s

वृद्धि गरेको ज्याला दिँदैनाैँ बरु उद्योग बन्द गर्छौँ : उद्योगी

गणेश लम्साल

नेपाल सरकारले वृद्धि गरेको मजदुरको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० दिन नसक्ने प्रदेश १ का उद्योगीहरूले बताएका छन् । वृद्धि भएको पारिश्रमिकले उद्योग टाट पल्टने भन्दै पुनर्विचार नगरे उद्योग बन्द गर्न बाध्य हुने उनीहरूले सरकारलाई चेतावनी दिएका छन् । श्रम तथा सामाजिकमन्त्री गोकर्ण विष्ट उपस्थित भएको कार्यक्रममै उद्योगीहरूले वृद्धि गरेको ज्याला दिनुपरे उद्योग बन्द गर्ने चेतावनी दिएका हुन् ।

संघीय सरकारको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र प्रदेश १ को सामाजिक मन्त्रालयको आयोजनामा भएको एक कार्यक्रममा स्थानीय उद्योगीहरूले यस्तो बताएका हुन् । सरकारले सञ्चालन गर्न लागेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ का लागि सुझाब लिन स्थानीय उद्योगीहरूसँग मन्त्रालयले छलफल गरेको थियो ।
 
चर्को ब्याजदर, अघोषित लोडसेडिङ, तीन तहका सरकारको करलगायतका कारणले उद्योगमैत्री वातावरण नबनेको भन्दै उद्योग सगठन मोरङका अध्यक्ष भीम घिमिरेले मजदुरको ज्याला वृद्धि गर्न नसक्ने बताए ।
 
सुनसरी उद्योग बाणिज्य संघका अध्यक्ष तथा एक नम्बर प्रदेश सभाका सदस्य निलम बस्नेतले पनि सरकारले उद्योगीहरूको समस्या बझ्ने प्रयास नै नगरी ज्याला वृद्धि गरेको बताए । ‘यो सरकार उद्योगीहरूको मानमर्दन गर्दै दुःख दिन लागिपरेको छ, यसरी आर्थिक समृद्धि हासिल हुँदैन,’ उनले भने, ‘म पनि प्रदेश सभामा सदस्य छु, तर मलाई राम्रो थाहा छ प्रदेश सरकारले ल्याएको नाराले मात्र विकास हुँदैन ।
 
मानवीय पक्षलाई ख्याल गर्नुहोस् : मन्त्री गोकर्ण विष्ट
 
उद्योगी, सरकार र मजदुरहरूको त्रिपक्षीय छलफलबाट सम्झौता भएकाले वृद्धि भएको ज्याला दिलाउन सरकार सचेत रहेको मन्त्री विष्टले बताए । त्यसका लागि आवश्यक छलफल गरेर उद्योगहरूलाई सुविधा दिन तयार रहेको उनले बताए । मजदुरलाई दुई छाक खान पुग्ने पारिश्रमिक नदिएमा उत्पादन सही ढंगले नहुने र दिगो रोजगारको प्रत्याभूति पनि नहुने भएकाले न्यूनतम ज्याला वृद्धि गर्न सरकार बाध्य भएको उनले बताए । उद्योगीहरूको पनि सामाजिक उत्तरदायित्व हुने भएकाले १३ हजार दिँदैमा उद्योग बन्द नहुने र त्यस्तो अवस्था आएमा सरकारले सहयोग गर्ने उनले आश्वासन दिए ।
 
Published on: 1 August 2018 | Naya Patrika

Back to list

;