s

वुहानबाट उद्धार गर्दा प्रतिव्यक्ति ७ लाख १० हजार

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले कोरोना भाइरसको उद्गमस्थल वुहानबाट नेपाली नागरिकहरूलाई उद्धार गरेर काठमाडौं ल्याउँदा प्रतिव्यक्ति ७ लाख १० हजार रुपैयाँ खर्च भएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनले त्यस बेला चीनको वुहानबाट १ सय ८७ नेपाली नागरिकलाई उद्धार गरेर ल्याउँदा १३ करोड २८ लाख ४७ हजार खर्च भएको जनाएको छ । २०७६ फागुन ४ देखि २० सम्म १७ दिनका लागि सेनाले क्वारेन्टाइनमा ५५ लाख र औषधि खरिदका लागि ६६ लाख ७१ हजार खर्च गरेको थियो । 

चीनबाट उद्धार गरेर ल्याइएका नेपाली नागरिकहरूलाई नेपाल विद्युत् प्राधिकरणको खरिपाटीस्थित तालिम केन्द्रमा क्वारेन्टाइन निर्माण, निर्मित क्वारेन्टाइनका लागि आवश्यक सामग्री खरिद, उक्त ठाउँमा इन्टरनेट, बेड खरिद तथा निर्माणलगायत सहरी विकास मन्त्रालयले ७ करोड ५६ लाख ९५ हजार खर्च गरेको प्रतिवेदनमा छ ।

त्यसबेला चीनको वुहान कोभिड–१९ प्रभावित थियो । नेपाल सरकारले २०७६ माघ २७ मा त्यहाँबाट नेपालीलाई फिर्ता ल्याउने निर्णय गरेको थियो । त्यसबेला हवाई उद्धार र स्थानीय यातायातबापत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ४ करोड ४९ लाख ७९ हजार खर्च गरेको थियो ।

द्रुतमार्गमा २० अर्ब २९ करोड खर्च 

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माणमा आर्थिक वर्ष २०७७/७८ मा सडक विभाग र सेनासमेतबाट २० अर्ब २९ करोड खर्च भएको छ । द्रुतमार्गको भौतिक प्रगति भने ११.११ प्रतिशत छ ।

Published on: 22 August 2021 | Kantipur

Link

Back to list

;