s

बुबाको मुख हेर्छु भन्दै साजनको त्यो अन्तिम भिडियो कल

बेसीसहर : रूस-युक्रेन युद्वमा लमजुङका एक युवाका निधन भएको छ। रुसी सेनामा भर्ती भएका लमजुङको दूधपोखरी गाउँपालिका-१ घामरचोकका ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको हो।

रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर पाँच दिन अघिमात्र परिवारलाई प्राप्त भएको थियो। जर्मनमा रहेका उनका भाइ कुमारले परिवारलाई खबर पठाएका थिए।

मृतक गुरुङसँगै रुसी सेनामा पुगेका साथीहरूले उनका भाइ कुमारलाई खबर पठाएका थिए।

गत असोज २ गते उनी रूस गएका थिए। 'हामीलाई त रूसी सेनामा गएको नि थाहा थिएन। माल्टामा छु भन्थ्यो,' मृतकका बुबा श्रीमान गुरूङले भने, 'अस्ती रूस-युक्रेन युद्वमा बित्यो भनेपछि झसङ्ग भयौं।'

साजनले पुसको १६ गते श्रीमती सीतालाई भिडियो कल गरेका थिए। 'राति ८ बजेतिर फोन आएको रैछ। बुबाको मुख हेर्छु भनेछ, बुहारीले फोन दिएको २ सेकेन्डमै फोन काटियो। न छोराले देख्न पायो, न मैले,' बुबा श्रीमानले भने। गुरुङ दूधपोखरी गाउँपालिकाका वाइसीएल अध्यक्षसमेत बनेका थिए। उनको घरमा बुबा, आमा, श्रीमती र ५ वर्षका छोरा छन्।

Published on: 17 January 2024 | Annapurna Post

Link

Back to list

;