s

‘ब्लडमनी’ के गर्ने? भ्वाइस अफ दि भ्वाइसलेस

अखण्ड भण्डारी

संखुवासभाका अनिश खालिङ २०६८ सालमा युएई गए। त्यसको केहीपछि पाकिस्तानी नागरिकको हत्या अभियोगमा समातिए। अदालतमा मुद्दा पर्योु। उनलाई मृत्युदण्ड सुनाइयो। नेपाली मिडियामा समाचार छापियो। लगत्तै संसारभरिका नेपाली उनलाई बचाउने अर्थात् मृत्युदण्डबाट जोगाउने अभियानमा लागे। हत्या भएका पाकिस्तानीका परिवारसम्म पहुँच बनाई पहल गर्दा उनीहरू ८१ लाख नेपाली रुपैयाँबराबर नगद पाए मान्न तयार भए। युएईको कानुनअनुसार पीडित परिवारले मागेको रकम दिएर राजी गराउनसके हत्यामा सजाय तोकेका व्यक्तिलाई आममाफी दिइन्छ। भाग्यवश ‘ब्लडमनी’ भनिने यो सहुलियत अनिशले पाए।

तर समस्या पर्यो  पैसाको। पूर्वी पहाडी गाउँबाट वैदेशिक रोजगारमा गएको कुनै व्यक्तिसँग त्यति धेरै पैसा कहाँ हुनु? जब फेरि त्यो समस्या मिडियामा आयो, सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भयो, स्व:स्फुर्त पैसा जुट्न थाल्यो। उनकै काका नारदको संयोजकत्वमा ‘अनिश खालिङ बचाऊ अभियान समिति’ बन्यो। त्यसकै नाममा खाता खोलियो। सहयोग
ह्वार—ह्वार बढ्यो। ६ महिना नभई चाहिएभन्दा चार गुणाभन्दा बढी पो भयो। अर्थात् समितिकै दाबीअनुसार ३ करोड २५ लाख रुपैयाँभन्दा बढी जुट्यो।

‘ब्लडमनी’ तिर्नुपर्ने जति रकम समितिले सरकारलाई दियो। सरकारले त्यहाँको नेपाली दूतावासलाई पठायो। दूतावासका प्रतिनिधि तिर्न जाँदा अचम्म भयो। पैसा अरू कसैले तिरिदिइसकेछ। उनलाई जेलबाट छुटाउने प्रक्रिया नै अघि बढिसकेछ। गएको पैसा काममा आएन। पुन: फर्किएर नेपाल आयो। त्यो वैदेशिक रोजगार प्रबद्र्धन बोर्डको खातामा छ। बाँकी करिब साढे २ करोड ‘अभियान’सँगै छ। त्यसका सचिव देवेन्द्र खालिङका अनुसार त्यो रकम बैंकमा राखिएको छ। त्यसमा अनिशकी आमा, श्रीमती र अभियानका संयोजक नारद (जो उनका साख्यै काका हुन्) को हस्ताक्षर चल्छ। अनिश बाँचे। आइसके। उनलाई बचाउन दिइएको पैसा एक रुपैयाँ खर्च गर्नुपरेन।

अनिश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा भनियो, ‘अब त्यो रकमले अनिशको नाममा स्वतन्त्र ट्रस्ट खोलिनेछ।’ अध्यक्ष नारद र सचिव देवेन्द्र दुवैले त्यही बताए। प्रश्न उठ्छ– त्यो पैसा उनीहरूले आफूखुसी गर्ने अधिकार कहाँबाट पाए? ट्रस्ट बनाउनुपर्ने सेलिब्रेटी हुन् त अनिश जसलाई संसारभरिका नेपालीले पेट काटेर सहयोग दिउन्? बचाइसकेपछि ‘बचाऊ अभियान’को अस्तित्व र आवश्यकता के छ? कुन कानुनअनुसार उनीहरूले त्यो पैसा पारिवारिक खातामा राखिरहेका छन्? दाताको सहयोगको प्रयोजन उनलाई बचाउन हो कि ट्रस्ट खोलेर चलखेल गर्न?

हो, नेपालको कानुनमा मृत्युदण्ड छैन। जत्रै अपराध गरे पनि सजायस्वरूप मार्न पाइँदैन। त्यही भएर संसारभरिका नेपालीको यसमा संवेदनशीलता जोडिएको हो। उनलाई मृत्युदण्डबाट जोगाउन अभियानमा उठेका हुन्। हत्याको सजायस्वरूप करोडौंको मालिक बनाइदिने उनीहरूको चाहना होइन। बस्, ज्यान बच्यो। लक्ष्य पुरा भयो। त्यति नै अनिशका लागि ठूलो कुरा हो। किनकि उनले जेलकै धेरै सजाय मिनाहा पाए। अब नयाँ जिन्दगी उनले हत्या र अपराधविरुद्ध जागरणमा बिताउन सक्नुपर्छ। पुनर्जन्मलाई पवित्र कर्ममा लाउनुपर्छ। दाताको सहयोग एक रुपैयाँ हिनामिना नगरी राज्यलाई बुझाउनुपर्छ। अचम्म, उल्टो उनीहरू बोर्डमा भएको पैसा देऊ भन्दै मागिरहेका छन्। समितिकै पदाधिकारी भन्छन्– दौडधुपमा यातायात खर्च भनेर २० लाख रुपैयाँभन्दा बढी सकिएको देखाइँदैछ। अरूले छाक काटेर दिने, परिवारका मान्छेले त्यसबाट ट्याक्सी चढ्ने? त्यो पनि बीस–बीस लाख? पैसा–पैसा हिसाब गरेर उठेको सबै रकम तुरुन्त फिर्ता लिन सरकार किन सक्दैन?

हत्या गर्नुको कारणमा उनले समलिंगी दुव्र्यवहार भनेका छन्। हुनसक्छ, सही हो। जे भए पनि हत्या आफैंमा जघन्य अपराध हो। त्यो उनले स्वीकारेका छन्। त्यहाँको अदालतले प्रमाणित गरेको छ। त्यसको सजाय २ वर्ष ९ महिना १८ दिन जेलमा बसेका छन्। नेपालीको सहयोगमा त्यत्रो कैद मिनाहा गरेर फर्कने भाग्य पाएका उनी एकाएक सेलिब्रेटी बन्न खोजेका छन्। बनाइएका छन्। साँच्चै भन्ने हो भने राज्यले उनलाई दुई रात भए पनि हिरासतमा राख्नुपथ्र्यो। र आममाफी घोषणा गर्नुपथ्र्यो। अन्य देशमा विदेशमा अपराध गर्नेलाई सुपुर्दगी गर्नलगाई आफ्नो कानुनअनुसार सजाय गर्ने परिपाटी छ। त्यसो गरेको भए अनिशकै हितमा हुन्थ्यो। वर्षौंपछि यस्ता मुद्दा बल्झिएर धेरैले दु:ख पाएका छन्।

अनिशलाई बचाउनुपर्छ भनेर मैले लेखेको छु। अभियानमा केहीपटक हिँडेको छु। दुबईमै मृत्युदण्ड सुनाइएका अर्का नेपाली अमरबहादुर बमलाई त्यहाँको केन्द्रीय कारागारमा भेट्टाएको छु। उनी दुई भारतीय व्यक्तिका चालक थिए। गाडी मालिकद्वयले कुनै डिस्कोमा छिरेर हत्या गरे। उनी गाडी कुरेर बसिरहेका थिए। उनीहरूले हडबडिँदै आएर हुइँक्याउन भने। उनीहरू कहाँ छिरे, के गरेर आए, विचरा उनलाई थाहा थिएन। तर त्यहाँको कानुनले ‘हत्यारालाई भगाउने’ अर्थात् मतियार ठहर्याउयो। उनीहरू बराबरै मृत्युदण्डको सजाय तोक्यो। मारिएका व्यक्तिका परिवारले ‘ब्लडमनी’ सुन्नै मानेनन्। अमरबहादुर जेलमै छन्। फाँसी कुरिरहेका छन्।

ज्यान बचाउनुपर्ने यस्ता धेरै नेपाली छन्। कोही देशभित्रै उपचार गर्न नसकेर कालको मुखमा परेका छन्। भूकम्पले बेहाल भएका धेरै छन्। विदेशमा नर्कजस्तो जिन्दगी जिउने कति छन् कति?

अनिशलाई बचाउन आएको सहयोगमा त्यस्ता कैयौं पीडितको रगत–पसिना मिसिएको होला। कतिको पेट काटिएको होला। त्यसको इमानदारीपूर्वक सदुपयोग ‘अनिश ट्रस्ट’ नै हो त?

ललि
वैदेशिक रोजगार प्रबद्र्धन बोर्डका कार्यकारी
निर्देशक रघु काफ्लेले भने, ‘त्यो रकम अन्य नाममा एक रुपैयाँ खर्च गर्न पाइँदैन।’ कुरो ठीक हो। तर त्यसका लागि आजै खाता रोक्का गर्नुपर्छ। र तमाम दाताको मन नदुख्नेगरी जीवनरक्षाका मार्मिक काममा उपयोग गर्न सक्नुपर्छ।

Published on: 13 July 2015 | Kantipur
 

Back to list

;