s

ब्राजिल लैजाने भन्दै ठगिएका थप सम्पर्कमा

देवेन्द्र भट्टराई

मानव तस्करीको अन्तर्राष्ट्रिय सञ्जाल उपयोग गर्दै इन्डोनेसियाबाट ब्राजिल लैजाने क्रममा बाटैमा अलपत्र परेकाको समाचार सार्वजनिक भएलगत्तै त्यही गिरोहबाट अरू पनि दर्जनौं पीडित भएको जानकारीमा आएको छ । 

पोखराका एजेन्ट विष्णु गुरुङ र उनकी श्रीमती बिनुमाया गुरुङले जनही ४ लाख रुपैयाँ उठाएर एक वर्षअघि ६ जनालाई इन्डोनेसिया पुर्‍याएका थिए । तीमध्ये थानकोटका नकुल सुनारको बाली प्रान्तमा दुर्घटनामा मृत्यु भएपछि गिरोहबारे थाहा भएको हो । 

परराष्ट्रको कन्सुलर शाखाले पहल गरे पनि नकुलको शव फिर्ता ल्याउन र अरूलाई उद्धार गर्न सकिएको छैन । इन्डोनेसियामा नेपालको कूटनीतिक सम्पर्क नरहेको र मलेसियाको क्वालालम्पुरस्थित नियोगले सहप्रमाणीकरण हेर्ने भएकाले उद्धार प्रक्रिया 'पत्राचार' मै सीमित छ ।  'मलेसियास्थित दूतावासबाट एक कूटनीतिक कर्मचारीलाई जकार्ता पठाउने पहल भएको छ,' परराष्ट्रका एक अधिकारीले भने, 'क्वालालम्पुर-जकार्ता आवतजावतका लागि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट तत्काल १ लाख २५ हजार रुपैयाँ निकासा हुनेछ ।' ब्राजिल लैजाने भनेर गिरोह सञ्चालन गर्ने गुरुङ दम्पतीको ठगीमा पर्नेहरूले जनही दुई लाखदेखि ४ लाख रुपैयाँसम्म शुल्क बुझाएको जानकारी दिए । गिरोहका सहायक एजेन्ट ज्ञानेन्द्र सुनार र सानुभाइ विश्वकर्मामध्ये सुनार अहिले हनुमानढोका थुनामा छन् । पीडितहरूले मुख्य एजेन्ट गुरुङकी श्रीमती बिनुमायालाई पनि पोखराबाट पक्राउ गरेर हनुमानढोकामा बुझाएका छन् । 'मेरी छोरी हीरा गुरुङ पनि अहिले जकार्ताको अध्यागमन थुनामा परेकी छ,' पोखराबाट आएकी हीराकी आमा कान्छी गुरुङले कान्तिपुरसँग भनिन् । 

पोखरेली नाता भएकाले उनले भने मुख्य एजेन्ट बिनुमायालाई २ लाख ५० हजार रुपैयाँ मात्रै बुझाएकी थिइन् ।' 'गुरुङ दम्पतीको गिरोहले हामी सबैबाट गरेर १ करोड रुपैयाँभन्दा बढी रकम उठाएको पाइएको छ,' जकार्तास्थित अध्यागमनमा आफ्ना भाइ कजन पोखरेल थुनामा परेपछि आक्रोशित दाजु रजनले भने । गुरुङ दम्पतीलाई त्यसरी नै पैसा बुझाएका धादिङका प्रकाश दुधराज, लव सुनार, उद्धव सुनार, आशिक सुनार, अमरबहादुर सुनार र नुवाकोटका कुमार सुनार पनि कान्तिपुर कार्यालय आएका थिए । 

कलंकीका गणेश रिसाल र थानकोटका मोहन सुनारले पनि आफूहरू गुरुङ गिरोहबाट पीडित भएको भन्दै ठगिएको कागजात देखाए । उनीहरू प्रत्येकले अधिकतम ४ लाख रुपैयाँ बुझाइसकेका छन् । मलेसियास्थित कार्यवाहक राजदूत लेखनाथ भट्टराईले बालीस्थित अस्पतालमा रहेको नकुलको शव नेपाल पठाउन पहल गरिए पनि प्रक्रिया झन्झटिलो रहेको बताए । नक्कली भिसाको अभियोगमा प्रवीन सुनार, कृष्ण सुनार, किशोर सुनार, कजन पोखरेल र हीरा गुरुङ १० दिनदेखि जकार्तास्थित अध्यागमन कारागारमा छन् । 

लेबनानमा दुई युवतीको मृत्यु झापा, भद्रपुरकी सीता पालको लेबनानको बेलुनीमा गत माघ १६ गते मृत्यु भएको छ । मृत्युको कारण खुल्न नसकेको नेपाली सहयोगी डिल्ली पौडेलले बताए । सोलुखुम्बु, कानगलकी कल्पना दमाईंको मंसिर २१ गते मृत्यु भएकोमा उनको राहदानी नक्कली भएकाले शव ल्याउन सकिएको छैन । चोरी र जालसाजीसहितका अभियोगमा अहिले लेबनानमा १२ नेपाली युवती कारागारमा रहेको पौडेलले बताए ।

 Published on: 21 February 2013 | Kantipur Post 

Back to list

;