s

‘ब्लडमनी’ जुटाउन नसक्दा टोपबहादुरको नेपाल फिर्ती अनिश्चित

लक्ष्मण खनाल

थाइल्यान्डका एक नागरिकको मृत्युमा संलग्न रहेको आरोप लागेका टोपबहादुर विक ब्लडमनी तिर्न नसक्दा उनको नेपाल फर्काइ अनिश्चित बन्दै गएको छ । विकलाई युएईको अदालतले हत्या अभियोगमा एक लाख दिराम (२८ लाख नेरु) तिर्नुपर्ने फैसला गरेको थियो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले विकलाई सहयोग गर्न नसकिने भन्दै युएईस्थित नेपाली दूतावासलाई पत्राचार गरेपछि पैसा अभावमा विकको नेपाल फिर्ती अनिश्चित बनेको हो ।

क्रेनबाट लडेर मृत्यु, आरोप विकलाई

विक युएईको अल एनमा रहेको लिमा कन्ट्र्याक्टिङ एलएलसीमा कार्यरत थिए । करिब चार वर्षअघि (२ जुन २०१४) मा काम गर्ने सिलसिलामा क्रेन दुर्घटना भएको हुँदा लडेर दुईजना थाई नागरिकको मृत्यु भएको थियो । सो घटनामा संलग्न भएको भन्दै क्रेन अप्रेटर पाकिस्तानी नागरिक र हेल्परका रूपमा रहेका टोपबहादुरले चार महिना २२ दिन जेलजीवन बिताइसकेका छन् ।
 
युएईको अदालतले मृतकका परिवारलाई ब्लडमनीस्वरूप चार लाख युएई दिराम दिनुपर्ने फैसला गरेको थियो । जसमध्ये दुई लाख दिराम उनले काम गरेको लिमा कम्पनीले, क्रेन अप्रेटर (पाकिस्तानी नागरिक) र विकले एक–एक लाख (करिब २८ लाख नेपाली रुपैयाँ) दिनुपर्ने फैसला गरेको थियो । सो ब्लडमनी तिर्न नसक्दा विक घर फर्कन पाएका छैनन् ।
 
कानुनको अभावमा सहयोग गर्न नसक्ने जवाफ
 
गैरआवासीय नेपाली संघ (एनआरएन), राष्ट्रिय समन्वय परिषद् युएईले अध्यक्ष रमेश श्रेष्ठको संयोजकत्वमा ‘टोपबहादुर सहयोग अभियान’ सुरु गरेको थियो । एनआरएन युएईले नेपाली दूतावासमार्फत नेपाल सरकारलाई अनुरोध गरी ब्लडमनी तिर्न पहल गरे पनि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले विद्यमान वैदेशिक रोजगार ऐन र नियमावलीमा ब्लडमनी उपलब्ध गराउने कानुनी व्यवस्था नभएको भन्दै विकलाई सहयोग गर्न नसकिने जानकारी गराएको हो । नेपाली दूतावास अबुधावीका कार्यबाहक राजदुत सागर फुँयालले यसअघि दूतावासले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई विकको सहयोगका लागि अनुरोध गर्दै पत्राचार गरेकोमा बोर्डले कानुनको अभावमा सहयोग गर्न नसक्ने जवाफ पठाएको बताए ।
 
विकलाई नेपाल पठाउँछौँ : श्रेष्ठ
 
एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालयको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले विकको उद्धारका लागि आर्थिक सहयोग दिन नसक्ने बताए पनि उनलाई नेपाल पठाएरै छोड्ने बताए । एनआरएन आइसिसीले यसअघि नै विकका लागि ब्लडमनीको १० प्रतिशत (दुई लाख ८० हजार रुपैयाँ) उपलब्ध गराउने निर्णय गरिसकेको छ ।
 
श्रेष्ठले ब्लडमनी तिर्न नपुग साढे २५ लाख रुपैयाँ युएईमा रहेका संघसंस्था र सर्वसाधारण नेपाली मजदुरबाट चन्दा संकलन गरेर भए पनि विकलाई नेपाल पठाइने बताए । यसअघि एनआरएनको पहलमा अनिस खालिङ राईलाई उद्धार गर्न संकलन गरिएको रकम ‘अनिस खालिङ ट्रस्ट’ स्थापना गरेको बताउँदै त्यहीँको रकमबाट टोपबहादुरलाई उद्धार गर्न आइसिसीसँग पहल गरिने उनको भनाइ छ ।
 
एनआरएन युएई निवर्तमान अध्यक्ष तथा आइसिसी सदस्य सुदीप कार्कीले यसअघि अनिस खालिङ राईका लागि युएईबाट पठाइएको रकमबाट भए पनि विकलाई सहयोग गर्नुपर्ने बताए । ‘कसैलाई ट्रस्ट बनाउन होइन, जीवन बचाउन चन्दा दिएको हो । पीडितको उद्धारका लागि संकलित रकमको सही सदुपयोग हुनुपर्दछ । उक्त रकम विकको जीवन बचाउन खर्चिनुपर्छ,’ उनले भने ।
 
Published on: 2 March 2018 | Naya Patrika

Back to list

;