s

ब्लडमनी दिलाउन ढिलाइ

साउदी अरबमा ब्लडमनी (दिया रकम) पाउनुपर्ने झन्डै ५ सय पीडितका परिवारको फाइल नेपाली दूतावासले अगाडि बढाउन सकेको छैन । स्थानीय अदालतमा वकिल नहुँदा दूतावासलाई ती फाइल अगाडि बढाउन कठिनाइ भएको हो ।
 
‘हरेक वर्ष झन्डै २ सय नेपालीको ज्यान विभिन्न कारणले जाने गर्छ । तीमध्ये झन्डै ४० प्रतिशत पीडित परिवारले मात्रै ब्लडमनी पाउने सम्भावना रहन्छ,’ साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले कान्तिपुरसँग भने, ‘सन् २००८ पछिका मुद्दा झन्डै ५ सय हाराहारी छन् । त्यसअघिका सोही प्रकृतिका मुद्दा फछ्र्योट भए/नभएको अध्ययनकै क्रममा छन् ।’ गत आर्थिक वर्ष २९ वटा मुद्दा अदालतले टुंग्याएको थियो ।
 
जसअनुसार २२ लाख ४९ हजार साउदी रियाल (६ करोड १८ लाख रुपैयाँ) ब्लडमनीबापत दोस्रो पक्षबाट क्षतिपूर्ति दिलाएको थियो । ५० भन्दा बढी मुद्दा अदालती प्रक्रियामा छन् । राजपुतका अनुसार क्षतिपूर्ति दाबी गर्नेसम्बन्धी मुद्दा छिटो फर्छ्यौट गर्न वकिल वा ल फर्मलाई जिम्मा लगाउन उपयुक्त हुने स्थिति छ । कतार, यूएई र कुवेतस्थित नेपाली दूतावासले क्षतिपूर्ति रकम दिलाउन अदालतमा मुद्दा लडिदिन स्थानीय वकिललाई जिम्मा दिइसकेको छ । 
 
ती वकिलले मुद्दा जितेर क्षतिपूर्ति पाएमा आफ्नो सेवा शुल्क क्षतिपूर्तिबाटै लिने गरेका छन् । कतारमा २० प्रतिशतसम्म सेवाशुल्क लिने व्यवस्था छ । ‘हामीले पनि विस्तृत प्रतिवेदनसहित स्वीकृतिका लागि परराष्ट्र र श्रम मन्त्रालयमा पठाएका छौं, त्यहाँबाट जवाफ आएको छैन,’ उनले भने, ‘दूतावासमा रहेका कर्मचारीको प्रयासले मात्रै यथासक्य छिटो सबै पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन सकिने अवस्था छैन ।’ 
 
साउदीमा मात्रै हालसम्म ४ हजार ७ सय ९५ नेपालीको ज्यान गइसकेको छ । मृतकको प्रहरी रिपोर्ट तथा अस्पतालले दिने मेडिकल रिपोर्टका अनुसार सबैभन्दा बढी प्राकृतिक मृत्यु भइरहेको छ । सवारी दुर्घटना तथा कार्यस्थलमा मृत्यु र हत्या भएमा मात्रै तेस्रो पक्षबाट ब्लडमनी पाउने स्थिति छ ।
 
Published on: 29 July 2018 | Kantipur

Back to list

;