s

विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार

होम कार्की

काठमाडौँ — आगामी वर्ष हुने विश्वकप फुटबलमा दुनियाँलाई आमन्त्रण गरिरहेको कतारले रंगशालालगायतका पूर्वाधार बनाउने आप्रवासी श्रमिकलाई भने घर पठाउने नीति लिएको छ । समृद्ध देशका दर्शकका अगाडि विपन्न कामदार देखिएलान् भनेर उनीहरूलाई चारमहिने बिदामा पठाउन कतार सरकारले निर्णय गरेको हो ।

विश्वकप फुटबल २०२२ का मुख्य खेल हुने कतारको लुसेल रंगशाला निर्माणमा खटिएका श्रमिक । फाइल तस्बिर  : एपी

आगामी वर्षको २१ नोभेम्बरमा कतारमा विश्वकप फुटबलको २२ औं संस्करण सुरु हुँदै छ । ३२ टिमबीच हुने प्रतिस्पर्धाका लागि आठ भव्य रंगशाला बनेका छन् । २८ दिन चल्ने महामेला हेर्न १५ लाख दर्शक आउने आयोजकको अनुमान छ । उनीहरूको नजरमा भव्य पूर्वाधार र सुकिला मानव मात्र परून् भन्ने कतारको चाहना छ ।

कतारको यो भव्य सपना सफल पार्ने क्रममा नेपाल, भारत, बंगलादेशसहितका २६ लाख आप्रवासीले पसिना बगाएका छन् । निर्माण क्षेत्रमा काम गर्ने श्रमिकलाई बिदामा पठाउन सरकारको जोड छ । कतारमा अहिलेसम्म २० लाख नेपाली गइसकेका छन् भने करिब चार लाख कार्यरत छन् ।

कतार सरकारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले विश्वकप सुरु हुनु दुई महिनाअघि नै ‘अत्यावश्यकबाहेकका’ श्रमिकलाई चारमहिने बिदामा पठाउन कम्पनीहरूलाई निर्देशन दिएको छ । श्रम मन्त्रालयले २१ सेप्टेम्बर २०२२ देखि १८ जनवरी २०२३ सम्म बिदामा पठाउन भनेको छ ।

‘विश्वकपको समयमा अत्यावश्यकबाहेकका श्रमिक कटौती गर्न श्रम मन्त्रालयको निर्देशन आएको छ,’ पब्लिक वर्कर्स अथोरोटीद्वारा रोजगारदाता कम्पनीहरूलाई पठाइएको पत्र नम्बर २०२१/४२ मा भनिएको छ, ‘सबै रोजगारदाताले बढीभन्दा बढी श्रमिक कटौती गरी बिदामा पठाउन रणनीतिक योजना बनाएर पेस गर्नुहोला ।’ श्रमिकलाई घर फिर्ता पठाउँदा सडकलगायत परियोजनामा पर्न सक्ने असरलाई पनि ध्यानमा राख्न भनिएको छ । 

निर्माण क्षेत्रमा कार्यरत श्रमिकलाई बिदामा राख्ने तयारी भएकाले सबैभन्दा बढी प्रभावमा नेपाली नै पर्ने सम्भावना छ । श्रम मन्त्रालयको पछिल्लो प्रतिवेदनअनुसार कतारमा काम गर्ने नेपालीमध्ये निर्माण क्षेत्रमा १४.८ प्रतिशत, सवारी चालक र मेसिन अपरेटर ८.३ प्रतिशत, इलेक्ट्रिकल तथा मेकानिकल टेक्नेसियन ८ प्रतिशत, सामान्य सेवामा ५६.८ प्रतिशत, सेवाजन्य काममा ७.९ प्रतिशत र अन्यमा ५.२ आबद्ध छन् । 

कतारबाट एक महिनाअघि मात्रै फिर्ता गरिएका पूर्वनेपाली राजदूत नारदनाथ भारद्वाज कतार निर्माणमा पसिना बगाएका श्रमिकलाई बाध्यकारी रूपमा फिर्ता गर्न नहुने बताउँछन् । ‘विश्वकप खेलाउने कतारको ठूलो सपना हो । जसले कतारको सपना पूरा गरिदिएको छ, उसलाई अन्तिम रौनकका बेला फिर्ता गर्नु न्यायोचित होइन,’ उनले कान्तिपुरसँग भने । 

कतारी अधिकारीहरूसँग भएका भेटवार्तामा भने श्रमिक फिर्ता गर्ने विषयमा छलफल नभएको उनको भनाइ छ । ‘फिफा विश्वकपलाई ध्यानमा राखेर आउने दिनमा श्रमिक आपूर्ति नियन्त्रित गर्छौं भनेका थिए तर श्रमिकलाई फिर्ता गर्ने भन्ने विषय भने प्रस्ट बताएका थिएनन्,’ उनले भने । 

कतारले विश्वकपलाई आफ्नो प्रतिष्ठाको विषय बनाएको छ । सानो भूगोल भएको देशले २६ लाख श्रमिकसँगै एकै पटक १५ लाख पाहुना थपिँदा व्यवस्थापन कसरी गर्ने भनेर गृहकार्य गरिरहेको छ । कतारका होटलमा अहिले एक लाख ७५ हजार कोठा छन् । थप कोठाका लागि क्रुज परिचालन गर्ने सरकारको योजना छ ।

होटल वा क्रुजमा बस्ने विदेशीका लागि शिविरमा बस्ने श्रमिक हटाउने योजना भने स्वाभाविक नदेखिने पूर्वराजदूत भारद्वाजको भनाइ छ । ‘श्रमजीवीहरूको पसिनाले रंगशाला निर्माण भइसके । रेल पनि गुड्यो । ठूला सडक पनि बनिसके । अब सहरको शृंगार जारी छ । यही कामका लागि लगिएका श्रमिकहरू ६ महिनाभित्रै फर्कनुपरेमा राम्रो सन्देश जाँदैन । जाँदा लागेको ऋण पनि उनीहरूले भुक्तानी गरिसकेका हुँदैनन्, चर्को मर्कामा पर्नेछन्,’ उनले भने ।

मंसिर १७ मा नेपाल र कतारका श्रम अधिकारीहरूबीच बैठक भए पनि श्रमिक फिर्ताबारे कुनै छलफल भएको थिएन । ‘यस्तो योजना भए छलफल हुनुपर्थ्यो, श्रमिक बिदामा पठाइने हो वा सधैंका लागि हो ? अब सरकारले कतारसँग आधिकारिक धारणा माग्नुपर्छ,’ उक्त बैठकमा सहभागी एक नेपाली उच्च अधिकारीले बताए ।

खाडी क्षेत्रमा कार्यरत आप्रवासी श्रमिकको मामिलामा कार्यरत इक्विडियम अनुसन्धान केन्द्र, दक्षिण एसिया निर्देशक रामेश्वर नेपाल विश्वकपको पूर्वाधार खडा गर्न दिनरात खटिएका श्रमिकहरूलाई नै प्रतियोगिताकै बेला घर फर्काउनु गलत भएको बताउँछन् । स्वैच्छिक रूपमा फर्कन चाहनेहरूलाई पनि प्रक्रिया सहज हुनुपर्ने उनको भनाइ छ । ‘स्वदेश फिर्तीको विषय ऐच्छिक हुनुपर्छ, बाध्यकारी बनाइनु हुँदैन । विश्वकप सफल पार्न काम गरेका श्रमिकले टिकट काटेर खेल हेर्छु भन्छन् भने पाउनुपर्छ,’ उनी भन्छन्, ‘बिदामा पठाउने हो भने चार महिनाको तलब के हुन्छ ? यात्राको प्रबन्ध के हुन्छ ? यी विषय स्पष्ट हुनुपर्छ । एकै पटक बिदामा पठाउने नीति सानोतिनो तयारीले पुग्दैन ।’ 

विश्वकपलाई लक्षित गरेर बनाइएका आठमध्ये एउटा रंगशाला बनाउन काम गरेका मोरङका राकेश राईले विश्वकपका बेला आफूहरूलाई फिर्ता पठाउने खबरले दुःखी बनाएको बताए । अल रैयानस्थित एजुकेसन सिटी रंगशाला निर्माणमा संलग्न उनले भने, ‘म यसअघि रेलवे बनाउने काममा लागें, एजुकेसन सिटीमा पसिना बगाएँ । हाम्रै हातले बनाएको मैदानमा मेसी र रोनाल्डो खेल्न आउँदै छन्,’ उनले कान्तिपुरसँग फोनमा भने, ‘म आफैं पनि फुटबल भनेपछि हुरुक्क हुने मान्छे । तर, कतार सरकारले हामीलाई नै खेल हेर्न निषेध गर्न लागेको देखेर मन दुःखी छ, श्रमको अपमान यही होइन र ?

Published on: 6 December 2021 | Kantipur

Link

Back to list

;