s

बुटवल, जनकपुर र इटहरीबाट नै श्रम स्वीकृति

श्रम तथा रोजगार मन्त्रालयले बुटवल, जनकपुर र इटहरीमा वैदेशिक रोजगारीको श्रम स्वीकृति लिने कार्यालय खोल्ने निर्णय गरेको छ ।श्रम तथा रोजगार मन्त्रीमा नियुक्त भए लगत्तै गोकर्ण बिष्टले तराईमा पनि श्रम स्वीकृति दिने गरी कार्यालय खोल्ने बताएका थिए।
 
‘बढी कामदार विदेश जाने क्षेत्रमै कार्यालय खोल्न लागेका हौं,’ उनले भने ‘पूर्वमा इटहरी, दुई नम्बर प्रदेशमा जनकपुर र पश्चिमको बुटवलमा कार्यालय खोलेर श्रम स्वीकृति दिन केही समयभित्रै सुरु गर्नेछ ।’
 
‘अहिलेको कानुनी व्यवस्थाअनुसार कुन कुन प्रकारको श्रम स्वीकृति दिन मिल्छ, त्यसैअनुसार सेवा दिन्छौं,’ बिष्टले भने ।
 
रि-इन्टि्रको लागि यो व्यवस्था तत्काल लागू हुनेछ । संस्थागत र व्यक्तिगत श्रम स्वीकृतिको विषयबारे पनि छिट्टै टुंगो लाग्ने बिष्टको भनाइ छ ।
 
अहिले काठमाडौंको ताहचलस्थित कार्यालयबाट मात्रै श्रम स्वीकति दिने गरिएको छ । दैनिक १५ सयले विभागबाट विदेश जाने स्वीकृति पाउँछन् ।
 
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले जनकपुरमा विभागको कार्यालय खोल्ने निर्णय गरेका थिए । तर, कर्मचारीले अनेक समस्या देखाएपछि कार्यान्वयन भने भएन ।
 
कामदार काठमाडौं नै आउँदा उनीहरुबाट अनुचित लाभ लिइरहेका विभागका कर्मचारीले ‘कमाइको बाटो’ काठमाडौं बाहिर जान दिएका थिएनन् ।
 
विभागमा हुने भिडभाडलाई मौका बनाएर आर्थिक चलखेल हुने गरेको छ । त्यसलाई रोक्न र कामदारको सास्ती घटाउन पनि उपत्यकाबाहिर श्रम स्वीकृति दिने व्यवस्था गर्न लागिएको हो ।
 
‘आधा मात्रै कामदारले बाहरिबाटै स्वीकृति पाए भने ताहचलमा केही सुधार हुन्छ । कामदारको सास्ती पनि कम हुन्छ,’ बिष्टले भने ।
 
Published on: 20 March 2018 | Onlinekhabar

Back to list

;