s

ब्लडमनी तिर्न नसक्दा टोपबहादुर ४ वर्षदेखि युएईमा अलपत्र

उमाकान्त पाण्डे

बोर्डले त ब्लडमनीको पैसा दिने व्यवस्था छैन भनेर पो पत्र पठाएछ,’ चितवनका पर्शुराम घिमिरेले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले पठाएको पत्रबारेको खबर टोपबहादुर बिकलाई सुनाउनुभयो ।

बोर्डले ब्लडमनी बापतको पैसा तिर्न सहयोग गर्ला र घर फर्किउँला भनेर आशमा बसेका चितवनको खैरेनीका टोपबहादुर पर्शुरामको कुरा सुन्दासुन्दै ढलिसक्नुभएको थियो ।
 
बोर्डले पठाएको पत्रबारे युएईस्थित नेपाली दूतावासले दिएको जानकारी पर्शुरामले सुनाउँदा सुनाउँदै टोपबहादुर बेहोस हुनुभयो । ब्लडमनी तिरेर घर फर्किने ४ वर्षदेखिको आश सकिएको थियो टोपबहादुरको । किनकि मासिक ८ सय दिर्हाम कमाएर उहाँले एक लाख दिर्हाम (झण्डै ३० लाख रुपैयाँ) जरिवाना तिर्न सक्ने अवस्था थिएन । 
 
२ जुन २०१४ मा कार्यस्थलमा भएको दुर्घटनामा परेर टोपबहादुरका सहकर्मी दुई जना थाई नागरिकको ज्यान गएको थियो । त्यस घटनामा टोपबहादुरको संलग्नता भएको आरोपमा १ सेप्टेम्बर २०१४ मा अदालतले १ लाख दिर्हाम जरिवाना तिर्नुपर्ने फैसला सुनाएको थियो । त्यही रकम बोर्डले तिर्न सहयोग गर्ला भन्ने आशमा बसेका टोपबहादुर बोर्डको त्यस्तो जवाफ सुनेपछि बेहोस हुनुभयो ।
 
पहिलो पटक गएको भदौमा दुई लाख दिर्हाम ब्लडमनी आवश्यक रहेको भन्दै नेपाली दूतावास आबुधाबीले बोर्डलाई पत्र लेखेको थियो । दूतावासमा नयाँ कार्यवहाक राजदूत आएपछि टोपबहादुरको घटनाको बारेमा थप बुझ्न लगाउनुभयो । 
 
पछिल्लो फैसला अनुसार टोपबहादुरले एक लाख दिर्हाम मात्रै दिनुपर्ने भेटिएपछि दूतावासले बोर्डलाई दोस्रोपटक पत्र लेखेर ब्लडमनी उपलब्ध गराउन अनुरोध गर्‍यो ।
 
गएको माघ १४ गते बोर्डको सचिवालयमा दूतावासले दोस्रो पटक पत्र पठाएको थियो ।  बोर्डले एक महिनापछि गएको मंगलबार वैदेशिक रोजगार ऐन तथा नियमावली अनुसार ब्लडमनी उपलब्ध गराउने बारे कानुनी ब्यबस्था नरहेको उल्लेख गर्दै जवाफ पठाएको युएई स्थित नपाली दूतावासले जनाएको छ । बोर्डको यो जवाफ पछि टोपबहादुरको उद्धार प्रक्रिया अनिश्चित बनेको छ ।
 
टोपबहादुर गएको दुई महिनादेखि पर्शुरामकै शरणमा हुनुहुन्छ । कम्पनीको काम बन्द भएपछि बिचल्लीमा परेका टोपबहादुरलाई चितवन सम्पर्क समाजका पर्शुराम कै शरणमा हुनुहुन्छ । ‘मलाई दाइले तिमीलाई नेपाल नर्फकाई म घर जादिन भन्नुभएको छ, अब त जान पाउँछुकि भन्ने आश पलाएको छ,’ टोपबहादुर भन्नुहुन्छ । ‘म त भान्जीको बिहेमा पनि गइन, बिना कसुर परिबन्धका परेका टोपबहादुरलाई जसरी पनि नेपाल फर्काउनु छ,’ पर्शुराम भन्नुहुन्छ ।
 
कार्यस्थलमा दुघर्टना हुँदा अलपत्र  
 
टोपबहादुर युएईको अलऐनको जाखिरमा रहेको एक कोरियन कम्पनीको निर्माणधिन क्षेत्रमा काम गर्नुहुन्थ्यो । उहाँ सात वर्ष पहिले कोरियन कम्पनी लिवा कन्स्ट्रक्सनमा युएई आउनु भएको थियो । यो कम्पनीको मुख्य कार्यालय फुजेराहमा छ । तर अहिले बन्द भइसकेको छ ।
 
‘क्रेनको रिगर’ अर्थात झण्डा देखाउने र क्रेन अपरेटर पाकिस्तानी ड्राइभरलाई इशारा गर्ने उहाँको काम थियो । २ जुन २०१४ मा क्रेन दुघर्टना भयो । क्रेनको हुक खस्दा दुई जना थाइ नागरिकको च्यापिएर ज्यान गयो । 
 
स्थानीय प्रहरीले टोबहादुरसँगै ड्राइभर र कम्पनीको म्यानेजरलाई पक्राउ ग¥यो । अलऐनको मनशिर जेलमा राख्यो । अदालतमा थाइ नागरिकको हत्या आरोपमा मुद्दा चलिरहेको थियो । १ सेप्टेम्बर २०१४ मा अदालतले पीडित परिवारलाई चार लाख दिर्हाम ब्लडमनी तिर्नु पर्ने फैसला गर्‍यो ।  पछि जेलकै प्रहरीले मुद्दा अपिल गर्न सुझाए  । 
 
जेलमुक्त हुन जरिवाना वा पासपोर्ट बुझाउनु पर्ने भयो । मासिक ८ सय दिर्हाम तलब खाने टोपबहादुरले एक लाख दिर्हाम तिर्नसक्ने कुरै भएन । त्यसैले उहाँले कम्पनीसँग समन्वय गरेर पासपोर्ट जमानी राख्दै जेलबाट निस्कनुभयो ।
 
‘पासपोर्ट जेलसम्म झिकाउन पनि कम्ता गाह्रो परेन, फोन कसैलाई लागेन, कम्पनीको शाखा कतारमा पनि थियो, त्यही चिनेका साथी काम गर्थे उनीहरुलाई नै फोन गरेर पासपोर्ट मगाए,’ टोपबहादुर सुनाउनुहुन्छ । 
 
पासपोर्ट जमानत राखेर ब्लडमनी तिर्ने संकल्प लिएर चार महिना २० दिनमा जेलबाट निस्किनुभएका टोपबहादुरले ४ वर्ष बित्दापनि घर फर्किने दिन अनिश्चित नै छ ।
 
‘पराइदेशमा कहाँ जानु, कम्पनीमै गएँ, काम पनि थाले, कम्पनीसँग सबैप्रक्रिया मिलाएर घर पठाउन कति गुहार गरें के सुन्थ्यो,’ टोपबहादुर गुनासो गर्नुहुन्छ ।
 
कम्पनीले जाखिरमा ठेक्का लिएको काम सकिएपछि मुख्य कार्यालय फुजेराहमा मै बोलायो । टोपबहादुरलाई त्यहाँ केही समय काम लगायो र नयाँ ठाउँ मिर्फामा पठायो ।
 
‘काममा त गएँ, काम गर्न पास पाउन त्यहाँको आर्मीबाट कागजात प्रमाणीकरण गर्नुपर्ने रहेछ, हातमा पासपोर्ट थिएन, भिसाको पनि म्याद सकिएकाले काममा जान पाइन,’ टोपबहादुर भन्नुहुन्छ । 
 
उहाँलाई कम्पनीले नै ठेक्का लिएको हुण्डाइ कम्पनीमा सररफाइको काममा लगाइयो । तर त्यो काम पनि धेरै समय गर्न पाउनुभएन । कम्पनी घाटामा थियो । पासपोर्ट हुनेहरु घर फर्किरहेका थिए ।
 
सरसफाइको काम गर्ने कम्पनी पनि  बन्द भएपछि टोपबहादुर बिचल्लीमा पर्नुभयो । ‘सबैजना फर्किए, मसँग त न पासपोर्ट छ न भिसा, त्यो माथि लाख दिर्हाम त तिर्नै छ,’ टोबहादुर प्रश्न गर्नुहुन्छ, ‘ मेरो खानेबस्ने टुङ्गो छैन् म के गरौं ।’
 
चार दिन हिँडेर आबुधाबीमा 
 
२५ डिसेम्बर २०१७ मा  टोपबहादुर साउदी सीमा मिर्फाबाट एउटा झोला बोकेर आबुधाबी निस्कनुभयो । ‘चार दिन हिँडेर आबुधाबी आइपुगें, आबुधाबीमा मलाई चितवन सम्पर्क समितिका पर्शुराम घिमिरेले आफ्नै कोठामा लग्नुभयो, उहाँले नै पाल्नुभएको छ नत्र त म मरिसकेको हुन्थ्ये,’ टोपबहादुर सुनाउनुहुन्छ ।
 
दुई महिनामा टोपबहादुर युएईमा रहेका संघसस्था र दूतावास धाइसक्नुभयो । ‘दूतावासले सहयोग गर्छु भनेको छ तर पूर्व राजदूतले एउटा संस्थाले मलाई सहयोग गर्छु भनेको छ भन्नुभएको थियो, खै नाम भन्नुभएन मलाई चित्त दुखेको छ,’ टोपबहादुर गुनासो गर्नुहुन्छ ।
 
चितवन समाज र एनआरएनएद्वारा उद्दारको प्रयास 
 
चितवन समाज युएईको पहलमा टोपबहादुरलाई समाजका पर्शुराम घिमिरेले दुबईको डिआइपीमा बस्न खानको ब्यबस्था गरिरहनु भएको छ । 
 
उहाँले नै दूतावास वा संघसस्थामा टोपबहादुरलाई पुग्न सहयोग गरिरहनुभएको छ ।  अन्तर्राष्ट्रिय चितवन समाज मार्फत एनआरएनए केन्द्रमा टोपबहादुरको विषय पुगेको थियो । 
 
केन्द्रले टोपबहादुरको उद्दारका लागि १५ प्रतिशत रकम सहयोग गर्ने निर्णय गरेको भएपनि एनआरएन युएईले १० प्रतिशतको प्रतिबद्धता केन्द्रबाट आएको जनाएको छ । 
 
टोपबहादुरको मुद्दालाई किनारा लगाउन एनआरएनए युएईले सबै संघसस्थासँग हातेमालो गरेर रकम जुटाउने निर्णय गरेको छ । नेपाली दूतावास आबुधाबीले आइतबार उद्धारका विषयमा पीडित पक्षसँग विशेष छलफल गरेर प्रक्रिया अगाडि बढाउने जनाएको छ ।
 
Published on: 2 March 2018 | Ujyaaloonline

Back to list

;