s

विश्वकपका परियोजना निर्माणमा कामदारको मृत्यु भएको छैन : कतार

कतार सरकारले विश्वकप २०२२ का लागि निर्माणाधीन परियोजनाहरूमा कुनै विदेशी कामदारको मृत्यु नभएको दाबी गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा विश्वकपका परियोजनाहरूमा काम गर्ने नेपालीसहित विदेशी कामदारको मृत्यु भएको समाचार शृंखलाबद्ध रूपमा आउन थालेपछि कतारी सञ्चार मन्त्रालयले त्यसको खण्डन गरेको हो ।

‘पुरै असत्य तथ्यहरू आइरहेका छन् । अहिलेसम्म विश्वकपका परियोजनाका लागि ५० लाख घण्टा काम भएका छन् । त्यस समयमा एक जना कामदारले पनि जीवन गुमाएको छैन,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । विश्वकपका लागि कतारमा १२ वटा रंगशाला बनाउने कार्य भइरहेका छन् । त्यससँग सम्बन्धित अरू परियोजना पनि सुचारु छन् । कतारले यी परियोजनाका लागि ७० बिलियन अमेरिकी डलर लाग्ने जनाएको छ । जसमध्ये सन् २०१६ सम्म २० मिलियन अमेरिकी डलर बराबरको काम सक्ने योजना बनाएको छ । त्यसका लागि आवश्यक पर्ने कामदारको प्रमुख स्रोत नेपाल हो ।

कतारस्थित नेपाली दूतावासले सन् २०१४ मा एक सय ४९ जना कामदारको मुत्यु भएको जनाएको छ । त्यसमा ६० प्रतिशत मुटुजन्य रोग (कार्डियक एरेस्ट), २० प्रतिशत सडक दुर्घटना, १० प्रतिशत कार्यस्थलमा दुर्घटना र १० प्रतिशत अन्य कारणले मृत्यु भएको दूतावासको रेकर्डमा उल्लेख छ । ‘रंगशाला बनाउने काममा मृत्यु हुने कामदारको सूचना हामीसँग छैन,’ दूतावासका एक अधिकारीले भने ।

कतार सरकारले निर्माण क्षेत्रमा कामदारको सुरक्षाप्रति निकै कडाइ गरेको कामदारले बताउने गरेका छन् । अन्तर्राष्ट्रिय ट्ेरड युनियन महासंघले कार्यस्थलमा असुरक्षा रहेको बताउँदै कतार सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । उसले कामदारको मृत्युदरप्रति विशेष चासो राख्दै यही दरमा अगाडि बढे सन् २०२२ सम्म ४ हजार कामदारको ज्यान जाने दाबी गरेको छ ।

यस्तै, नेपालका लागि कतारका राजदूत अहमेद जासिम अल हमारले थप नेपाली श्रमिकलाई रोजगारी दिन लागेको बताएका छन् । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङसँगको भेटमा उनले कतारमा नेपाली श्रमिकको माग बढ्ने बताएका हुन् ।

नेपालको संकटमा कतारले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उनले दोहोर्याुए । भूकम्प प्रभावितहरूलाई रोजगारी दिने र काममा रहेकालाई बिदा दिएर स्वदेश फर्काउन पहल गर्ने विषयमा दुईपक्षीय कुराकानी भएको कतारी दूतावासले विज्ञप्ति जारी गरी जनाएको छ ।


Published on: 6 June 2015 | Kantipur
 

Back to list

;