s

बुटवलमा श्रमाधान रोजगार मेलाको तयारी

सिद्धार्थनगर, जेठ २१ गते । बुटवलमा दुई दिन श्रमाधान रोजगार मेला हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेश, श्रम तथा रोजगार कार्यालय बुटवल र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा मेला हुन लागेको हो ।

मेला अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बुधबारदेखि सुरु हुनेछ । आन्तरिक रोजगारी प्रवर्धन र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने, श्रम र रोजगारको क्षेत्रमा रहेका बहुआयामिक समस्यालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्दै रोजगारीका लागि अनुकूल वातावरण सिर्जना गर्नु मेलाको उद्देश्य रहेको श्रम तथा रोजगार कार्यालय बुटवलका प्रमुख कृष्णप्रसाद खनालले बताउनुभयो ।

मेलामा रोजगार दिने र रोजगारी खोज्नेहरूबिच प्रत्यक्ष भेट हुने र रोजगारी सिर्जनाको वातावरण उपलब्ध हुने उहाँको भनाइ छ । मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाको सम्बन्धमा डाटाबेस निर्माणमा योगदान गर्ने उहाँको भनाइ छ । मेलामा रोजगारदाताहरूको सूचीकरण र रोजगारीका अवसरको पहिचान गरिने छ ।

रोजगार मोलामा बायोडाटा निर्माण सिकाइ बुथ, विभिन्न रोजगारदातासँग सम्बन्धित बुथ, वैदेशिक रोजगार बुथ, कल सेन्टर बुथ लगायत कम्तीमा ४० वटा स्टल राखिने आयोजकको भनाइ छ । प्रदेश भित्रका ठुला सम्भावित रोजगारदाताको पहिचान गरी सरकारी र निजी क्षेत्रका स्टलहरू हुनेछन् ।

सीप र विकासलाई रोजगारदाता र रोजगार खोज्नेसँग जोड्न मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । श्रमाधान रोजगार मेलामा सहभागी हुन अनलाइन दर्ता प्रणालीमार्फत रोजगारदाता सूचीकरण हुन र रोजगारीको खोजीमा रहेका व्यक्तिले दर्ता गर्न सकिने व्यवस्था छ । साथै, मेलाको भ्रमण गरी त्यही म्यानुअलमा र अनलाइनबाट समेत दर्ता गर्न सकिने व्यवस्था छ ।

श्रम र रोजगारसँग सम्बन्धित कार्यशाला गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम पनि हुनेछन् । जसमा सीप विकास तथा क्षमता अभिवृद्धि, सामाजिक सुरक्षा, सुरक्षित आप्रवासन, श्रम कानुन र रोजगारदाता तथा रोजगार खोजी गर्नेको आवश्यकतासम्बन्धी अन्तरक्रिया हुनेछ । त्यस्तै, स्थानीय संस्कृति झल्किने खालका सांस्कृतिक कार्यक्रम हुनेछन् ।

मेला सञ्चालनका लागि १० लाख लगानी गरिएको छ । मेला १० हजार दर्शकले अवलोकन गर्ने र यसबाट ७ सय जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ ।

Published on: 4 June 2024 | Gorkhapatra

Link

Back to list

;