन थालेको छ । त्यस अनुसार श्रम स्वीकृति दिँदा कम्पनी र काम फरक नपर्ने देखिएको छ । विभागले सबैभन्दा धेरै समस्या रहेको साउदी अरबतिर आँखा लगाएको छ । म्यानपावर कम्पनीले साउदीको लागि पेस गर्ने धेरै कागजात नक्कली हुने गरेको धमाधाम भेटिन थालेको छ । साउदीमा धेरै म्यानपावरले कामदारलाई आपूर्ति केन्द्र (सप्लाई) मा पठाउने गरेको हो । जसले एउटा काम र कम्पनी भनेर गएका कामदारको अर्को काम र कम्पनीमा काम गर्नुपर्छ । 'साउदीका लागि पेस हुने अधिकांश कागजात नक्कली हुने गरेको पाइएको छ,' निर्देशक भण्डारीले भने ।

स्वास्थ्य परीक्षण पनि नक्कली

श्रम स्वीकृतिमा पेस हुने कागजात सबै केलाउँदै जाने क्रम विभागले स्वास्थ्य परीक्षण समेत नक्कली हुने गरेको तथ्य फेला पारेको छ । विभागले ३ सय १ नक्कली रिपोर्ट जफत गरेको छ । जसमा १ सय ३२ मा होलोग्राम टाँसिएको छ । 'एउटै फाइलमा पेस भएको स्वास्थ्य परीक्षणको रिपोर्टमा नाम, राहदानी नम्बर मात्रै परिवर्तन गरेको पाइयो,' भण्डारीले भने, 'अरू नतिजा उस्तै छ ।' अध्यक्ष तामाङले १२/१५ जनाको स्वास्थ्य परीक्षण एकै पटक गरेर ल्याब खर्च जोगाउने प्रवृत्ति रहेको बताए । विभागले अभिमुखीकरण तालिम केन्द्रबाट कामदारलाई अभिमुखीकरण तालिम दिए/नदिएको विषयमा अनुगमन निकै बढाएको छ । त्यसरी अनुगमन गर्दा कतै 'भाडाका प्रशिक्षार्थी' राखेर कक्षा भर्ने गरेको भेटिएको छ ।

कम्पनी र पेसा नमिल्ने कुबेत र यूएईको भिसा समेत नक्कली पेस गर्ने गरेको तथ्य समेत फेला पर्न थालेको छ । जसमा अरेबियन भाषा अनुवादकले समेत नक्कली अनुवाद गर्ने गरेको कागजात विभागले फेला पारेको छ । 'पूर्वस्वीकृति अनुसार पेसा र कम्पनी मिलाउन स्याक्न गरेर भिसै नक्कली बुझाउने गरेको तथ्य भेटिएपछि अहिले सक्कली भिसा पेस गर्न अनिवार्य व्यवस्था गरिएको छ,' भण्डारीले भने ।

त्यति मात्रै होइन, म्यानपावर व्यवसायीले आफैंले हस्ताक्षर गरी पेस गर्नुपर्ने कागजातमा श्रमप्रतिनिधि (म्यानपावरको कर्मचारी) लाई गलत रूपमा हस्ताक्षर गराउने गरेको पाइएको छ ।

'एकीकृत आक्रमण' को प्रतिरक्षा

श्रम र गृह मन्त्रालयबीचको समन्वय बढेपछि जिल्लामा सञ्चालित अवैध म्यानपावर र एजेन्ट पक्राउ पर्न थालेका छन् । राजधानीमा 'मानव तस्कर' लाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सक्रियता बढाएको छ । गत शुक्रबार पाँचथरमा गैरकानुनी रूपमा म्यानपावर सञ्चालन गर्ने ६ जना शाखा सञ्चालक पक्राउ परे । झापामा अवैध काम गर्नेलाई बन्द गर्न विभागले जिल्ला प्रशासनलाई अनुरोध गरेको छ ।

देशभरका २ सय ४३ मध्ये ४२ वटाले मात्रै शाखाको काम गर्ने अधिकार पाएका छन् । शाखा र एजेन्टलाई कारबाही गर्न थालेपछि कानुनी रूपमा दर्ता हुने क्रम बढेको छ । एजेन्ट संख्या ४ वाट १५ पुगेको छ । 'शाखा कार्यालयको जिम्मा एजेन्टलाई दिनु हुँदैन,' अध्यक्ष तामाङले भने, 'मुख्य कार्यलयको सञ्चालकले नै शाखा सञ्चालन गर्न दिनुपर्छ ।' सीआईबीले खाडीमा अवैध महिला कामदार लैजाने कतारमा कार्यरत मोरोक्काका मोहम्मद आइतल्ला र अस्ट्रेलियास्थित कुवेती दूतावासको कर्मचारी बताउने उत्तरी सुडानका मोहममद अब्दुल सदिक मोहम्मदलाई पक्राउ गरी मुद्दा चलाएको छ । विभागले र नमिलेका कागजातमा श्रम स्वीकृति रोक्ने, उजुरी पर्नासाथ कारबाही थाल्ने, धरौटीबाट काटेर पीडितलाई क्षतिपूर्ति दिन थालेपछि म्यानपावर कम्पनीहरू आत्तिएका छन् । उनीहरू 'आफूहरूमाथि एकै पटक एकीकृत आक्रमण' हुन थालेको भन्दै प्रतिरक्षामा उत्रिएका छन् । 'आहिले सबैभन्दा बढी व्यवसायमाथि आक्रमण छ । गलत बाटोमा लैजाने, सेटिङबाट उठाउने सबै दोष व्यवसायीमाथि नै लगाएको छ,' अध्यक्ष तामाङ भन्छन्, 'व्यक्तिगत रूपमा हुने ठगीको दोष पनि व्यवसायीमाथि लगाउने स्थिति छ ।'

नमिलेपछि 'सेटिङ'

वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिमा निकै कडाइ गरेपछि विमानस्थलमा सेटिङ बढ्न थालेको छ । सीआईबीले असार २४ मा सेटिङमा जाने दुई महिला र त्यसरी पठाउने इन्टरनेसनल जब लिंकका निर्देशक विमलजंग थापा र त्यसका एजेन्ट रामचन्द्र काफ्लेलाई पक्राउ गर्‍यो । सोमबार इराक जान खोज्ने २२ जनालाई श्रम डेस्कले फर्काइदियो । कम्पनी, पेसा र तलबको कागजात मिलाएर श्रम स्वीकृति लिन थालेपछि म्यानपावर आफैं पनि सेटिङमा व्यस्त हुन थालेको गुनासो पनि आउन थालेको छ । 'विमानस्थलमा हुने गरेको सेटिङ नौलो होइन,' एक म्यानपावर सञ्चालकले भने, 'फरक यत्ति हो । पहिला सेटिङ खर्च कम थियो । अहिले बढी नै रिस्क छ ।'

अझ इराक, अफगानिस्तान र महिला कामदारलाई नक्कली भिजिट भिसामा सेटिङ हुन्छ । 'एक जना महिलालाई उडाउन ३५ हजार तिरियो,' एक दलालले भने । अध्यागमनका कर्मचारी सहितको संलग्नतामा मात्रै यो सम्भव हुने गरेको सीआईबीका अधिकारीको दाबी छ ।

Published on: 21 July 2012 | Kantipur

Back to list

;