s

व्यवसायी, विद्यार्थी र श्रम स्वीकृति लिएका कामदारलाई रुस जान सरकारले नरोक्ने

काठमाडौं : सरकारले रुसमा व्यवसाय गर्दै आएका व्यवसायी,श्रम स्वीकृति लिएका कामदार र अध्ययन गर्दै आएका विद्यार्थीलाई फर्कन सहजीकरण गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयले व्यवसायी,विद्यार्थी र श्रम स्वीकृति लिएर काम गर्दै आएका नेपालीहरू रुस फर्कन चाहे उनीहरूलाई यात्रा अनुमति प्रमाणपत्र (नो अब्जेक्सन सर्टिफिकेट) दिने निर्णय गरेको हो ।

उनीहरूका लागि परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले 'नो अब्जेक्सन सर्टिफिकेट' दिनेछ । रुस–युक्रेन द्वन्द्वका कारण रुसबाट फर्किएका नेपालीलाई लक्षित गरी उनीहरूको सहज फिर्तीका लागि परराष्ट्र मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा गत साता सो सम्बन्धमा छलफल गर्न सरोकारवाला मन्त्रालय र सचिवहरूको बैठक बसेको थियो । सोही बैठकले रुसमा विभिन्न व्यवसाय गर्दै आएका व्यवसायी,श्रम स्वीकृति लिएका कामदार र अध्ययन पूरा गर्न फर्किने विद्यार्थीका लागि कन्सुलर सेवा विभागले 'नो अब्जेक्सन सर्टिफिकेट' दिने निर्णय गरेको हो ।

परराष्ट्र मन्त्रालयले निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र शिक्षा मन्त्रालयलाई पत्र पठाइसकेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले अन्नपूर्णलाई बताए । रुस -युक्रेन द्वन्द्व सुरु भएपछि कतिपय नेपालीहरू असुरक्षाको कारण देखाउँदै नेपाल फर्किएका छन् ।

Published on: 30 May 2024 | Annapurna Post

Link

Back to list

;