s

बुटवलमा रोजगार मेला हुने

सिद्धार्थनगर, असार ११ गते । बुटवल उपमहानगरपालिकाको आयोजनामा वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला हुनेभएको छ । यही असार १३ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्म कालिकानगरको महाराजा रिर्सोटमा मेला आयोजना हुनेछ ।

मेला संयोजक तथा बुटवल उपमहानगरपालिका –४ का अध्यक्ष नरिश्वर शर्मा पौडेलले मेलाको तयारी तिब्र पारिएको जानकारी दिनुभयो । करिव पाँच हजार जना मानिसको सहभागिता रहने आयोजकको दावी छ । मेलामा ३० वटा विभिन्न रोजगार प्रदायक संस्थाहरुको स्टल रहने बताइएको छ ।

नेपाल सरकार तथा स्वीजरल्याण्ड सरकारको द्वीपक्षीय परियोजना दिगो तथा सम्मानित रोजगारीका लागि सिप–दोस्रो चरणको सहयोगमा एक दिने मेला आयोजना हुन लागेको हो । रोजगार मेलामा रोजगारसम्बन्धी परासर्म तथा सूचना दिने, सीपमुलक तालिम दिने संस्थाको प्रदर्शनी तथा तालिमबारेमा सूचना दिने, रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराई रोजगारीको अवसर सिर्जना हुने अपेक्षा लिइएको छ ।

३ लाख ५० हजार रुपियाँ खर्च अनुमान गरिएको सबै खर्च परियोजनाले नै व्यहोर्ने आयोजकको भनाइ छ । मेलाबाट आएको रोजगारीको अपेक्षाअनुसारको रोजगार पोर्टल नै बनाएर सोहीअनुसारको रोजगारी सिर्जनामा नगरपालिका लागिरहेको मेला संयोजक नरिश्वर शर्मा पौडेलले जानकारी दिनुभयो ।

नेपालमा अहिले पनि टायल, मार्वल, फनिर्चर, प्रेसरकुकरलगायतका विभिन्न उद्योगमा भारतीय कामदारको बाक्लो उपस्थिति रहेको भन्दै मेलापश्चात् तालिम समेत आयोजना गरिने बताउनुभयो । मेलाको नगर प्रमुख खेलराज पाण्डेयले उदघाटन गर्नुहुने आयोजकको भनाइ छ ।

Published on: 27 June 2023 | Gorkhapatra

Link

Back to list

;