s

विश्वकपको तयारीमा नेपालीसहितका श्रमिकमाथि दुर्व्यवहार

 
                                                      एमनेस्टी इन्टरनेसनलको प्रतिवेदन सार्वजनिक
 
दोहाः एमनेस्टी इन्टरनेसनलले सन् २०२२ को विश्व कप आयोजनाका लागि कतारमा भइरहेको भौतिक पूर्वाधार निर्माणका क्रममा श्रमिकमाथि विभिन्न किसिमको दुर्व्यवहार हुँदै आएको जनाएको छ । एमनेस्टीको बिहीबार सार्वजनिक गरिएको प्रतिवेदनमा यस्तो उल्लेख छ ।
 
यसअघि पनि विभिन्न मानवअधिकारवादी संघसंस्था र सञ्चारमाध्यमले कतारमा विश्वकपको भौतिक पूर्वाधार निर्माणका क्रममा मानवअधिकारको उल्लंघन भइरहेको दाबी गर्दै आएका छन् ।
 
एमनेस्टीको ५२ पृष्ठ लामो प्रतिवेदनमा विश्वकपका लागि निर्माणाधीन खालिफा इन्टरनेसनल स्टेडियममा कार्यरत एक सय ३२ जना कामदारसँग गरिएको अन्तर्वार्ताका आधारमा प्रतिवेदन तयार पारिएको उल्लेख छ । २५ लाख मानिसको बसोबास रहेको कतारमा करिब १० प्रतिशतमात्र स्थानीय छन् । त्यहाँ रहेका विदेशीमध्ये अधिकांश दक्षिण एसियाली क्षेत्रबाट गएका कामदार छन् ।
 
नेपाल, भारत र बंगलादेशबाट गएका कामदारसँग अन्तर्वार्ता लिइएको थियो । अन्तवार्ताका क्रममा अधिकांश कामदारले बसोबासको राम्रो प्रबन्ध नभएको, महिनौं तलब रोकेर राखिएको र राहदानी रोकेको गुनासो गरेको प्रतिवेदनमा उल्लेख छ । ठेकेदार कम्पनीले सम्झौता नवीकरण नगर्दा आफूहरूले जरिवाना तिर्नुका साथै हिरासतमा बस्नुपरेको समेत कामदारहरूको भनाइ छ ।
 
अन्तवार्तामा सहभागीहरूले आफूसँग गरिएको सम्झौताअनुसार तलबसमेत नपाएको बताएका छन् । अधिकांशले आफ्नो मासिक तलब दुई सय डलरभन्दा कम भएको बताएका थिए । खाडी राष्ट्रका आप्रवासी कामदारको अधिकारबारे एमनेस्टीका अनुसन्धानकर्ता मुस्तफा क्वाद्रीले अधिकांश कामदारले एउटै किसिमको समस्या सामना गरिरहेको बताएका छन् ।
 
कामदारसम्म पुगेर उनीहरूको कुरा सुन्नसमेत चुनौतीपूर्ण रहेको उनको भनाइ छ । उनले कतार सरकारले सुधारको प्रयास गरे पनि त्यो पर्याप्त नभएको बताए । ‘यहाँ समस्या छ तर जति पनि प्रयास भएका छन् ती पर्याप्त छैनन्’, उनले भने । कामदारलाई नियन्त्रणमा राख्ने व्यवस्था भएको भन्दै यहाँ अधिकारकर्मीहरूले विरोध गर्दै आएका छन् ।
 
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले पनि आफ्नो संस्थाको प्रतिवेदन एक वर्षभित्र कार्यान्वयन गर्न अन्यथा संयुक्त राष्ट्र संघको श्रम एजेन्सीले छानबिन आयोग बनाएर अनुसन्धान सुरु गर्ने चेतावनी गत महिनामात्र दिएको थियो ।
 
Published on : 1 April 2016 | Annapurna Post

Back to list

;