s

ब्राजिल उडेकाहरुको बालीमा बिच्चली

इन्डोनेसिया हुँदै ब्राजिल लैजाने प्रलोभनमा पारेर गत वर्ष फागुनमा देश छाडेका ६ नेपाली युवामध्ये दुर्घटनामा परेर एकको बाली प्रान्तमा मृत्यु भएको छ । पाँच जना भने जकार्ता अध्यागमनको कारागार पुगेका छन् ।

पोखराका एजेन्ट विष्णु गुरुङलाई जनही ४ लाख रुपैयाँ बुझाएर काठमाडौं विमानस्थलबाट उडेका थानकोटका नकुल सुनार, नुवाकोटका कृष्ण सुनार, बनेपाका कृष्ण विश्वकर्मा, कलंकीका कजन पोखरेल, धादिङका प्रवीन सुनार र किशोर सुनारमध्ये नकुलको दुर्घटनामा परेर उतै मृत्यु भएको हो । मृतकका भान्जा सुमन सुनारका अनुसार झन्डै तीन साताअघि इन्डानेसियाको बालीमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते नकुलको स्थानीय अस्पतालमा उपचारका क्रममै मृत्यु भएको थियो । उनको शव अझै बाली अस्पतालमा छ । अस्पतालले १८ दिनयता नकुलको शव राखेबापत झन्डै ७ हजार डलर शुल्क पुगिसकेको भन्दै त्यो रकम नतिरी शव उठाउन दिएको छैन । बालीमा एजेन्ट विष्णुले कुदाइरहेको मोटरसाइकल दुर्घटनामा पर्दा सँगै बसेका नकुल सख्त घाइते भएका थिए ।

आफन्त मृत्युको घटनापछि शव ल्याउन र बिचल्ली मा परेका अरू पाँच जनालाई घर फिर्ता गराउन परराष्ट्रको कन्सुलर शाखाबाट पहल हुन थालेको दुई साता बिते पनि समस्या सुल्भिmएको छैन । 'हामीले घरफिर्तीका लागि पाँच जना आफन्तलाई जनही ६४ हजार रुपैयाँका दरले टिकट शुल्क पठाएका थियौं, तर घर फिर्ने क्रममा अध्यागमनले नक्कली भिसाको अभियोगसहित पक्राउ गरेर १० दिनदेखि जेलमा राखेको थाहा भएको छ,' सुमनले भने । यो घटनापछि अनुसन्धान क्रममा रहेको जकार्ता प्रहरीले एजेन्ट विष्णुलाई पनि पक्राउ गरिसकेको अनुमान गरिएको छ । गत वर्ष फागुन १ मा ब्राजिल -गन्तव्यमा उड्दा एजेन्ट विष्णु र ज्ञानेन्द्र सुनारसहित ४ लाख रुपैयाँ बुझाउने धादिङका अर्का युवा नारायणसिंह नेपाली पनि साथमै थिए ।

यीमध्ये एजेन्ट ज्ञानेन्द्र र कामको खोजीमा गएका नारायणसिंहलाई इन्डोनेसियाली अध्यागमनले पक्राउ गरेर गत भदौमा नेपाल फिर्ता गराएको छ । घर फर्किएका नारायणसिंहका अनुसार वैदेशिक रोजगारीमा ठगी र मानव तस्करीको उजुरी आधारमा एजेन्ट विष्णुकी श्रीमती बिनु गुरुङ र ज्ञानेन्द्रलाई प्रहरीले पक्राउ गरेर एक साताअघि हनुमानढोका थुनामा राखेको छ । यसैमा संलग्न अर्का एजेन्ट सानुभाइ विश्वकर्मा 'फरार' छन् । मृतकको शव ल्याउन र अलपत्र नेपालीको उद्धार गर्न परराष्ट्र मन्त्रालयले पहल गरिरहेको भए पनि इन्डोनेसियामा कुनै कूटनीतिक- सम्पर्क नरहेका कारण सहप्रमाणीकरण हेर्ने मलेसियाको क्वालालम्पुरस्थित नेपाली नियोगले आवश्यक प्रक्रिया अघि बढाइरहेको छ ।

'किर्ते कागजात र नक्कली भिसाको गम्भीर विषय भएकाले समस्या सुल्झाउन मुस्किल परिरहेको छ,' क्वालालम्पुरस्थित कार्यवाहक राजदूत लेखनाथ भट्टराईले कान्तिपुरसँग फोनमा भने, 'अझ बाली अस्पतालमा रहेको एक कामदारको शव नेपाल पठाउने उपाय खोजिरहेका छौं । यो स्थितिमा सघाउ गर्न हामीले जकार्तास्थित विदेश मन्त्रालय र क्वालालम्पुरको इन्डानेसियाली दूतावासमा पत्राचार गरिरहेका छौं ।'

भट्टराईका अनुसार मृतक नकुलको शव नेपाल लैजान अब मलेसियाली कम्पनीसँग 'डिल' गरेर प्रक्रिया अघि बढाइने जानकारी दिए । 'इन्डानेसियाले मानव तस्करी र आतंकवादको विषयलाई निकै गम्भीरतापूर्वक लिने गरेको छ । यो घटनामा छानबिन नगरी र न्यायको कानुनी आधार नपहिल्याई तत्कालै केही भन्न सकिने स्थिति छैन,' कार्यवाहक राजदूतले भने ।

उद्धार कार्यमा देखिएको जटिलतालाई हेरेर परराष्ट्र मन्त्रालयले क्वालालम्पुर नियोगका कूटनीतिक अधिकारीलाई जकार्ता पठाएर 'औपचारिक प्रक्रिया' थाल्नुपर्ने कन्सुलर शाखाले सुझाव दिएको छ । 'यो जटिल अवस्थामा नेपालीको उद्धार गर्न अन्तर्राष्ट्रिय आप्रवासन संगठन -आईओएम) लाई अनुरोध गर्न सकिन्छ, अब यसतर्फ सोच्नु जरुरी छ,' एक अधिकृतले भने ।

Published on: 20 February 2013 | Kantipur

Back to list

;