s

व्यवसायीको आन्दोलनले विदेशिने कामदारलाई प्रभाव नपारेको सरकारको दावी

यतिबेला म्यानपावर व्यवसायी कामदारको टिकट नकाट्ने आन्दोलनमा छन् । र, भनिरहेका छन्, ‘हामीले टिकट नकाट्दा विदेशिने काकदार घटेर विमानस्थल सुनसान छ । तर, सरकारले भने रमदानमा कारण विदेशबाट यो समय हुने कामदार आपूर्ति सुस्त भएको समयमा पनि विदेश जाने क्रममा खासै असर नपरेको दावी गरेको छ ।

‘नेपाली कामदारहरुको मुख्य श्रम गन्तव्य मुस्लिम बहुल देशहरु नै रही आएका छन् । मुसलमान धर्मावलम्बीहरुको महान चाड रमजानको समयररोजा अवधिमा मुस्लिम वाहुल्य देशहरुमा कामदार रिसिभ गर्ने कार्य कम हुने आम प्रवृत्ति नै हो,’ वैदेशिक रोजगार विभागले भनेको छ ।

आर्थिक बर्ष २०७३/७४ मा संस्थागततर्फ २९ हजार ७६३ जना र व्यक्तिगततर्फ १९हजार ४८३ गरी जम्मा ४९२४६ जना सो वर्षको रमजानको अवधिमा वैदेशिक रोजगारीका लागि गएको देखिन्छ । आर्थिक बर्ष २०७४/७५ मा सो संख्या संस्थागततर्फ २३ हजार ६ जना र व्यक्तिगततर्फ २३ हजार ४३१ जना गरी कूल ४६ हजार ४३७ जना वैदेशिक रोजगारीमा गएका छन् । यस वर्ष रमजान अवधिभर वैदेशिक रोजगारीमा जाने संख्या संस्थागततर्फ २० हजार ९७६ र व्यक्तिगततर्फ २७ हजार २३२ गरी ४८२०८ जना वैदेशिक रोजगारीमा गएका छन् ।

यसरी गत बर्षको रमजानको अवधिमा भन्दा वर्षको सोही अवधिमा रमजान एक दिन बाँकी रहँदैको तथ्यांक हेर्दा समेत १७७१ जना थप व्यक्तिहरु वैदेशिक रोजगारीका लागि गएको विभाग बताउँछ । ‘विभागको श्रम डेस्कको तथ्यांकले रमजानको मुख्य दिन नजिकिँदै जाँदा समेत संस्थागततर्फ औसतमा ३५० जना र व्यक्तिगततर्फ ७०० को हाराहारीमा वैदेशिक रोजगारीमा गएको देखिन्छ,’ विभाग भन्छ ,’तथ्यहरुले वैदेशिक रोजगारीमा पठाउने कार्य बन्द भएको भन्ने हल्लामा कुनै सत्यता नभएकोले अन्योलमा नपर्नुहुन सबै वैदेशिक रोजगारीमा जान इच्छुक तथा अन्य सरोकारवालाहरुमा जानकारी गराइन्छ ।’ यसै पनि यो वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या ४० प्रतिशतले घटेको छ । तर, व्यवसायीले भनेजस्तो रमादानको अवधिमा त्यस्तो कुनै असर पर्ने गरी कामदार विदेशिने क्रम घटेको नदेखिएको विभागले बताएको छ ।

Published on: 6 June 2019 | Onlinekhabar

Back to list

;