s

व्यवसायको इज्जत कि बेइज्जत व्यवसायीकै हातमा : महानिर्देशक श्रेष्ठ

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको नब निर्वाचित कार्यसमितिले वैदेशिक रोजगार विभागका महानिर्देशक राजकुमार श्रेष्ठ तथा विभागको काठमाडौं कार्यालय ताहचलका कायम–मुकायम प्रमुख कृष्ण देसारलाई भेटी ती कार्यालयबाट हुने कार्य सम्पादन चुस्त र पारदर्शी बनाउन माग गरेको छ ।
 
गत शुक्रबार सर्वसम्मतरुपमा कार्यसमिति चयन गरेको मञ्चका अध्यक्ष चित्रगुप्त  सावाँ लिम्बुको नेतृत्वमा गएको टोलीलाई विभागमा महानिर्देशक श्रेष्ठ र ताहचलमा कार्यालय प्रमुख देसारले स्वागत गरेका थिए ।
 
परिचयात्मक कार्यक्रमपछि मन्तव्य राख्दै अध्यक्ष साँवाले मञ्च नेकपा एमालेको भ्रातृसंगठनको रुपमा काम गरिरहेको उल्लेख गर्दै वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित मर्यादित र पारदर्शी बनाउन विगतदेखि नै वैदेशिक रोजगार विभागसँग सहकार्य गरेको र वर्तमान महानिर्देशक श्रेष्ठको कार्यकालमा पनि सहकार्यको निरन्तरता चाहेको धारणा राखे ।
 
महानिर्देशक श्रेष्ठले वैदेशिक रोजगारलाई मर्यादित, पारदर्शी र विश्वसनीय बनाउन वैदेशिक रोजगार व्यवसायी, विभाग र कामदारको त्रिपक्षीय अन्तरसम्बन्ध रहने बताउँदै देखिएका समस्याहरुको यथा सक्य छिटो समाधान गरी व्यवसायको गरिमा बढाउन सबै क्रियाशील हुनुपर्ने आवश्यकता रहेको औल्याए ।
 
विभिन्न कारणले व्यवसायीमाथि अनेक प्रकारका आरोप तथा लाञ्छना लाग्ने गरेका भन्दै महानिर्देशक श्रेष्ठले काम र व्यवहारबाटै व्यवसायीहरुले त्यसको  जवाफ दिन सक्नुपर्ने बताए । उनले भने, ‘वाहिरबाट आएर कसैले इज्जत बचाइदिने होइन, आफ्नो व्यवसायको इज्जत जोगाउन व्यवसायी आफै इमान्दार हुनुपर्छ ।’
 
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारण वैदेशिक रोजगार व्यवसाय  संवेदनशील अवस्थामा रहेकोले विभाग र व्यवसायी मिलेरै समस्याहरुको समाधान खोज्नुपर्ने  महानिर्देशक श्रेष्ठको भनाइ थियो ।
 
महानिर्देशक श्रेष्ठले सुझावको शैलीमा भने, ‘व्यवसायी र विभागलाई कतिखेर के पर्छ थाहा हुँदैन । सबैले टेलिफोन नम्बर दिनुहोला तर नउठ्ने होइन उठ्ने नम्बर ।’ भेटमा केही व्यवसायीले नयाँ लाइसेन्स वितरण सम्बन्धमा जिज्ञासा राखेका थिए । तर महानिर्देशक श्रेष्ठले त्यस विषयमा उपयुक्त समयमा जानकारी दिने बताए ।
 
मञ्चको टोली ताहाचल पुग्दा कार्यालय प्रमुख देसारले मञ्चको नवनिर्वाचित कार्यसमितिलाई स्वागत गरे । परिचयात्मक कार्यक्रम पछि मञ्चका महासचिव डिकबहादुर खत्री (कुमार)ले ताहचलबाट पूर्व तथा अन्तिम श्रम स्वीकृति दिने कामलाई चुस्त दुरुस्त बनाउनुपर्ने विषयलाई व्यवसायीहरुले लामो समयदेखि उठाउँदै आएको विषय भएपनि अपेक्षित सुधारको अनुभूति गर्न नसकेको भनाइ राख्दै कार्यालय र कर्मचारी व्यवसायीहरुका समस्या समाधानमा सहयोग रहने अपेक्षा व्यक्त गरे ।
 
कार्यालय प्रमुख देसारले मञ्चको नब निर्वाचित कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै स्टेक होल्डरहरुको प्रत्यक्ष समन्वयमा कार्यालयबाट प्रदान गरिने सेवा चुस्त दुरुस्त बनाउन सकिने धारणा राखे ।  व्यवसायीहरुले नियम कानून स्पष्ट भएपनि विभिन्न कागजी प्रक्रियामा अल्झाएर व्यवसायीहरुलाई हैरानी दिने गरेको गुनासो राखेका थिए ।
 
श्रम तथा रोजथगार मन्त्रालयले वेभ बेष्ड अनलाइन सिष्टम लागू गरेर श्रम स्वीकृति लिने झन्झटिलो प्रक्रियालाई केही सरल बनाए पनि ग्रुप अफ कम्पनीबाट आएका मागपत्रमा श्रम स्वीकृति दिने विषय समस्याको रुपमा रहेको भन्दै कार्यालय प्रमुख देसारको ध्यानाकर्षण गराएका थिए । दुबै कार्यालयमा भएका कार्यक्रम महासचिव डिक बहादुर खत्री कुमारले सञ्चालन गरेका थिए ।
 
Published on: 8 February 2018 | Madhyanha

Back to list

;