s

‘ब्रेन ड्रेन’ को विलासी बहस

देशका अनेक समस्यासँग सरकार र नागरिक दुवै पक्ष पूर्ण जानकार छन् । सरकार र यसका जिम्मेवार व्यक्तिहरू अवस्था सुधार्न भरपुर प्रयासको पहल गरिरहेको बताउँछन् । राजनीतिक परिवर्तनका अनेक शृङ्खलापछि पनि देशले विकासको अपेक्षित गति लिन नसकेकोमा सबैलाई चिन्ता छ । इतिहासको कुनै कालखण्डमा त छिमेकी देश भारत र चीनभन्दा हाम्रो अवस्था निकै सबल थियो । २००७ सालमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको उदय भयो । भारत केवल त्यसको सात वर्ष र चीन लगभग ४० वर्ष पहिले मात्र क्रमशः बेलायती उपनिवेश र मन्चु वंशको अप्रजातान्त्रिक तानाशाही शासन शैलीबाट मुक्त भएका थिए । दक्षिण एसियाका अन्य धेरै देश उस्तै परिस्थितिबाट गुज्रिएको देखिन्छ तर पछिल्लो तीन दशक जसरी अन्य देशहरूले परिवर्तन र प्रगतिको बाटो निर्माण गरे त्यसको तुलनामा हामी अलिक दूर र दुर्गममा नै रहेका छौँ । यसमा स्वयम् हरेक दलका तल्लादेखि उच्च तहका सबै नेता सहमत भएको सुनिन्छ । नागरिकको आशा अनुसारको गति र परिमाणमा काम हुन नसकेको आत्मसात् गरेको देखिन्छ ।

लोककल्याणकारी राज्य निर्माण र विकासको गतिशीलता सबै राजनीतिक दलका नेता तथा वक्ताहरूले अनवरत रूपमा उठान गरेको विषय हो । पछिल्ला केही वर्षदेखि यस्ता आशयका बहसमा अब देशको निर्माण गर्न विदेश गएर बसेका क्षमतावान् व्यक्तिहरूलाई देशमा फर्काउनु पर्छ भन्ने पनि गरिन्छ । देशको विकासले गति नलिनुमा बौद्धिक पलायन (ब्रेन ड्रेन) प्रमुख रहेको मानिन्छ किनकि पछिल्ला केही दशकमा नेपालबाट बिदेसिनेको सङ्ख्या निकै उच्च छ ।

पछिल्ला तथ्याङ्कले लगभग ५० लाख नेपाली विदेशमा रहेको देखाउँछ । अहिले विभिन्न बहाना र चाहनामा दैनिक दुई हजार व्यक्ति विदेश जान्छन् । विश्व बैङ्कको प्रतिवेदन ‘लार्ज स्केल माइग्रेसन एन्ड रेमिट्यान्स इन नेपाल’ अनुसार नेपाल विप्रेषणमा आश्रित मुलुकको सूचीमा ताजकिस्थान र गणतन्त्र किरगिजपछि तेस्रो मुलुक हो । कहिलेकाहीँ त सामाजिक सञ्जालमा अन्तर्राष्ट्रिय विमानस्थलको टरमिनल भवनमा विदेश जान लागेका व्यक्तिको विशाल सभा जस्तो तस्बिर सेयर पनि भइरहेका हुन्छन् । यद्यपि एक जना मानिस विदेश जाँदा बिदाइ गर्न झन्डै पाँचदेखि १० जना व्यक्ति पनि जाने गर्छन् । त्यस्तो भिड देखाउन चाहिँ बिदाइ गर्नेहरूको ताँतीको पनि केही योगदान होला । अनि बाहिरिएकाको मात्र गणना गर्दै निराशा जाहेर गर्दैगर्दा निकै ठुलो सङ्ख्यामा फर्किनेहरू पनि छन् भन्ने बिर्सनु हुँदैन । अवातजावत निरन्तर प्रक्रिया हो । यद्यपि धेरै ठुलो सङ्ख्यामा नै मानिस विदेश गएको चाहिँ सत्य हो । देशका अधिकांश उच्च शैक्षिक संस्थामा विद्यार्थीको आकर्षण र चापमा गम्भीर गिरावट आएको छ तर अधिक मानिस बिदेसिएको र सबैमा विदेश मोह व्याप्त भएकाले नै देशमा बौद्धिक पलायन छ । अनि यो नै अहिलेको समस्या हो भन्ने सम्झनु चाहिँ भ्रममा बाँच्नु मात्र हो ।

बिदेसिएका सबैलाई ब्रेन ड्रेन मान्न सकिँदैन । त्यहाँ गएका अधिकांशले ब्रेन (दिमाग) को लेबलमा योगदान गरेका छैनन् । उनीहरूलाई औजार अथवा शारीरिक श्रमशक्तिको रूपमा मात्र उपयोग गरिएको छ । यहाँबाट उच्च शिक्षा लिन गएका भनिएका अधिकांशले त्यहाँ मजदुरको जीवन पनि चलाएका छन् । साँच्चै दिमागको योगदान गर्ने र बौद्धिक श्रम गरिरहेका व्यक्तिको सङ्ख्या भने निकै सानो छ । अनि त्यसरी बौद्धिक श्रम गरिरहेकाको सङ्ख्या यहाँ नफर्किंदैमा देशमा उक्त स्तरको बौद्धिकता भएका व्यक्तिको अथवा ब्रेनको खाँचोसमेत हुँदैन । एकाएक विज्ञ, योग्य, काबिल, दक्ष, मूर्धन्य विद्वान् व्यक्तित्वको सघन सङ्ख्या अहिले पनि देशमा उपलब्ध छ । देशलाई आवश्यक पर्ने हरेक विधामा उल्लेख्य सङ्ख्याको विज्ञता र विद्वता देशमा कायम नै छ । विदेश गएकाहरू सबैले यहाँ अवसर नपाएर गएका पनि होइनन्, लाखौँ खर्च गरेर गएका हुन् । माइकल माथिसेनको पुस्तक ‘ब्रेन ड्रेन ः बियोन्ड द ग्रिन न्यु डिल’ ले ब्रेन ड्रेनलाई त्यसरी चिन्तित हुनुपर्ने र उपायको अवलम्बनमा समाहित भइहाल्नुपर्नेे विषय होइन नै भन्छ ।

हामीकहाँ विज्ञता पलायनभन्दा श्रम पलयान (लेबर ड्रेन) चाहिँ निकै पेचिलो बन्दै छ । आज देशमा सामान्य काम गर्ने श्रमस्रोतको अधिक खाँचो छ । विश्वमा सबैभन्दा बढी विप्रेषण ल्याउने देश भारत हो । भारतलाई विप्रेषण प्रवाह गर्ने देशको सूचीमा नेपाल सातौँ स्थानमा पर्छ । लगभग तीनदेखि चार खर्ब रुपियाँ त वार्षिक रूपमा भारतीय मूलका विभिन्न श्रमिकले नेपालबाट मात्र लैजाने गरेको देखिन्छ । यो रकम डाक्टर, प्राध्यापक, प्राविधिक, इन्जिनियर तथा विशेषज्ञ वा विज्ञ ल्याएर पठाएको होइन । देशमा ब्रेनको खाँचो परेर आयात गरिएको पनि होइन । घर बनाउने मिस्त्री, शैलुन चलाउने व्यक्ति, निर्माणलगायत विभिन्न खालका श्रम बजारमा प्रयोग भएका जनशक्तिको खपतमा प्रवाह भएको हो । लगभग त्यति नै रकम खाद्यान्न आयातबाट समेत जाँदै छ । यसरी खाद्यान्न आयात गर्नुपर्ने बाध्यताको आधार भनेको पनि नेपालबाट भएको श्रम शक्तिको पलायन हो ।

यसरी श्रम शक्तिका लागि पलायन हुनु परेका चाहिँ देश र परिवारबाट टाडिएर बस्नुपर्दा दुःखीसमेत छन् । यहाँ परिवारिक विखण्डन, यौन विचलन, अभिभावकीय सामीप्यमा सङ्कटलगायत विभिन्न समस्या र असहजता छँदै छ । श्रम शक्तिको रूपमा बिदेसिएकाको त्यो समूहचाहिँ त्यहाँ पनि साँच्चै पीडामा छ । अधिकांशले गर्ने काम जोखिमयुक्त, तुलनात्मक हिसाबले अनाकर्षक र शोषणपूर्ण रहेको तथ्याङ्क देखिन्छ । उनीहरूले दिनरात पसिना बगाएर नै देशलाई विपे्रषणसमेत पठाइरहेका छन् । उनीहरूले त्यहाँ बगाइरहेको श्रमको यहाँ चरम खाँचो पनि छ तर जसका बारेमा हामी सतही बहसमा छौँ उनीहरू न त योगदान गर्छन्, न त उनीहरूको अनुपस्थितिमा देश टाट नै पल्टिएको छ ।

बिग्रिएर सुध्रँदै गरेको मानिसमाथि सहानुभूति र हौसला राख्ने क्रममा कहिल्यै नबिग्रिएका माथि शोषण अनि बेवास्ता गर्नु किञ्चित सुहाउँदैन । विदेश गएर बसेका केही विज्ञचाहिँ देशका लागि भगवान् नै हुन्छन्, उनीहरू फर्किएपछि देशमा जादुमयी परिवर्तन भई हाल्छ भनेर अति प्रशंसाको पुलिन्दा बोकेर हिँड्नु भनेको यहीँ बसेर देशलाई सकेको योगदान गरौँ भन्ने कर्तव्यपरायण विज्ञ समूहमाथिको अपहेलना होइन र ? प्रवासी समूहले नेताहरूलाई पटक पटक विदेश यात्राको चाँजोपाँजो मिलाउँछन् होला । त्यहाँ जाँदा भ्रमण अनि आतिथ्यको प्रबन्ध साथै यदाकदा उपहार तथा कोसेलीपात पनि प्राप्त होला । यसैले हाम्रो नेतृत्वमा विज्ञता पलायन भनिएको बिदेसिएका समूहप्रति अनावश्यक आकर्षण निर्माण भएको छ भनेर पनि आरोप लाग्ने गर्छ । अथवा देशको खास आवश्यकता पनि अध्ययन गरिएको छ कि छैन भन्ने हेर्नु पर्छ । पछिल्लो समय कुल गार्हस्थ आवश्यकता (ग्रोस डोमेस्टिक रिक्वायरमेन्ट) भन्ने शब्दावली विकासका सिद्धान्तमा अधिक प्रयोग हुने गरेको छ । हाम्रो देशलाई आवश्यकता चाहिँ ती श्रम बजारमा बाहिरिएकाहरूको बढी छ । दिमागी श्रम गर्न बाहिरिएकाको देशमा योगदान तथा उनीहरूको अभावमा समाजलाई नोक्सानी दुवै लगभग शून्य छ तर जो मानिस श्रम बजारमा खपत भएका छन् अथवा श्रम गर्न भनेर नै बिदेसिएका छन्, उनीहरूको अभावमा देशले बहुपक्षीय नोक्सानी भोग्दै छ । देश चलाउन योगदान पनि उनीहरूकै छ । तसर्थ बौद्धिक पलायन (ब्रेन ड्रेन) को बहस केवल सौखिन आत्मरति हो । उनीहरूलाई देश फर्किन निरूत्साहित नै गर्नु त हुँदैन तर अबको बहस लेबर ड्रेन (श्रम शक्तिको पलायन) माथि होस् र हुनु पर्छ । उनीहरूचाहिँ छलफल र व्यवस्थापनको प्राथमिकतामा पर्नु पर्छ । ब्रेन ड्रेन भन्दा पनि लेबरड्रेन हाम्रो चुनौती हो ।

Published on: 22 January 2024 | Gorkhapatra

Link

Back to list

;