s

'बुढाले खेत बेचेर पैसा दिएपछि बल्ल मलाई फर्काइदिए'

दोस्रो घरबाट फिर्ता भएको केही दिनमा उनलाई तेस्रो घरमा पठाइयो। सरसफाइ, भाँडा माझ्ने, लुगा धुने लगायत काम गर्नुपर्ने थियो। त्यो घरमा पनि आफू दुर्व्यवहारमा परेको उनी बताउँछिन्।

'म भाषा केही नबुझ्ने, खै किन हो उनीहरू काम गर्दा पनि खान दिँदैन थिए। गाली गर्थे, कुट्थे। कति दिन त म ट्वाइलेटको धाराको पानी थापेर खाएर बाँचेँ,' उनले सुनाइन्।

त्यहाँ पनि काम ठीक नभएको गुनासो गर्दै उनले एजेन्टलाई निकाल्न आग्रह गरिन्। आफ्नै देशमा फर्किन्छु, दुःखसुख जे हुन्छ, त्यस्तै बाँच्छु भनेर रोइन्।

'म त अब इराकमै मर्छु होला, बाँचेर फर्किन्नँ होला भन्दै रून्थेँ,' उनले सुनाइन्।

मनमायाका अनुसार त्यहाँ उनी जस्तै अरू थुप्रै नेपाली महिला थिए। कतिपय बाध्य भएर यौनकर्मी बन्नुपरेको उनले बताइन्।

'मलाई जसरी हुन्छ निस्किनु थियो। घरमा पनि फोन गरेर जसरी हुन्छ मलाई निकाल्नु भनेर रून्थेँ। बुढोले पैसा पठाएपछि धन्न फर्काइदियो,' उनले भनिन्।

श्रीमानले चार लाख रूपैयाँ एजेन्टलाई बुझाएपछि उनलाई नेपाल फर्काइएको छ। उनलाई गत पुसमा नेपाल फर्काइएको हो।

'श्रीमती दिनदिनै मलाई बचाउ भन्दै फोन गर्छे। प्रहरीमा गएँ, फर्काउने कुरै गर्दैन। एजेन्टलाई भन्दा पैसा दे अनि फर्काउँछु भन्छ। एउटा घडेरी जोहो गरेको थियो। त्यही बेचेर चार लाख बुझाएँ, श्रीमती ल्याइदियो,' श्यामबहादुरले भने।

उनका अनुसार इराकबाट फर्काउन सुरूमा एजेन्टले पाँच लाख रूपैयाँ लाग्छ भनिरहेका थिए। पछि चार लाखमा मिलाइदिए।

'इराकले भएको एउटा घडेरी पनि सकाइदियो। जे भए पनि श्रीमती सकुशल आई। बाँचे सम्पत्ति त होला नि,' चित्त बुझाउँदै भने।

मनमाया इराक पुगेको तीन महिनापछि फर्किएकी हुन्।

कष्टकर तीन महिना सम्झिँदै उनले भनिन्, 'अर्काको देशमा धेरै दुःख पाइने रहेछ। छोराछोरी पढाउन सकियोस्, अलिअलि उनीहरूको भविष्यका लागि जोहो गर्न सकियोस् भन्ने सोचेको, सोचेजस्तो नहुँदो रहेछ। अब जेजस्तो हुन्छ, यहीँ काम गरेर खाने हो।'

इराक नेपाली श्रमिकहरूका लागि प्रतिबन्धित मुलुक हो। प्रतिबन्धित मुलुक भए पनि एजेन्टहरूले विभिन्न मुलुक ट्रान्जिट बनाएर अवैध प्रक्रियामार्फत् श्रमिकहरू त्यहाँ पुर्‍याउने गरेको पाइएको छ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इराकका अध्यक्ष विनोद श्रेष्ठका अनुसार नेपालबाट त्यहाँका एजेन्ट कम्पनीमा श्रमिक लगिन्छ। एजेन्ट कम्पनीले नै रोजगारदातासम्म श्रमिक पुर्‍याउँछन्।

श्रमिक पुर्‍याएबापत एजेन्टलाई रोजगारदाताले करिब आठ लाख रूपैयाँसम्म दिएका हुन्छन्। त्यहाँ पुर्‍याइसकेका श्रमिक नेपाल फिर्ता पठाउनुपरेको अवस्थामा एजेन्टले फेरि रोजगारदातालाई पैसा बुझाउनुपर्ने हुँदा श्रमिकसँग पैसा असुल्ने गरेको उनको भनाइ छ।

मनमायाको हकमा पनि केही रकम आफन्तसँग र केही रकम नेपाली एजेन्टले त्यहाँको एजेन्टलाई बुझाएर उनलाई फिर्ता पठाइएको उनको भनाइ छ।

'उहाँमाथि कुटपिट भइरहेको र बिरामी पनि हुनुहुन्छ भन्ने थाहा पाएपछि तत्काल फिर्ता ल्याउन एजेन्टलाई आग्रह गरेका थियौं। अनि एजेन्टले आफ्नै कोठामा ल्याएर राखेको थियो,' उनले भने।

श्रेष्ठका अनुसार उनलाई बग्दादकै विभिन्न घरमा काम गर्न पठाइएको थियो। बग्दादबाटै उनलाई फिर्ता पठाइएको हो।

Published on: 21 February 2024 | Setopati

Link

Back to list

;