s

बि्रटिस ग्ल्यामर

छरितो ज्यान, चौडा छाती, ब्रुसकट केस, चिम्सा आँखा । लाहुरे शब्दसँगै जोडिएर आउने बिम्ब हो, यो । बि्रटिस तथा भारतीय फौजमा भर्ती हुने नेपाली युवाको पछाडि झुन्ड्याइने यो साझा विशेषणमा ग्ल्यामर छ । लाहुरे बन्ने कठोर होडमा आफूखुसी सामेल हुन लालयित युवा क्रेजले यस्तै बुझाउँछ । 

जस्तो केशर राना मगरकै कुरा गरौं । बि्रटिस फौज छनोटका लागि हुने खरो प्रतिस्पर्धामा आफूलाई अब्बल सावित गर्न दिनरात खटिएका छन्, यी स्याङ्जाली ठिटो । यसअघि उनी दुई पटकसम्म फाइनल चरण पुगेका रहेछन् । तर भाग्यले साथ दिएन । उनले सम्भिए, 'एकदमै दुःख लागेको थियो ।' 

तर उनले हार मानेका छैनन् । 'यसपालि ठूलो होप छ,' राजधानीकै एक तालिम केन्द्रबाट 'लाहुरे ट्रेनिङ' लिइरहेका २० वर्षेले भने, 'नभए अर्को वर्ष ट्राई गरौंला ।' लाहुरे मोहले गाँजिसकेपछि त्यसको ह्याङओभरबाट सहजै उम्किन गाह्रो छ । त्यसैले त एकपटक लाहुरे बन्न 'ट्राई' गर्नेहरू उमेरले हद नकाटेसम्म त्यसैमा झुन्डिरहन्छन् । 

बि्रटिस फौजमा १७ वर्षदेखि २१ वर्ष उमेर समूहकाले भर्ती हुन पाउने प्रावधान छ । 'मंगोलियन कम्युनिटीमा लाहुरेको सान बेग्लै छ' राजधानीकै पासाङ ल्हामु कलेजबाट स्नातक तहमा अध्ययनरत उनले भने, 'त्यसैले हरेक मंगोलियन युवा लाहुरे बन्न मरिहत्ते गर्छन् ।' त्यसो त आफ्नै दाइसमेत बि्रटिस आर्मी भएकाले उनको लगाव यसतर्फ स्वतः बढेको हो ।

लाहुरेमा भर्ती पाउनका लागि विगतमा जस्तो मंगोलियन फेस नै अनिवार्य भने छैन, अहिले । लाहुरे दौडमा छन्, इलामका किशोर राई । उमेरले १८ टेकेका उनको यो पहिलो प्रयास हुनेछ । 'चार वर्ष भयो रेगुलर एक्सरसाइज गरेकोे' विज्ञानमा प्लस टु उत्तीर्ण किशोरले थपे, 'लकले साथ दियो भने सेलेक्सनमा पर्छु होला ।' भनिहालौं, बि्रटिस आर्मीका लागि एसएलसी तेस्रो श्रेणीमा उत्तीर्ण भए पुग्छ । तर हरेक चरणमा उनीहरूको बौद्धिकताको परीक्षण हुन्छ । छनोट चरणका लागि हुने भिडन्त हेर्न गत वर्ष धरानसम्म पुगेछन्, उनी । भन्दै थिए, 'सेलेक्सनमा नपरेका भेट्दा सबै जोस-जाँगर नै सेलाउने ।' उनकै सहपाठी राजन लिम्बू अर्को वर्षका लागि भिड्ने तयारीमा जुटेका छन् । 
बिहान सबेरै उठ्नु, मर्निङवाक जानु, कडा व्यायम गर्नु उनको दैनिकी हो । त्यसै गरेर खानपानमा पनि उनी विशेष सतर्कता अपनाउँछन् । भन्छन्, 'लाहुरेभन्दा दायाँबायाँ केही पनि सोचेको छैन ।' उनको पहिलो प्राथमिकता हो यूके आर्मी, नभए सिंगापुर पुलिस । तुलनात्मक रूपमा यूके आर्मीको कमाइ बढी छ ।

त्यसैले हरसम्भव यूके आर्मीमा जान तत्पर हुन्छन्, तन्नेरीहरू । सिंगापुर पुलिस र यूके आर्मीका लागि छनोट प्रक्रिया करिब उस्तै हुने पारस श्रेष्ठ बताउँछन् । उनी सामाखुसीस्थित एक्स बि्रटिस आर्मी स्पोर्ट्स एन्ड ट्रेनिङ सेन्टरका पीटीआई -फिजिकल ट्रेनिङ इन्स्ट्रक्टर) हुन् । 'शारीरिक रूपमा गर्नुपर्ने उस्तै हो,' उनले भने, 'एजुकेसनमा थोरै फरक छ ।'

सिंगापुर पुलिसका लागि पूर्व र पश्चिमबाट ३०/३० जनाको दरले भर्ती लिइन्छ भने यूके आर्मीका लागि ७८/७८ जनाको दरले । आफूलाई 'लाहुरे हुँ' भन्दा गर्वले चौडा छाती बनाउनेको समाजमा हुर्किएकाले यसैलाई लक्ष्य बनाएका छन्, राजेश गुरुङले । धादिङस्थित नीलकण्ठका राजेशलाई परिवारले नै 'लाहुरे बन्नुपर्छ' भनेर ढाडस दिएका छन् रे । 

'मलाई लाहुरे भएको हेर्ने सपना छ बुबाको,' राजधानीकै अक्सफोर्ड उच्च माध्यमिक विद्यालयबाट प्लस टु सकाएका यी १८ वर्षेले भने, 'मेरो सपना पनि त्योभन्दा फरक छैन ।' स्वदेशमा रोजगारको अवसर नहुनु । भए पनि नातावाद, कृपावादले प्रश्रय पाउनुले पनि युवाहरूको ध्यान 'लाहुरे बन्नतर्फ' मोडिएको रहेछ । 

राजेश भन्दै थिए, 'यहाँ आफू सक्षम भएर मात्र रोजगार पाइँदैन । कि नेताको छोरो हुनुपर्छ, नभए दह्रै सोर्सफोर्स चाहिन्छ ।' तर सक्षम एवं योग्य युवालाई लाहुरे बन्न त्यस्तो छेकवार छैन । आफ्नो पर्फमेन्सको भरमा उनीहरूले यसमा सहजै भर्ती पाउन सक्छन् । संखुवासभाका फुर्वा शेर्पाले भविष्यका निम्ति तीन वटा विकल्प रोजेका छन्, बि्रटिस आर्मी, ट्रेकिङ र व्यापार । 

उनको पहिलो प्रयास लाहुरे बन्ने नै हो । नभए बाँकी दुई अप्सनमा जानेछन् । 'सानैदेखि लाहुरे बन्छु भनें,' उनले सुनाए, 'त्यसैले लाहुरे बन्न सक्दो ट्राई गर्छु ।' चाबहिलको पुष्पलाल मेमोरियल कलेजबाट स्नातक गरिरहेका यी २० वर्षे अहिले कडा अभ्यासमा जुटेका छन् । उनका आफ्नै दाइ पनि बि्रटिस आर्मी रहेछन् । दाइले कम्तीमा प्लस टु सकेपछि मात्र लाहुरे भिड्नु भनेकाले उनले अहिलेसम्म पर्खेका रे । 

भन्थे, 'नत्र त एसएलसी दिएपछि नै पो ट्राई गर्थें ।' उमेर हद पार गरिसक्दासमेत भर्ती हुन सकिएन भने अन्य क्षेत्रमा जान सहज हुने भएकाले दाइले पढाइ नछाड्न सुझाएका रहेछन् । कुनै बेला कामको खोजीमा थातथलो छाडेर बाहिरिने आम युवालाई लाहुरे भनिन्थ्यो । लाहुरे शब्दको उत्पत्ति भने लाहोर सहरसँग जोडिएको छ । 

पञ्जाबका महाराज रञ्जित सिंहको फौजमा सामेल हुन लाहोर पुग्ने क्रमसँगै लाहुरे ट्रेन्ड सुरु भएको हो । अहिले भने बि्रटिस तथा भारतीय फौजमा भर्ती हुनेलाई मात्र लाहुरेको संज्ञा दिइन्छ । विगतमा गठिलो ज्यान भएका युवालाई खोजीखोजी बि्रटिस फौजमा लाने गरेको सुन्न पाइन्छ । तिनै लाहुरेहरू स्वदेश फर्केपछि रवाफिलो जीवनशैली बिताउन थाले । 

समाजमा उनीहरूको सान बेग्लै भयो । यसैको प्रभावमा युवा लाहुरेतर्फ आकषिर्त भए । तर विगतमा जस्तो गठिलो ज्यानमात्र भएर लाहुरे बन्न सम्भव छैन । शारीरिक तन्दुरुस्तीसँगै अनुशासित र बौद्धिक युवामात्र यसका लागि योग्य ठहरिन्छन् । उचाइ ५ फिट ३ इन्चभन्दा बढी भएकोे, छाती चौडाइ ३१ इन्च भएको -फुलाउँदा २ इन्च बढ्ने), तौल ५० केजी हुने, कन्ट्याक लेन्स प्रयोग नगरेको, किराले दाँत नखाएको जस्ता आधारभूत मापदण्ड पूरा गरेकाले मात्र छनोटमा पर्न सकिन्छ । 

बि्रटिस फौजका लागि बर्सेनि जेठ अन्तिम सातादेखि असार दोस्रो सातासम्म आवेदन खुला हुन्छ । पहिलो चरणको सेलेक्सनमा पर्नका लागि पासपोर्ट अनिवार्य । आफ्नो बाबुआमाको नागरिकता । यसबाट चेस्ट नम्बर पाइयो भने अगाडि बढ्न पाइयो । त्यसपछि रिजनल सेलेक्सन गरिन्छ, पूर्वको धरान र पश्चिमको पोखरामा । 

यसअन्तर्गत २ मिनेटमा ७० पटकभन्दा बढी सेटअप, १२ पटकभन्दा बढी ह्याभिङ, २ मिनेट ४५ सेकेन्डमा रनिङ पूरा गर्नुपर्छ । यसपछि उनीहरूको बौद्धिकता परीक्षण हुन्छ । रिजनल सेलेक्सन पार गर्ने सेन्टर सेलेक्सनमा भिड्नुपर्छ । पोखरामा हुने सेन्टर सेलेक्सनमा ह्याभिङ, सेटअपको अतिरिक्त प्रतिस्पर्धीलाई २५ केजीको भारी बोकाएर ५ किलोमिटर दौडाइन्छ । 

डोको रेस भनिने यो दौड उनीहरूले ४८ मिनेटमा पूरा गर्नुपर्ने हुन्छ । त्यसैगरी ९ मिनेट ४५ सेकेन्डमा २४ सय मिटरको दूरी छिचोल्नुपर्छ । यसक्रममा उनीहरूलाई स्विमिङ पनि गर्न लगाइन्छ । फाइनल चरणका लागि छनोट हुनेहरूलाई करिब २५ दिनसम्म क्याम्पमा राखेर विभिन्न परीक्षण गरिन्छ । यसबाट पनि तोकिएको कोटाअन्तर्गत छनोट गरिन्छ । बाँकी 'ब्याडलक' को सूचीमा ।

 Published on: 26 April 2013 | Kantipur

 

Back to list

;