s

‘ब्लडमनी बुझाउन चन्दा पुग्यो’

होम कार्की

चार वर्षदेखि साउदी अरबको जेद्दास्थित धावन जेलमा रहेका ३५ वर्षीय स्थानेश्वर भुसालको उद्धारका लागि आवश्यक १ लाख ५० हजार रियाल (झन्डै ४५ लाख रुपैयाँ) संकलन भएको छ । प्रवासी नेपाली समन्वय समितिले आवश्यक रकम उपलब्ध भइसकेकाले चन्दा संकलन रोक्न मंगलबार अपिल गरेको छ ।

मध्यबिन्दु–४, नवलपरासीका भुसाल ब्लडमनी बुझाउन नसक्दा ६ फेब्रुअरी २०१४ देखि जेलमा छन् । समितिका अध्यक्ष कुलबहादुर कार्कीले आवश्यक रकम संकलन भएकाले चन्दा अभियान बन्द गरिएको बताए । ‘४५ लाख रुपैयाँमध्ये २३ लाख १५ हजार अभियानले सञ्चालन गरेको खातामा जम्मा भइसकेको छ,’ उनले भने, ‘बाँकी २३ लाख २० हजार दिने प्रतिबद्धता भएबमोजिम खातामा जम्मा हुनेक्रम जारी छ ।’ भुसालको उद्धारका लागि गैरआवासीय नेपाली संघले १५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । उनले अभियानका लागि प्रतिबद्धता भएको रकम यथाशीघ्र खातामा पठाइदिन पनि दातालाई अनुरोध गरेका छन् ।
 
२७ सेप्टेम्बर २०११ मा इनोभेटिक म्यानपावरबाट साउदी अरब गएका उनी त्यहाँ गाडी चलाउँथे । ५ जुन २०१२ मा उनी गाडीसहित सडकमा थिए । ‘गाडी गुडेको थिएन । रोकिराखेको गाडीलाई पछाडिबाट एक भारतीय चालकले चलाएको गाडीले ठक्कर दियो,’ स्थानेश्वर भन्छन्, ‘मेरो गाडी हुत्तिएर अगाडि रोकिराखेको अर्काे गाडीलाई ठक्कर दिन पुग्यो । त्यो दुर्घटनामा ठक्कर दिने भारतीय चालक इशम साहिब र ठक्कर खाने गाडीका चालक साउदी नागरिक रद जमान अलजदानी दुवैको ज्यान गयो ।’
 
जेद्दा प्रान्तमा अपराध हेर्ने न्यायालयका न्यायाधीश अब्दुलरहिम विन इब्राहिम अन्मुतेहेफले भुसाल र साहिब शतप्रतिशत दोषी रहेको फैसला गरिदिए । र, अलजदानीको परिवारलाई ३ लाख रियाल ब्लडमनी बुझाउन आदेश दिए । आदेशअनुसारको रकम दुई चालकका परिवारले आधाआधा जम्मा गर्नुपर्ने भयो ।
 
भुसाल परिवार त्यत्रो रकम बुझाउन सक्ने हैसियतमा नभएपछि प्रवासी नेपालीको सक्रियतामा चन्दा अभियान गत सेप्टेम्बर १० बाट सुरु गरिएको थियो । नेपाली कन्सुलेटले अलजदानी परिवारलाई भेटेर ब्लडमनी मिनाहा गर्न आग्रह गरे पनि स्वीकार भएन । निजी कानुनमा परिवारलाई निर्णय गर्न छुट छ । तर, परिवारले अस्वीकार गरेपछि ब्लडमनी नबुझाएसम्म जेलमुक्त गर्न सकिन्न । भुसालकी ६५ वर्षीया आमा यमकुमारीले अब छोरो स्वदेश फिर्ने वातावरण बनेकामा खुसी भएकी छन् ।
 
‘साउदी जाँदा छोराले बिहे गरेर गएको थियो । जेल परेको खबर आएपछि बुहारीले घर छाडिन्,’ उनले भनिन्, ‘हामी गरिब, त्यत्रो पैसा तिर्न कसरी तिर्नू ? जेलबाट छोराले रुँदै फोन गर्छ । मेरो छोरालाई छुटाउन देशविदेशबाट रकम उठ्यो । उहाँहरूलाई मेरो आशिष लागोस् ।’ अध्यक्ष कार्कीले सबै रकम खातामा आएपछि प्रक्रिया बढाइने बताए ।
 
Published on: 4 January 2018 | Kantipur

Back to list

;